जेष्ठ ४,२०७९ / ०९ : ५२ अपरान्ह / 2022-05-18 09:52 pm

        अमेरिकामा कोरोनाको उपचारमा खटिएका चिकित्सकको अनुभव

        - २ वर्ष अगाडि
        चैत २४,२०७६

        काठमाडौं , डाक्टर रामु खरेल यतिबेला जर्जिया राज्यस्थित एटलान्टाको ग्राडी अस्पतालको इमर्जेन्सी डिपार्टमेण्टमा कोरोना संक्रमितको उपचारमा खटिएका छन्। पब्लिक पब्लिक हेल्थमा मास्टर्स र इमर्जेन्सी मेडिसिनमा एम डी गरेका उनी नेपाली डाक्टर हुन्।

        उनीसँग कोरोना उपचारको अनभुव, त्यहाँको अवस्था र स्वास्थ्यकर्मीले अपनाउनुपर्ने सतर्कताको बारेमा गरिएको कुराकानी -

        तपाईको अस्पतालमा भर्ना भएका बिरामीको मनोविज्ञान कस्तो पाउनुभएको छ ?

        म अहिले अमेरिकाको जर्जिया राज्यस्थित एटलाण्टाको ग्राडी अस्पतालको फ्रन्ट लाइनमा बसेर काम गर्छु । यो अस्पतालको अमेरिकाको एकदम व्यस्त अस्पतालहरु मध्येको एक हो । म काम गर्ने इमर्जेन्सी डिपार्टमेण्ट पनि सधैं व्यस्त भइरहन्छ । अहिले हाम्रो राज्यमा ६ हजार कोरोना केसहरु देखिएको छ त्यो मध्ये १ सय जति केस हाम्रो अस्पतालले हेरिरहेको छ ।

        अहिले विश्वभरि भइरहेको त्रासजस्तै हाम्रो शहरमा पनि कोरोनाको त्रास बढेको छ । हाम्रो शहरमा अहिले जरुरी कामका लागि मात्र बाहिर निस्कने आदेश छ । तर, नेपालको जस्तो लक डाउन भने होइन् । मानिसहरु आत्तिएका छन् । बिरामीहरु पनि डराएका छन् । मानसिक तनाव धेरै भएको देख्छु म । अलिअलि लक्षण देखिएका मानिसहरु पनि एकदम धेरै तनावमा छन् । नेपालमा जस्तै यहाँ पनि नमूना परीक्षणको सुविधा राम्रो नभएका कारणले धेरै बिरामीलाई गाह्रो परेको छ ।

        कोरोनाको बिरामी अस्पताल भर्ना भएदेखि डिस्चार्ज हुदाँसम्म के कस्तो चरण पार गर्नुपर्छ ?

        सुरुमा बिरामीको तापक्रम नापिन्छ, त्यसपछि लक्षण । अनि केही प्रश्नहरु सोधिन्छन् । यसबाट केस पोजेटिभ हुने लक्षण देखियो भने उनीहरुलाई ‘कोभिड पर्सन अण्डर इन्भेस्टिगेसन’ भनिन्छ । त्यसपछि सर्जिकल मास्क लगाइदिन्छौं । त्यसपछि उपचार प्रकिया सुरु हुन्छ । हाई रिस्क, मध्यम र न्यून रिस्क भएका बिरामी छुट्याएर छुट्टाछुट्टै कोठामा राखिन्छ । त्यसपछि कोरोना परीक्षणका लागि नाकबाट (nasopharyngeal swab) स्वाब झिकिन्छ ।

        त्यसपछि संक्रामक रोग विशेषज्ञ र इमर्जेन्सी फिजिसियन मिलेर बिरामीलाई कता पठाउने र कसरी उपचार गर्ने भनेर निर्णय गरिन्छ ।

        यदि श्वास प्रश्वासमा केही समस्या छैन र बिरामीलाई अरु कुनै दीर्घरोग छैन भने घरमै क्वारेण्टाइनमा बस्न भनेर सुझावका साथै ज्वरो कम गराउने औषधि दिएर पठाइदिन्छौं । नमुना परीक्षणको नतिजा आएपछि बिरामीलाई खबर गर्छौं । यदि अस्पतालमै भर्ना गर्ने अवस्था छ भने बिरामीको श्वासप्रश्वासको अवस्था हेरेर उपचार गर्छौं ।

        धेरै सङ्ख्यामा कोरोना संक्रमितको उपचार गरिरहदाँ तपाई चिकित्सकहरुको मनोविज्ञान कस्तो हुन्छ ?

