काठमाण्डौ, टोखा संस्कृति सम्पदा संरक्षण मञ्चले ‘संस्कृतिविद् एवं वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीलाई अभिनन्दन गरेको छ ।
आईतबार मञ्चले काठमाडौमा आयोजना गरेको कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेलले जोशीलाई अभिनन्दन गरेका हुन् । कार्यक्रममा सहभागीहरुले ऐतिहासिक, पुरातात्विक, धार्मिक र सांस्कृतिक महत्वको टोखालाई प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नुपर्नेमा जोड दिएका थिए ।
उपप्रधानमन्त्री ईश्वर पोखरेलले निर्वाचनको बेलामा राजनीतिक गर्नुपर्ने भन्दै संस्कृति संरक्षण र समग्र विकासका लागि एकजुट बन्नुपर्ने बताए । सोही क्षेत्रका सांसदसमेत रहेका रक्षामन्त्री पोखरेलले सम्पदा र सस्कृतिको समग्र विकासका लागि एकीकृत योजना आवश्यक रहेको बताए । पूर्खाले बनाएको इतिहासको रक्षा गर्दै भविष्यका सन्ततिका लागि गर्व हुने काम गर्नुपर्ने उनको भनाई थियो ।
अभिनन्दित शताब्दी पुरुष जोशीले संस्कृतिको संरक्षण गर्दै पर्यटनको विकास गर्ने उत्तम थलोका रुपमा नेपालका धेरै स्थानहरु रहेको बताए । उनले मेचीदेखि महाकालीसम्मका सांस्कृतिक विविधतालाई एकतामा रुपान्तरण गर्न सके संस्कृतिको विकास र विस्तारमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा टोखा क्षेत्रको संस्कृति संरक्षणमा महत्वपूर्ण योगदान पु¥याएका व्यक्तिलाई सम्मान गरिएको थियो ।








