काठमाडौं, पछिल्लो समय सार्वजनिक सडकमा छाडा चौपाया निकै बाक्लो रुपमा देखिन्छ ।
उपत्यकाका अधिकांश सडकमा छाडा रुपमा छोडिएका गाईवस्तुले सार्वजनिक सडकलाई गोठ बनाएका छन् । जसका कारण ट्राफिक जाम मात्रै होइन छाडा चौपायका कारण सडकमा दिनहुँ दुर्घटना पनि बढिरहेको छ । तर पनि सरकारले यसतर्फ ध्यान दिन सकेको छैन ।
उपत्यका तथा विभिन्न स्थानमा विचलित अवस्थामा रहेका छाडा चौपायाहरुलाई पशुपतिस्थित एक संस्थाले पालनपोषण गदै आएको छ । विगत ५ वर्ष अघिबाट ति विचलित अवस्थामा रहेका चौपायाहरुलाई पशुपतिस्थित मठमन्दिर गाई बाच्छा बचाउ अभियान तथा समाज नामक संस्थाले गर्दै आएको हो ।
संस्थाका अभियान्ता हुन, आरबी न्यौपाने । न्यौपानेले ६÷७ वर्षअघि देखि सडकमा छोडिएका वेवारिसे चौपाया खोजी खोजी संरक्षण गर्दै आएका छन् । उनले घरपालुवा तर छाडा छोडिएका चौपायलाई मात्र सेवा गर्दैनन्, जंगली जनावरमा पनि उनको नजर पुग्ने गरेको छ । विरामी भएर मृत्यु नजिक पुगेको न्याउरी मुसालाई उपचार गरेको स्मरण उनको लागि अविस्मरणीय छ । त्यसैगरी तीन वर्ष अघि काभ्रेको जंगलमा रहेको चितुवालाई गाउँलेहरुले मार्न लागेको अवस्थाबाट उनले नै बचाए ।
मानिस विवेकशील भनेर चिनिए पनि कतिपय कुरामा चुक्ने गरेको छ । मानिसबाटै हुने अमानवीय व्यवहारबाट अन्य पशुपक्षी अन्यायमा परेका छन् । मानिसले आफू र आफ्नो परिवारको स्वार्थबाहेक अरु कुनै चिन्ता नराख्ने न्यौपानेको अनुभव छ । त्यसो त उनी चौपायाप्रेमी बन्नुमा पनि आफ्नै जीवनको घटनाले भूमिका खेलेको छ । छाडा चौपायाप्रति स्नेह र माया जाग्नुको कारण उनीमा घटेका घट्ना नै होे मनकारी भावनासँगै उनले सुरुवाती समयमा एउटा छाडा चौपायलाई आफु बसेको ठाउँमा ल्याएर पाल्न सुरु गरेका थिए । आधुनिक युगका नाममा वास्तवमै मानिस निर्दयी बनेको छ । संस्कार भुलेको छ, मानवियता हराएको छ । यही कुराले न्यौपानेलाई चिन्तित बनाएको छ ।

ठूलो मन लिएर चौपायाको हेरचाह सुरु गरेका न्यौपानेले अहिले उपत्यका तथा विभिन्न स्थानमा छरिएर रहेका मात्र नभई विभिन्न कारणले घाईते भएका तथा विचलित अवस्थामा रहेका १ सय ७५ गाईहरुले संरक्षण गरिरहेका छन् । यो व्यवस्थापनको जिम्मा राज्यले लिनुपर्ने हो । तर नेपालको सरकार जिम्मेवारीबाट धेरै कुरामा पछि परेको छ । यद्यपी राज्यको जिम्मेवारी हो भनेर ढुक्क बस्न नसकेका न्यौपानेकै कारण अहिले यि गाईहरुले आश्रय पाएका छन् ।
