वैशाख १७,२०८३ / ०१ : ३१ अपरान्ह / 2026-04-30 01:31 pm
      • param ad
      • furniture
      • veera Incorporation

      म सक्कली शंकराचार्य हुँ, विना तथ्य र आधार मेरो बारेमा भ्रम फैल्याईयो : हेमानन्द गिरी

      - ७ वर्ष अगाडि
      श्रावण २६,२०७५

      शंकाराचार्यका नाममा आफ्नो प्रचार गर्दै आएकी हेमानन्द गिरी शंकराचार्य नै नभएको आरोप लागेको छ । उनले केका आधारमा आफू शंकराचार्य भएको दाबी गरिन् ? अनि केका आधारमा उनको शंकराचार्यको उपाधी नक्कली साबित गर्न खोजिदैँछ । यिनै विषयमा केन्द्रित भएर ऋषि धमलाले गिरीसँग कुराकानी गरेका छन् । प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्का लागि गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ । 

      तपाई किन विवादमा आउनुभयो ?

      विवाद हुनुपर्ने कुनै पनि कारण छैन । म शंकराचार्यबाट सम्मानित भइसकेको छु । मैले प्रमाणपत्र पनि लिइसकेको छु । अखिल भारतीय विद्ध्त परिषद,धर्म महामण्डल र विश्व हिन्दु महासंघबाट मैले प्रमाणपत्र प्राप्त गरेको छु । विश्वकै प्रथम महिला शंकराचार्यको छत्री र छडीको ताम्रपत्र प्रमाणपत्र ग्रहण गर्ने व्यक्ति मै हुँ । 

      तपाईलाई नक्कली शंकाराचार्य भएको आरोप किन लाग्यो ?

      म नक्कली होइन, सक्कली शंकराचार्य हुँ । विना तथ्य र आधार मेरो बारेमा भ्रम फैल्याईएको छ । मेरो बारेमा मसँग नसोधीकन विभिन्न संचारमाध्यमले तथ्यहिन समाचार प्रकाशन गरे । मसँग त प्रमाणपत्र नै छ नि ।

      प्रमाणपत्र नै नक्कली हो भन्छन् नि ?

      भन्न त चुनाव जितेर बनेको प्रधानमन्त्रीलाई पनि नक्कली प्रधानमन्त्री भन्न सक्छन् । अब के गर्ने ? त्यसैले कसले के भन्यो र के लेख्यो भन्ने कुरा महत्वपूर्ण हुँदैन । मैले पाएको उपाधि नक्कली हो भनेर लेख्नुअघि मसँग आधार खोज्नुपथ्र्यो नि । 

      काशी विद्धत परिषदले तपाई शंकराचार्य होइन भन्यो । किन ?

      काशी विद्ध्त परिषदले छाप नै नहानेको चिठी पठाएको छ । अर्को कुरा यो परिषद भनेको काशीको संस्था हो । मलाई प्रमाणपत्र दिने संस्था भनेको पुरै भारतको संस्था हो । अखिल भारतीय विद्ध्त परिषद,धर्म महामण्डल र विश्व हिन्दु महासंघबाट मैले प्रमाणपत्र प्राप्त गरेको छु ।

      भनेपछि काशी विद्धत परिषदको भनाई गलत हो त ?

      परिषदको चिठीमा छाप नै छैन । मेरो विरुद्धमा नेपालीहरुलाई भ्रमित गर्नका लागि नक्कली चिठी पठाएर भ्रम फैल्याइएको हो । तर म सक्कली शंकराचार्य हुँ । परिषद्सँग मप्रति आग्रह पूर्वाग्रह थियो कि के थियो त्यो मलाई थाहा छैन । 

      तर तपाईलाई पशुपतिनाथमा पनि प्रवेश गर्न दिइएन नि ?

      मैले नेपालमै बस्ने इच्छा राखेको हुँ । पशुपतिको प्रांगणमा बस्नका लागि तयारी गर्दैछु । ८ गतेका लागि कार्यक्रम गर्न सबै जिम्मा दिइसकेको छु । तर पशुपति क्षेत्र विकास कोषले हेमानन्द गिरीलाई कुनै पनि कार्यक्रम गर्न दिनुहुँदैन भनेर मैले कार्यक्रमको जिम्मा दिएका व्यक्तिहरुलाई भनेछन् । त्यसपछि मैले कामको जिम्मा दिएको व्यक्तिले मलाई खबर गरे । 

      तपाईको कार्यक्रम किन रोक्न खोजियो ?

      कारण यो हो कि म महिला हुँ, शंकराचार्य हुनु हुँदैन । म अयोग्य छु भन्ने कुरा त पशुपति क्षेत्र विकासले प्रमाणित गर्ने कुरा होइन नि । म सबै परीक्षामा उत्तिर्ण भएर शंकराचार्य बन्न सफल भएको हुँ । मलाई जसले प्रमाणित गरेर शंकराचार्य बनायो, त्यो संस्थाले मलाई योग्य ठहर गरिसकेको छ । 

        सम्बन्धित समाचारहरु