कविता
'सरकारको सम्बोधन'
जब आफन्तबाटै न्यायको अपहरण हुन्छ
तब बलात्कारी र हत्याराहरूको
विजयजुलुस निस्कन्छ सडकमा
साइरन बजाउँदै हिंड्छ प्रहरी
जुलुसकै अघि–पछि
जो माथिको आदेश पालना गर्र्दै
भर्खरै जेलमुक्त भएको खुङ्खार डाकुलाई
ठोक्छ सलाम !
जुलुसको स्वागतमा सडक किनारमा
उभिएका छन्–
जुवाघरबाट निस्कदै गरेका जुवाडेहरू
नेताको निर्देशनमा प्रहरीले छाडेका पाकेटमारहरू
विदेशीलाई दिएको नागरिकतामा सही गरेर
घर फर्कंदै गरेका प्रशासकहरू
श्रीमतीको सबै खुसी बेचेर
भट्टीपसलबाट धर्खरिंदै
निस्केका जँड्याहाहरू
सुकुम्बासी बस्तीमा आगो झोसेर
फर्किरहेका अधिकारकर्मीहरू ।
गज्जब छ सरकार, गज्जब !
भित्तामा अडेस लागेर स्क्रीनमा
सुन्दैछु हजुरकै सम्बोधन–
रोग र भोकले कोही मर्नुपर्ने छैन
पैसा कमाउन जानुपर्ने छैन अब विदेश
आफ्नै फोटो टाँसिएको लालपुर्जा हुनेछ हात–हातमा
कोही मर्नुपर्ने छैन उपचार अभावमा
कोरोनाको खोप बोकेर
घर–घर आइपुग्नेछन् स्वास्थ्यकर्मी ।
वाह ! हजुरको सम्बोधन मान्नैपर्छ !
देशवासीका नाममा सम्बोधन नसकिँदै
ब्रेकिङ न्यूज आउँछ–
अस्पतालले भर्ना लिन नमान्दा
कोरोना संक्रमितको मृत्यु
उपचार अभावमा घरमै सुत्केरीको ज्यान गयो
तुइनबाट खसेर विद्यालय जाँदै गरेका
बालबालिका बेपत्ता
सत्ताइसतले निर्माणाधीन भवनबाट लडेर
मलेसियामा नेपाली युवाको निधन
ऋण तिर्न नसकेर किसानद्वारा आत्महत्या
प्रेम अस्वीकार गरेको झोंकमा युवतीमाथि एसिड प्रहार
दाइजोको निहुँमा महिलालाई जिउँदै जलाइयो
राष्ट्रपतिको ‘अफ द रेकर्ड’ खल्तीमा बोकेर
सत्ता र प्रतिपक्षसहितको डिनरमा सरिक भएर
शीतल निवासबाट बाहिरिए सम्पादकहरू !
वाह क्या गज्जब छ !
यसरी नै वर्साैंदेखि जारी छ–
‘अफ द रेकर्ड’ संवाद
प्रधानमन्त्री र राजदूतको
सरकार र प्रतिपक्षको
मन्त्री र ठेकेदारको
न्यायाधीश र वकिलको
प्रहरी र तस्करको ।
‘अफ द रेकर्ड’ संवादजस्तै
वर्सौंदेखि जारी छ हजुरको सम्बोधन
सम्बोधन त श्री ३ र श्री ५ हरूले नि गर्थे
उनीहरूको सम्बोधन सुनेर
ज्योतिषीले धनी हुने भविष्यवाणी गरिदिएपछि
एकै छिन खुसी भएको दुःखीरामझैं
भित्रभित्रै खुसी हुन्थे पूर्वजहरू
तर, हजुरको सम्बोधन सुनेर म किन खुसी हुन सक्दिन
सरकार ! कतै मलाई डिप्रेसन त भएको छैन ?
लेखक- साहित्यकार एवंम पत्रकार मीनकुमार नवोदित