        अहिले हामी सबै चिकित्सकहरुको मानसिक तनावको लेभल धेरै माथि छ । धेरै चिकित्सकहरुको घरमा सानो बच्चा बच्ची र बुढा मान्छेपनि बस्छन् । त्यस कारण उनीहरुले कामपछि आफू एक्लो रहनु र आइसोलेसन गर्नुको विकल्प नै हुन्न । काममा आउँदा हामीले लगाएको लुगा परिवर्तन गर्ने अनि फर्किंदा घरमा जानुपूर्व अर्को लुगा फेर्ने प्रक्रिया पनि छ ।

        बिरामीको मृत्यु र गम्भीर हाल र सामाजिक परिस्थिति देख्दा हामी चिकित्सकहरुलाई पनि धेरै मानसिक असर परेको छ । यो मानसिक तनाबका बेलामा चिकित्सकहरुको सपोर्ट अनि चिकित्सकको हेरचाह गर्ने मानिस चाहिन्छ ।

        पीपीईको कमीले गर्दा पनि धेरै तनाव भएको छ । हामी आफैंले आफैंलाई सुरक्षा गर्न सकेनौँ भने बिरामीहरुलाई उपचार गर्न गारो हुन्छ ।

        उपचार प्रकियामा संगल्ग्न हुदाँ बिरामी तथा चिकित्सकहरुले के कस्तो सुरक्षा सतर्कता अपनाउनुहुन्छ ?

        कोरोना पोजेटिभलाई या शंका गरिएका बिरामीलाई जाँच गर्दा हामी सबैले ‘युनिर्भसल’ ‘एजम्सन अफ रिस्क’ भन्ने सोच अपनाउनुपर्छ । यसको मतलब सबैले (डाक्टर, नर्स र अस्पताल कर्मचारी) संक्रमित हुने सम्भावना हुन्छ भनेर व्यवहारिक कदमहरु चाल्नुपर्छ ।

        यदि कोही बिरामीमा कोरोनाको शंका (ट्राभल हिस्ट्री, श्वासप्रश्वासको समस्या) छ भने पीपीइमा सर्जिकल मास्क, ग्लोब्स, गाउन अनि आखाँको सिल्ड (कजष्भमि) लगाउनुपर्छ ।

        यदि कुनै बिरामीले भाइरसलाई फैलाउन सक्छ जस्तो शंका लाग्यो भने उसलाई ‘स्पेसल एन–९५ फिटेड’ मास्क लगाइदिनुपर्छ ।

        पीपीई लगाउने विशेष तरिका पनि हुन्छ । जो स्वास्थ्यकर्मीहरुले ट्रेनिङ लिएर सही ढंगले लगाउनुपर्छ । लगाएको पीपीई निकाल्दा भाइरस आफैंमा संक्रमित हुने सम्भावना धेरै हुन्छ ।

        कोरोना संक्रमितको उपचार गराउने चिकित्सकहरुले कुन अवस्थामा क्वारेण्टाइनमा बस्नुपर्छ ?

