वैशाख १७,२०८३ / ०१ : ३० अपरान्ह / 2026-04-30 01:30 pm
      • param ad
      • furniture
      • veera Incorporation

      ‘बिरामी निकाे भएर घर फर्किँदा दिने आशीर्वाद : मेरो अमूल्य सम्पत्ति’

      - ६ वर्ष अगाडि
      वैशाख २०,२०७६

      मोरङ रतुवामाई नगरपालिकाकी भावना बस्नेतले नर्सिङ पेशा थालेको करिब ६ वर्ष भयो। शुरुवातदेखि नै विराटनगरको न्यूरो कार्डियो एण्ड स्पेसिलिटी हस्पिटलमा न्यूरो विभागमा कार्यरत उनै भावनाका कुरा यसपटकको नर्सका कुरामा–

      सानैदेखि ममा दुःखी असहाय र बिरामीको हेरचाह गर्नुपर्छ भन्ने भावना थियो। परिवारका सदस्य र आफन्त बिरामी भएर अस्पताल जाँदा वा कुरुवा बस्दा नर्सको काम देखेर आकर्षित भएकी थिएँ। उनीहरूले बिरामीलाई गरेको व्यवहार देखेर म पनि पनि ठूलो भएपछि यस्तै बन्छु भन्ने संकल्प राखेँ।

      २०६३ मा मोरङ इटहरास्थित महेन्द्र माविबाट एसएलसी सकेर विराटनगर नर्सिङ क्याम्पसमा ‘ज्वइन’ भएँ। मैले नर्सिङ पढ्छु भन्दा घरमा सबैजाना खुशी नै हुनुभयो, परिवारबाट कुनै किसिमको अवरोध भएन।

      भनिन्छ सिकाइको क्रम कहिल्यै सकिँदैन, जीवन रहेसम्म। यो पेशामा लागेर मैले जुनसुकै परिस्थितिलाई कसरी ‘ह्याण्डल’ गर्ने, कसरी जुध्ने भन्ने ज्ञान पाएकी छु। उत्तरदायित्व बहन गर्ने क्षमता बढेको छ। जीवनका लागि महत्त्वपूर्ण सम्पत्ति हो भन्ने लाग्छ मलाई।

      /pagegallery/2019050351.jpg

      जब पढाइ पूरा भयो सानोदेखिको सपना साकार भएजस्तो लाग्यो। एकदमै खुशी थिएँ। आफूले सानैदेखि रोजेको विषय पढ्न पाएकोमा। साथै मनमा डर पनि थियो। विद्यार्थी भएर अरुको ‘अण्डर’मा काम गर्नु र आफैँ जिम्मेवार भएर काम गर्नुमा धेरै फरक हुन्छ। नयाँ ठाउँमा, नयाँ बिरामीको हेरचाह गर्न डर लागेको थियो।

      २०७० सालमा न्यूरो कार्डियो एण्ड मल्टी स्पेसिलिटी हस्पिटलबाट सेवा शुरु गरेँ। अहिले पनि म त्यहीँ कार्यरत छु। यहाँ काम गर्दागर्दै मैले पीबीबीएन (पोस्ट बेसिक ब्याचलर अफ नर्सिङ) पनि गरेँ।

      बिरामीहरू सबै मायालाग्दा नै हुन्छन्। असाध्यै पीडा हुँदा उनीहरू कहिलेकाही झर्किने, रिसाउने गर्छन्। त्यसलाई हामीले ‘नर्मल’ रूपमा लिनुपर्छ, किनभने हामी उनीको सेवा गर्नकै लागि हौँ। म काम गर्ने अस्पताल अझ म कार्यरत ‘न्यूरो डिपार्ट’मा बिरामीहरू उपचारका क्रममा लामो समयसम्म बस्नुपर्छ। एक बिरामी एक डेढ महिनादेखि दुई महिनासम्म बस्छन्।

      बिरामी लामो समयसम्म बस्दा हामी परिवारका सदस्यजस्तै भएका हुन्छौँ। सबैको दुःख–सुख बुझेका हुन्छौँ। त्यहाँ हामी उमेरअनुसार ‘रिलेसन मेन्टेन्ड’ गरेर बसेका हुन्छौँ। रातदिन नभनी आफ्नो बलबुताले भ्याएसम्म सेवा गर्छौँ। यस्तो गर्न पाउँदा मलाई आनन्द लाग्छ। यसरी सेवा गरेको बिरामी निको भएर घर जाँदा खुशी लाग्छ। पाको उमेरका आमाबुबाले फर्किने वेला आशीर्वाद दिँदा मेरा लागि त्योजस्तो खुशीको क्षण केही हुँदैन।

