२०७० सालको निर्वाचन पछाडि संविधान सभा ने.क.पा संयूक्तबाट सभासद बन्नु भएका राघव विर जोशी कान सुन्नु हुन्न र बोल्नु पनि हुन्न तर उहाँका विचार प्रष्ट छन् उहाँले संविधान सभामा पनि बहिरा तथा फरक क्षमता भएका लागि विशेष अधिकारको माग गर्नुभएको थियो । नेपाल बहिरा संघको अध्यक्ष समेत बनिसक्नुभएका राघव निरन्तर आफु जस्ता सक्षम तर सरकारले उपेक्षा गरेका हरुको अधिकारको निम्ति लडिरहनु भएको छ । उनै राघवसगँ चिनारी पोष्टका लागि ओम प्रकाश निरौलाले लिनु भएकोे अन्तवार्तामा सांकेतिक भाषाका दोभाषे निकेतन श्रेष्ठले अनुवाद गर्नुभएको कुरालाईआधारित संवाद याहाँ प्रस्तुत गरिएको छ ।
२०७० सालमा संविधान सभाको सभासद भइसकेपछि तँपाइको कस्तो भूमिका खेल्नुभयो ?
म नेकपा संयूक्तबाट संविधान सभामा सभासद को रुपमा जाने अवसर पाएँ । त्यो बेलाको सभामुख सुवास नेम्वाङ्ग हुनुहुन्थ्यो र त्यसबेला संविधान सभामा बहिरा ब्याक्ति रहनु कति उपयूक्त भन्ने प्रश्न पनि उठेको थियो । र संविधान बन्ने बेलामा अल्पसङख्यकको एउटा समिति बनेको थियो । त्यसबेला मैला बहिराको निशुल्क शिक्षाको कुरा उठाएको थिएँ । त्यसैगरि बहिराको लिपीलाई राष्ट्रिय भाषा बनाउनु पर्छ भन्ने कुरा उठाएको थिएँ । तर संविधानमा त्यो कुरा राख्न सकिएन ।
बहिराहरुको औपचारिक शिक्षाको अवस्था के छ ?
पहिला कक्षा ७ सम्म मात्र मान्यता थियो । अहिले चाही हाम्रो आन्दोलन संघर्ष तथा समयको मागले होला नेपालमा उच्च शिक्षाको समेत व्यवस्था छ ।
के छ सङख्यात्मक हिसाबमा नेपालमा बहिराहरुको स्थिति के छ ?
२०६८ को जनगणना अनुसार ८० हजार जति बहिराहरु छन् भन्ने आएको थियो तर हाम्रो अध्ययन तथा अनुमानको आधारमा नेपालमा हाम्रो सङख्या लगभग ३ लाख जति छ भन्ने लाग्छ ।
नेपालमा भइरहेको महिला हिंसा र बहिरा महिला माथीको हिंसालाई फरक तरिकाले हेर्नु पर्छ की महिलाकै हिंसामा समेट्न सकिएला ?
नेपालमा महिला हिंसा पनि धेरै छ त्यसमा पनि बहिरा महिलाको स्थिति दयनिय छ । भर्खरै मात्र रुपन्देही मा एकजना बहिरा महिला माथि एक जना शशस्त्र प्रहरीले बलात्कार गरेको घटना आएको थियो । यसलाई फरक तरिकाले हेर्नुपर्छ किनकी बहिराहरुलाई आफ्नो कुरा बाहिर ल्याउन गारो छ । हाम्रो सबैभन्दा जटिल पक्ष भनेको दोभाषेको हो । जुनसुकै कुरा गर्नलाई पनि दोभाषेको जरुरत पर्छ त्यही भएर घटनाहरु बाहिर आउन सक्दैनन् ।

कति जना दोभाषेहरु छन् होला जम्मा नेपालमा ?
धेरै कम छन् । लगभग ३० जना जति छन् होला । त्यो पनि नेपाल बहिरा संघले पनि यो सङख्या बढाउन प्रयत्न गरिरहेको छ । साथै यसको बृद्धीका लागि सरकारले पनि बिशेष पहल गर्नुपर्छ ।
थोरै प्रसङ्ग बदलौ । हामी मनोरञ्जनका लागि चलचित्रहरु हेर्छौ तपाइ के गर्नुहुन्छ ?
म पनि पहिला धेरै नै चलचित्रहरु हेर्थे । हाम्रो पालामा निर्माण भएका प्रायः हिन्दी चलचित्रहरु हेरेको छु । अमिताव बच्चन हेमा मालीनी जस्ता कलाकारहरु हामीलाई मन पर्ने कलाकार हरु थिए । हामीले उनीहरुको सांकेतिक नाम पनि बनाएका थियौ । त्यसैगरि हामीले चार्ली च्यापलिन का धेरै चलचित्रहरु हेर्यौ । चार्लीका चलचित्रहरु हाउभाउमा आधारित भएकाले हाम्रो लागि अति नै उपयोगी थिए ।
सुन्दरता हेर्ने कुरामा चाही भाषा नचाहीने हो ?
(हास्दै) हो । त्यस्तै नै होला ।
चलचित्रमा बहिरा कलाकारहरु कति हुनुहुन्छ ?
खासै त्यस्तो धेरै छैनन् । नक्साल स्कुलमा एउटा चलचित्र मौन भन्ने बनेको थियो त्यसमा चाही बहिरा स्कुलका केही बहिरा कलाकार हरु हुनुहुन्थ्यो । अरु चाही त्यति थिएन ।
तपाइको अहिले पनि यति सुन्दर हुनुहुन्छ यूवा हुँदा कति प्रेम प्रस्ताव आए ?
केटी साथीहरु धेरै थिए तर त्यस्तो प्रेम प्रस्ताव चाही आएन । कुराकानी हुन्थ्यो गफ गथ्र्यौ हामी । तर मलाई प्रेम प्रस्ताव आएन । मैले पनि कसैलाई प्रेम प्रस्ताव गरिन । अहिले भएकी मेरी श्रीमती जो सुन्न सक्नुहुन्छ उहाको कुरा पनि घर परिवार बाट आएको हो त्यसैलाई मैले हुन्छ भनेको हुँ ।
खेलकुदको क्षेत्रमा बहिरा साथीहरु कति आउनुभएको छ ? कस्तो छ अवस्था ?
अहिले बहिरा महासंघ अन्तर्गत धेरै जिल्ला जिल्लामा बहिरा संघहरु स्थापना भएका छन् । फुटबलमा पनि सहभागिता भएको छ । ताइवान मा पनि बहिरा साथिहरुले सहभागिता जनाएका थिए । यातायातको खर्च ५० प्रतिशत सरकारले सहयोग गरेपछि हामी खेल्न गएका थियौ ।
सरकारले के गर्दिए हुन्थ्यो जस्तो लाग्छ ?
मुख्य कुरा भनेको हामीलाई विभेद नहोस भन्ने हो अहिले पनि हामीलाई लाटाको रुपमा हेर्ने गरिन्छ यो कुराको अन्त्य गर्न सहयोग होस् भन्ने हो । त्यस्तै गरेर हामीलाई सरकारले हेपेर हो वा विभेद गरेर हो लाइसेन्स पनि दिएको छैन । नेपाल सरकारले यो विषयमा पनि केही गरोस र अदालतले दिएको आदेशको कार्यान्वयन गरेर हामीलाई सहयोग गरोस् भन्ने मेरो चाहाना छ ।