        चिकित्सकहरुलाई केही लक्षण छैन भने क्वारेण्टाइनमा बस्नु पर्दैन। तर, लक्षण नदेखिए पनि यो भाइरसले संक्रमण गरेको छैन भनेर बुझ्न मिल्दैन । चिकित्सकहरुले त्यही भएर ‘युनिभर्सल एजम्सन अफ रिस्क’ अपनाएर जहिले पनि ठीक ढंगले पीपीई लगाउने, निकाल्ने, हात धुने र बाहिरी मान्छेसँग घुलमिल नगर्ने गर्नुपर्छ ।

        आफूमा केही लक्षण देखियो भने चिकित्सकहरु घरमा एक्लै बस्नुपर्छ । र, कोरोना परीक्षण गर्न आवश्यक छ जस्तो लाग्यो भने परीक्षण गर्नुपर्छ । क्वारेण्टाइन गर्दा परिवारबाट टाढा नै बस्नुपर्छ । मसँगै काम गर्ने एकजना अहिले आफ्नो घरको अण्डरग्राउण्ड तल्लामा एक्लै बसेका छन् ।

        नेपालमा कोरोना जाँच गराउने अस्पतालमा कार्यरत चिकित्सकहरुलाई समाज तथा घरमा दुर्व्यहार भएको समाचारहरु आइरहेका छन्, त्यहाँ त्यस्तो भोग्नुपर्छ कि पर्दैन ?

        नेपालमा चिकित्सकहरुलाई दुर्व्वहार भएको समाचार पढेर मलाई धेरै दुस्ख लागेको थियो । एटलान्टामा अहिलेसम्म चिकित्सकहरुलाई समाजबाट धेरै नै माया र सम्मान मिलेको छ । हरेक राति यहाँ शहरको मानिसहरुले मिलेर चिकित्सकहरुको चियर्स पनि गर्छन् । हामीलाई अस्पतालको प्रशासनबाट धेरै नै हौसला मिलेको छ ।

        अहिलेको समय सबैका लागि गाह्रो समय हो । तर, चिकित्सकहरु अहिले आफ्नो ज्यान नै दाउमा राखेर काम गरिरहेका छन् । अहिले सबैले समाजमा रहेका स्वास्थ्यकर्मीहरुलाई सम्मान र हौसला बढाउने काम गरौं । चिकित्सहरुले पनि प्रोटोकल अनुसार बिरामीको ख्याल राखुन् र आफ्नो नैतिक कर्तव्य निभाउन् । यो चिकित्सहरुको दायित्व पनि हो ।

        कोरोनाजस्तै अन्य भाइरसविरुद्धकाे उपचारमा योभन्दा पहिले संग्लग्न हुनुभएको थियो कि थिएन ?

        अहिलेको जस्तो कोरोना भाइरस पहिला पनि धेरै थिए । तर, अहिलेको भाइरसको फोक्सोमा असर गर्ने शक्ति अलि फरक छ । अरु भाइरसहरु जस्तै यो भाइरसले पनि खोकी, रुघा र ज्वरोको लक्षण देखाउँछ । अनि बिरामीको उपचार ‘सिम्पोमेटिक ट्रिटमेण्ट’ नै हुन्छ । यो भनेको अक्सिजन, स्लाइन र खानाले मद्दत गर्ने हो ।

        अरु भाइरसजस्तै यो भाइरस पनि केही समयपछि आफैं निको हुन्छ । तर, यो भाइरसले धेरै केसहरुमा फोक्सोलाई नराम्रो बनाउने र श्वास प्रश्वासको कारण मृत्यु गराउने देखिएको छ ।

        कोरोनाको उपचार गराइरहेका चिकित्सकहरु निद्रामा बबराइरहेका छन् भन्ने आर्टिकलहरु पढेको थिएँ, वास्तवमा यस्तो पनि हुन्छ ?

        यो महामारी एकदमै डरलाग्दो छ । किनभने, यसको संक्रमित शक्ति धेरै छ । अहिले न्यूयोर्कजस्तो शहरमा चिकित्सकहरुलाई धेरै तनाब र त्रास छ । किनभने, उनीहरुसँग पीपीई छैन । बिरामीलाई राख्न भेण्टिलेटर छैन । र, धेरैको मृत्यु पनि भएको छ । त्यसकारण चिन्ता हुनु स्वाभाविक नै हो ।

