वैशाख ७,२०८३ / १० : ०७ पूर्वान्ह / 2026-04-20 10:07 am
      • param ad
      • furniture
      • veera Incorporation

      कागेश्वरीमा तीन साहित्यकारको शालिक

      - ७ वर्ष अगाडि
      कार्तिक २५,२०७५

      काठमाडौँ, महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११०औँ जन्मजयन्तीको अवसर पारेर तीन साहित्यकारको पूर्णकदको शालिक निर्माणका लागि शिलान्यास गरिएको छ । 

      कागेश्वरी मनोहरा नगरपालिका–२ आलापोटमा रहेको कागेश्वरी पुस्तकालयले महाकवि देवकोटा, हास्यव्यङ्ग्य शिरोमणि भैरव अर्याल र आख्यान क्षेत्रका सुपरिचित हस्ताक्षर रमेश विकलको शालिक निर्माण गर्न लागेको हो । शालिक धातुको बनाइने पुस्तकालयले जनाएको छ । 

      शालिक शिलान्यास गर्नुहुँदै सांसद कृष्ण राई, प्रदेशसभा सदस्य रामेश्वर फुयाँल, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, वरिष्ठ साहित्यकार कञ्चन पुडासैनीलगायत १०१ स्रष्टाले समुदायस्तरबाट वरिष्ठ साहित्यकारको स्मृतिमा शालिक निर्माण थालनी हुनु सिर्जना क्षेत्रप्रतिको सम्मान भएको बताए । कार्यक्रमको शुरुआत् बर, पिपल, अम्बा, अमला, कपूरलगायत आठ फिट अग्ला बिरुवामा पानी हाली झण्डोत्तोलनसहित गरिएको थियो । सालिक निर्माण गर्न प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु ५० लाख बजेट छुट्याएको छ । कार्यक्रममा साहित्यकार एवं वरिष्ठ पत्रकार विजय चालिसेले एक लाखको चेक निर्माण समितिलाई हस्तान्तरण गरे । 

      उपस्थित सबै साहित्यकारले रु एकको सिक्का दिई सहयोग गर्नुभएको थियो । शालिक निर्माण गर्न साहित्यकारकै सहयोग जुटाउने लक्ष्य राखिएको छ । कार्यक्रममा डा रामप्रसाद उप्रेतीले समितिलाई तामाको फिल्टर हस्तान्तरण गर्नुभयो । कार्यक्रममा उपस्थित साहित्यकारले आफ्ना रचना पाठ गरे । 

      नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवत्र्तक महाकवि देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिताका भाव आउँछन् । तीन महीनामा ‘शाकुन्तल’ महाकाव्य, दशदिनमै ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेख्नुभएका देवकोटामा तुरुन्त कविता लेख्नसक्ने आशुकविको क्षमता थियो । 

      देवकोटाको कवि–प्रतिभा, कविताको गुणात्मक मूल्य र सङ्ख्यात्मक योगदान आज पनि अद्वितीय छ । उहाँका सयभन्दा बढी कृति प्रकाशित छन् । हास्य शिरोमणि अर्यालका ‘जय भूँडी’, ‘मपाइँ’, ‘गलगाँड’, ‘गलबन्दी’, ‘इतिश्री’, ‘काउकुतिलगायत हास्यव्यङ्ग्यप्रधान कृति, ‘राजीनामा’ आत्मसंस्मरण, ‘नेपाली काव्यमा प्रकृति’ समालोचना ग्रन्थलगायत पुस्तक प्रकाशित छन् । 

      आख्यानकार विकलका ‘नयाँ सडकको गीत’, ‘विरानो देशमालगायत नौ कथा सङ्ग्रह, ‘अविरल बग्दछ इन्द्रावती’ उपन्यास चर्चित छन् । ‘नयाँ सडकको गीत’ ले विसं २०१८ को मदन पुरस्कार पाएको थियो । उनका कथा, नाटक, उपन्यास, निबन्ध, बाल साहित्य र हास्यव्यङ्ग्य विधाका गरी ५८ कृति प्रकाशित भइसकेका छन् । 

      विकलका ११ वटा पाण्डुलिपि खोजी गरी प्रकाशनको तयारी भइरहेको उनका सुपुत्र वरिष्ठ पत्रकार विजय चालिसेले जानकारी दिए । विसं २०३६ मा स्थापना भएको पुस्तकालय निरन्तर रुपमा सञ्चालन भइरहेको जनाइएको छ । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d