गाई नेपालको राष्ट्रिय जनावर हो । यति मात्रै होइन, गाईलाई भगवान मानिन्छ, गाई तिहारमा पूजा गरिन्छ, ढोगिन्छ । दूध र मलको स्वार्थ पूरा गर्ने पनि मानिस नै हो । तर जब गाईबाट लिने स्वार्थ सकिन्छ तब गाईलाई बेसाहारा बनाईन्छ । यि कुराबाट असन्तुष्ट न्यौपानेले सुरु गरेको चौपाया संरक्षण अभियानमा सहयोगि हातहरुले पनि साथ दिने गरेका छन् ।
अहिले ति गाईहरुको हेरचाह गर्नका लागि उनीसँग २० जनाभन्दा वढि सहकर्मीहरु रहेका छन् । यो अभियानलाई देशव्यापी रुपमै सञ्चालन गर्ने तयारी गरिएको छ । त्यतिमात्र नभई अभियान विस्तारका लागि उनले आफ्नै खर्चमा काभ्रेको मेथानचोक गाउँपालिका ६ मा जग्गा खरीद गरी ४५ वटा छाडा गाईको पालनपोषण गरेका छन् । त्यसैगरी कीर्तिपुरमा पनि उनले ३५ वटाको हाराहारीमा विचलित गाईको सेवा गर्दै आएका छन् । ति गाईहरुका लागि आवश्यक पर्ने दाना तथा घाँसपानीका लागि न्यौपानेले दैनिक ३० देखि ४० हजार भन्दा वढि खर्च हुने गरेको छ । आरबी न्यौपानेलाई अरुले काम नलाग्ने भनेर छोडेका गाईवस्तुको स्याहार गर्दा कुनै लाभ छैन । त्यसैले उनी गाई फार्म खोलेर आर्थिक लाभ लिने व्यवसायीहरुलाई यस्तो सल्लाह दिन्छन् ।
दैनिक रुपमा पालनपोषणका लागि उनले दाताहरुको सहयोगमा उठेको रकम खर्चिदै आएका छन् । तर ति विचलित गौमाताहरुको संरक्षण तथा सम्वर्धन त्यतिले मात्र सम्भव छैन । न्यौपानेकोक अभियानलाई अनुकरण गर्दै राज्यले नै यस्ता अभियान सुरु गने सके त्यसको प्रभावकारिता अझै बढ्न सक्छ ।

छाडा पशु चौपायका कारण सडकमा दिनहुँ दुर्घटना पनि बढिरहेको छ । साँघुरा सडकमा हतारमा दगुर्ने सवारी साधनले छाडा चौपाय जोगाउन ‘झ्याप्प ब्रेक’ लगाउँछन् । यसकारण पनि सवारीसाधन भित्र रहेका यात्रुहरु पनि घाईते हुने गरेका उदाहरणहरु धेरै छन् ।
काठमाडौँ उपत्यका र छेउछाउका स्थानहरुमा गाईपालक संख्या बढेसँगै थारा गाई तथा साँढे र बाच्छाबाच्छीलाई सडकमा छाडा छोड्ने क्रम बढ्दो छ । खासगरी दुध दिँदासम्म पाल्ने त्यसपछि सडकमा छोडिदिने परिपाटिका कारण पनि सार्वजनिक सडकमा पशु चौपाया दिनानुदिन बढिरहेका हुन् । छाडा चौपायकै कारण ६० प्रतिशत सडक दुर्घटना हुने गरेको तथ्याङ्क छ । करिब दुई हजारभन्दा अधिक बेवारिसे र अलपत्र अवस्थामा गाई साँढे तथा साना बहर सडकमा रहेका छन् ।
खाने र बस्ने अभावमा रहेका रोगी, घाइते, भोका तथा पानी खान समेत नपाएका दिनहुँ दुर्घटनामा पर्ने गरेका छाडा चौपायलाई पाल्ने व्यवस्था मिलाउन राजधानीमा पर्याप्त गौशाला छैन । छाडा पशु चौपायको कारण पैदल हिँडडुल गर्नेलाई समेत समस्या भएको छ ।
त्यसैले छाडा चौपाया, त्यसमा पनि गाईको नियन्त्रण तथा संरक्षणका लागि सम्बन्धित निकायले ध्यान दिनु अत्यन्त जरुरी छ ।