        हाम्रो अस्पतालमा अब आउने २ हप्तामा संक्रमित केसको महामारी अझै बढ्न सक्छ । तर, अहिले तयारी राम्रो छ । हाम्रो तयारीलाई नै जितेर यो महामारी फेरि आउँछ कि भन्ने शंका उत्तिकै छ ।

        यो समयमा खास गरेर चिकित्सकहरुले पनि आफ्नो मानसिक स्वास्थ्यको राम्रो ख्याल राख्नुपर्ने हुन्छ । त्रासपूर्ण वर्तमान भोगिरहेका हामीले भविष्य पनि त्यस्तै होला भनेर कल्पना गरिरह्यांै भने डर स्वाभाविक हुन्छ ।

        अन्य बिरामीको उपचार गराउँदा र कोरोनाको उपचार गराउँदा के कस्तो फरक पाउनुभएको छ ?

        कोरोनाको खतरनाक विशेषता यो हो कि एकदम स्वस्थ्य देखिने मानिसहरुमा पनि संक्रमण हुन सक्छ र यसले धेरै दीर्घरोग भएको मानिसलाई नराम्रो असर गर्न सक्छ । यसको अहिले केही ठोस उपचार आइसकेको छैन । तर, केही औषधिहरुको अनुसन्धान भइराखेको छ ।

        यो भाइरस नयाँ भएका कारण दैनिकरुपमा यसको प्रोटोकल र प्रमाणहरु पनि बढिरहेको छ । सोही कारण यसको उपचार गर्दा चिकित्सकहरुले आफ्नो अस्पतालको प्रोटोकल राम्ररी बुझ्ने अनि अनि अनुसन्धानमा भएका नयाँ कुराहरु पनि राम्ररी बुझेर उपचार गर्नुपर्छ । हामीलाई यो भाइरस भन्दा धेरै अरु भाइरसहरुको बारेमा थाहा छ । त्यसैले उपचार गर्न धेरै फरक पर्न जान्छ ।

        कोरोना संक्रमितलाई राख्ने आईसीयुको मापदण्ड के हुन्छ ? क्वारेण्टाइन कस्तो हुनुपर्छ ?

        अरु र यो रोगका लागि भनेर अहिले हामीले छुट्टाछुट्टै आइसीयू विकास गरिसकेका छैनाैं । यदि श्वासप्रश्वासको अवस्था नाजुक छ, ब्लड प्रेसर राम्रो छैन र धेरै स्लाइन र प्रेसरलाई उच्च बनाउने औषधि चाहिएको छ भने त्यस्ता बिरामीहरुलाई आइसीयूको जरुरत हुन्छ ।

        आइसीयूमा राख्दा पनि छुट्टै कोठामा राख्नुपर्छ र पीपीई खास तरिकाले लगाउनुपर्ने हुन्छ । केही अस्पतालहरु स्वास्थ्यकर्मीको कोठाबाट आवत–जावत कम गर्नका लागि औषधि दिने मेसिनहरु कोठा बाहिरै राखेर फोनबाट कम्युनिकेसन गर्ने पनि गरेको छ । बिरामीले आफ्नै परिवारलाई सम्पर्क गर्नका लागि भनेर आइप्याडको बन्दोबस्त पनि गरेको छ ।

        अहिले नेपालमा चिकित्सकहरुलाई पर्सनल प्रोटेक्टिभ इक्युपमेण्ट (पीपीई) को अभाव छ, त्यसको विकल्पमा कसरी सुरक्षित रहन सकिन्छ ?

        पीपीईविना चिकित्सकहरुलाई सुरक्षित रहन धेरै नै गाह्रो हुन्छ । केही नै नभएको अवस्थामा सकेसम्म नाक–मुखलाई धेरै सर्जिकल या एन–९५ मास्क को जरुरत हुन्छ । त्योविना कोभिड१९ को बिरामीलाई जाँच्न चिकित्सकहरुका लागि खतरनाक नै हुन्छ ।

        अमेरिकाका एम्बुलेन्स चालकले कसरी बिरामी ओसारिरहेका छन् ? एम्बुलेन्स चालकलाई कस्तो सुरक्षा सामाग्री हुनुपर्छ ?