      मैले माथि नै भने हाम्रो काम बिरामीलाई निको बनाउनु नै हो। तर प्रयास गर्दागर्दै पनि कतिको त अस्पतालमै मृत्यु हुन्छ। फेरि म कार्यरत विभागमा आउने बिरामी जटिल प्रकारका नै हुन्छन्। एकैछिनअघि राम्रो भनिएको बिरामी एकैछिनपछि नरहन पनि सक्छ। बिरामीको मृत्यु हेर्नुपर्दा असाध्यै नरमाइलो लाग्छ। तर हाम्रो पेशा नै यस्तै फेरि काममा त लाग्नुपर्छ नै।

      कामको सिलसिलामा कहिलेकाहीँ बिरामीका परिवार वा आफन्तको व्यवहारचाहिँ दुःखलाग्दो हुन्छ। हेरचाह गर्दागर्दै पनि जब कुरुवाले मेरो बिरामीले ‘केयर’ नै पाएन भनेर डाक्टरहरूलाई कुरा लगाउँछन्। डाक्टरसँग मात्र होइन केही त ‘कम्प्लेन’ लिएर प्रशासनसम्मै पुग्छन्। यस्तो वेला साह्रै नरमाइलो लाग्छ।

      डाक्टरहरू बिरामीसँग दिन बढीमा दुईपटक मात्र भेट हुन्छन्। तर नर्स चौबिसै घण्टा बिरामीसँगै हुन्छन्। डाक्टरको काम त ‘अर्डर र ‘एड्भाइस’ दिने मात्र न हो, बाँकी सबै काम हामीले नै गर्ने हो। हामी डाक्टरहरूलाई ‘रेस्पेक्ट’ गर्छौँ, उहाँहरू हामीलाई। डाक्टर र नर्स भनेका एउटा सिक्काका दुई पाटाजस्तै हुन्। त्यसैले एक अर्काको ‘प्रोफेसन’को भ्याल्यु’ बुझ्नुपर्छजस्तो लाग्छ। म कार्यरत अस्पतालमा त्यो वातावरण छ।

      भनिन्छ सिकाइको क्रम कहिल्यै सकिँदैन, जीवन रहेसम्म। यो पेशामा लागेर मैले जुनसुकै परिस्थितिलाई कसरी ‘ह्याण्डल’ गर्ने, कसरी जुध्ने भन्ने ज्ञान पाएकी छु। उत्तरदायित्व बहन गर्ने क्षमता बढेको छ। जीवनका लागि महत्त्वपूर्ण सम्पत्ति हो भन्ने लाग्छ मलाई।

      आफूले चाहेको पेशामा लागेको हुनाले कामप्रति अत्यन्त सन्तुष्ट छु। तर कहिलेकाहीँ परिवार, आफन्त, साथीभाइलाई समय दिन सकिँदैन, चाडपर्व वा महत्त्वपूर्ण पारिवारिक जमघट पनि ‘मिस’ हुन्छ। अझ भनौँ आफ्ना लागि समय नै हुँदैन। पारिवारिक खुशीबाट टाढा रहे पनि परिवारका सदस्यझैँ बनेका बिरामीहरूको सेवामा तल्लीन रहन पाउँदा ती सबै पीडा भुलिन्छ।

      परिवार, आफन्त, साथीभाइ र चाडपर्व केही नभनी दिनरात बिरामीको सेवामा खटिएका हुन्छौँ र पनि वेलावेला विभिन्न अपजस खेप्नुपर्छ। कहिलेकाहीँ गल्ती नै नभई डाक्टर वा प्रशासनको गाली खानुपर्दा बेकारमा यो पेशामा लागिएछ भन्ने सोच नआउने होइन। तर, निको भएर जाँदा बिरामीको ओठमा देखिने मुस्कान र उनीहरूले दिने आशीर्वादले सबै कुरा भुलाउँछ। ‘सिरियस’ बिरामी पनि हामीले गरेको सेवाले नयाँ जीवन पाएर गएको देख्दा साह्रै खुशी लाग्छ।

      हेल्थ टिभी अनलाइनका रामप्रसाद काैशिकसँगकाे कुराकानीमा आधारित
      /pagegallery/2019050382.jpg

        सम्बन्धित समाचारहरु