काठमान्डौ, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा) को आयोजनामा दक्षिण एशियाली अन्तर्राष्ट्रिय कला शिविर आज सम्पन्न भएको छ ।
यही असार २७ गतेदेखि आजसम्म सञ्चालित शिविरमा नेपाल, भारत, भुटान, पाकिस्तान, बंगलादेश, अफगानिस्तान र श्रीलंकाका ६८ कलाकारले ९० कलाकृति सिर्जना गरेका छन् । सार्कका ती कलाकारले सो अवधिमा पोखराको विश्व शान्ति स्तूप र काठमाडौँमा गरिएको कार्यशालामा चित्र कोरेका थिए । ती चित्र आइतबार र सोमबार नेपाल कला परिषद् बबरमहलमा प्रदर्शनीसमेत गरिएको थियो ।
सार्कको सामाजिक तथा सांस्कृतिक विषयवस्तुलाई कलाकारले क्यानभासमा भरेका थिए । नारी वेदना, प्रकृति, सौन्दर्यजस्ता विषयलाई कलाकारले यथार्थ र अमूर्तरूपमा अभिव्यक्त गरेका थिए । नाफाका कुलपति रागिनी उपाध्यायले नेपालमा पहिलो पटक प्रस्तुत गरिएको शिविरले देशको गरिमा बढाउन मद्दत गरेको बताउँदै यस्तो कार्यक्रम निरन्तर रूपमा सञ्चालन गरिने कुरा बताउनुभयो ।