        यहाँका एम्बुलेन्स चालकहरुले बिरामी ओसार्न सुरक्षित उपाय अपनाएका छन् । यदि कुनै बिरामीमा कोभिड १९ को शंका भएको छ भने अस्पतालमा लिएजस्तै पीपीईको प्रयोग गर्नुपर्छ । एम्बुलेन्स चालकलाई पनि चिकित्सकलाई जस्तै पूर्ण सुरक्षित पीपीई हुनु जरुरी छ ।

        कन्ट्याक ट्रेसिङ र परीक्षण किन धेरैभन्दा धेरै गर्नुपर्छ भन्ने कुरा उठेको हो, कन्ट्याक ट्रेसिङ र कम परीक्षण भयो भने के–कस्ता खतरा आउन सक्छन् ?

        यो भाइरस २ देखि १४ दिनसम्म लक्षणविनै बिरामीबाट संक्रमित हुन सक्छ । त्यस कारण लक्षण हुनुभन्दा पहिला त्यो बिरामीले अरु धेरैलाई संक्रमित गरेको हुन सक्छ । औसतमा कोभिडको १ जना बिरामीले २ देखि ३ जना अरु मान्छेलाई संक्रमित गर्ने सम्भावना हुन्छ । यदि कन्ट्याक ट्रेसिङ र परीक्षण राम्ररी गरिएन भने १ जना बिरामीले लाखौँलाई संक्रमित गराउन सक्छ ।

        कोरोनाको उपचारमा इमर्जेन्सीमा खटिने स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, नर्स र ओपेडीमा खटिने चिकित्सकहरुमध्ये कोरोना सर्ने खतरा कसलाई बढी हुन्छ ? किन र कसरी ?

        पीपीई फरक–फरक तरिकाका हुन्छन् । ड्रपलेट, कन्ट्याक र एयरबोन भनेर पीपीईको क्याटागोरी छुट्याइएको छ । कोरोनाका लागि ड्रपलेट र कन्ट्याक पीपीई जरुरी हुन्छ । यदि बिरामीलाई इन्ट्युबबेसन (शरीरमा पाइप छिराएर औषधि गर्ने विधि) या नेबुलाइजेसन (शरीरमा मास्कको माध्यमबाट औषधि दिने विधि) जस्ता प्रकियाहरु अपनाएको छ भने पनि हावाबाट नसरोस् भन्नलाई पीपीई लगाउनुपर्छ ।

        कोरोनाको उपचारमा बिरामीको नजिकै सम्पर्कमा आउने स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक र नर्सहरु सबैले कोरोनाका बिरामीको नजिकै सम्पर्कमा आउने स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक र नर्सहरु सबैले एउटै (ड्रपलेट र कन्ट्याक) प्रकारको पीपीई लगाउनुपर्छ । यदि संक्रमितसँग काम गरेको छैन भने मास्क लगाउँदा हुन्छ । तर, गाउन लगाइरहनुपर्दैन ।

        विश्वभरि नै कोरोनाका कारणले धेरै मानिस मरिरहेका छन्, खास कारण के होला ?

        म काम गर्ने अस्पतालमा अहिलेसम्म २ जनाको मृत्यु भएको छ । कोभिडको मृत्युदर २ देखि ४ प्रतिशतसम्म छ । यो भाइरसले पनि अरु भाइरसले जस्तै दीर्घरोग भएकालाई बढी असर गर्छ । र, तिनीहरुको मृत्युदर पनि बढी छ ।

        कोरोनामा मर्ने कारणहरु धेरै छन् । पहिलो कारण त यसले श्वास–प्रश्वासमा अरु भाइरसले भन्दा नराम्रो असर गर्छ ।

        यो भाइरस एआरडीएस भन्ने फोक्सोको समस्यामा पुग्ने मौका धेरै छ । श्वासप्रश्वासको जटिलताले गर्दा मृत्युको कारण बढी हुन्छ ।

        अर्को समस्या के छ भने यो भाइरस सजिलो तरिकाले संक्रमित हुन्छ र लगभग ४० देखि ६० प्रतिशत मान्छेहरुलाई संक्रमित गर्ने सम्भावना हुन्छ । यही कारणले गर्दा हाम्रो स्वास्थ्य प्रणालीको क्षमता नपुग्ने त्रास छ ।

        अहिलेसम्म नेपालका तीनवटा अस्पतालमा कोरोना संक्रमितको उपचार भइरहेको छ, यहाँ कार्यरत चिकित्सकहरुलाई के सुझाव दिनुहुन्छ ?

