जेष्ठ २२,२०८० / ०६ : ३२ पूर्वान्ह / 2023-06-05 06:32 am

        ‘२ करोड बचत भयो ’

        - ६ महिना अगाडि
        मंसिर १६,२०७९

                                          

        डम्म परेको भूँडी छाम्दै

        अनुहार भरी मुस्कान छरी

        सन्तुष्ट भावमा उसले भन्यो–

        ‘२ करोड बचत भयो । ’

        दुई महिनादेखि

        उ मेरो टोल चहार्दै छ

        दुइचार जना अघिपछि लाउँदै

        सबैलाई हात जोडदै छ

        यो गर्छु, त्यो गर्छु

        अर्थात,

        जादुको छडी लिएको छु भन्दै

        टोलभर भ्रमको खेती गर्दैछ । 

        उ अर्थात नेता

        नेता अर्थात यो चुनावको उम्मेदवार

        आँशु देख्दा आँशु झार्छ

        हाँसो देख्दा हाँसो छर्छ

        आफनो भावना, संवेदना केही छैन

        जहाँ जे देख्यो, त्यस्तै अभिनय गर्छ

        कृत्रिम नितान्त कृत्रिम मान्छे

        यो चुनावको उम्मेदवार

        आफू कसरी दाहिने हुने त्यो मात्र सोच्छ । 

        चुनाव सकिंदै छ

        घुम्ने कुर्सीमा बसेर हिसाब गर्दैछ ऊ

        कसले कति चन्दा दियो

        कति खर्च भयो

        चन्दा दिने र नदिनेको फेहरिस्त उतार्दै

        डम्म परेको भूँडी छाम्दै

        सन्तुष्ट भावमा उसले भन्यो–

        ‘२ करोड बचत भयो । ’

        (पत्रकार,कृष्ण मल्ल । उनी साहित्य क्षेत्रमा समेत कलम चलाउँछन् )

          सम्बन्धित समाचारहरु