        कोभिड १९ हाम्रो पुस्ताको सबैभन्दा ठूलो चूनौती हो । र, हामी यो लडाइँका सिपाही हौं । विश्वभरि नै अवस्था नराम्रो छ । कुनै महाशक्तिले पनि धान्न सकिरहेको छैन । नेपालमा पनि कोरोना भाइरसका केसहरु बढ्यो भने नेपालको अहिलेको स्वास्थ्य प्रणालीको क्षमताले धान्न गाह्रो छ । चिकित्सक, जनता र राज्यले अहिले बुझ्नुपर्ने कुरा के हो भने अरु देशमा जस्तै कोरोनाको महामारी फैलियो भने नेपालले धान्न सक्दैन । त्यसैले फैलिनुअघि नै पूर्वतयारी गर्नुपर्छ ।

        न्यूयोर्क र इटालीको स्थिति नराम्रो भएका कारण तयारीको कमीले गर्दा पनि हो । यसमा सरकार र प्रशासनले पनि धेरै मद्दत गर्नुपर्ने हुन्छ । योबेला चिकित्सकहरुले आफ्नो सुरक्षालाई प्राथमिकता दिएर काम गर्नुपर्ने हुन्छ । हामीले भनेको जनता पनि धेरै सुन्छन् । त्यसैले चिकित्सकहरुले राम्रो कुराहरुको प्रचार–प्रसार गर्नुपर्छ ।

        हामी अमेरिकामा भए पनि दुनियाँका चिकित्सकहरु साथसाथमा छाैं । म आफैं नेपालका केही चिकित्सकहरुको नियमित सम्पर्कमा छु । हामी सबै मिलेर नै यसको सामना गर्न सकिन्छ ।

        तपाई बस्दै आएको राज्य र तपाई कार्यरत अस्पताललले कति संक्रमितहरु धान्न सक्छ ? अझै महामारी फैलियो भने उपचार गर्ने क्षमता छ ?

        हाम्रो राज्यमा पनि स्वासथ्यकर्मी र अस्पतालको कोरोना विरुद्ध लड्न सक्ने क्षमता घट्दै गएको छ । अब आउने २ हप्तामा महामारी बढ्ने धेरै नै सम्भावना छ । र, हाम्रो धान्न सक्ने क्षमता घट्दै गएको छ । सोही कारणले हामीले धेरै तयारी गरिरहेका छौं । खासमा हामीले यहाँका जनतालाई जनस्वास्थ्यको पालना गर्न धेरै नै आग्रह गरेका छौं ।

        तपाईको राज्य र अस्पतालमा पीपीई अभाव छ कि छैन ?

        अहिले हामीसँग एक महिनालाई पुग्ने पीपीई छ । यो नै हाम्रो सबैभन्दा ठूलो तनावको विषय हो ।

        अन्त्यमा, अरु केही भन्नैपर्ने कुराहरु छन् कि ?

        यो भाइरसको सामना गर्नका लागि चिकित्सकहरुले गर्नुपर्ने काम त गर्छन् नै । तर, यसमा सबैभन्दा समाजमा रहेका मानिसहरुको धेरै मदत चाहिन्छ । यसको भ्याक्सिन बन्नका लागि कम्तिमा पनि १८ महिना लाग्न सक्छ । त्यही भएर हामीले जनस्वास्थ्यका उपायहरु पालना गर्नु एकदम जरुरी हुन्छ ।

        साभार- अनलाइनखबर 

          सम्बन्धित समाचारहरु