श्रीमद्भागवतको विद्यार्थी हु भनेर आफुलाई चिनाउन चाहाने र लामो समय देखि ज्योतिष पेशामा सम्बद्ध हुनुभएका ज्योतिष तुलसी खनालले आफु अब्बल ज्योतिष हुँ भनेर कहिले पनि घमण्ड गरेनन् । आफ्नो पेशाप्रति सधै कर्तव्यनिष्ठ उनले सयौ मानिसहरुको चिना बनाउने र उनीहरुको चिना हेर्ने र भविष्यवाणी गरेका छन् र उनले गरेको भविष्यवाणी (फलादेश) प्राय सधै नै सम्बन्धीत मान्छेको जीवनसगँ मेल खाएको छ । मध्यबानेश्वरको कात्यायानी चोकमा कात्यानी ज्योतिष परामर्श नामको सेवा केन्द्र खोलेर सेवा दिइरहनु भएका ज्योतिष तुलसी खनाल सगँ चिनारी पोष्टका लागि ओम प्रकाश निरौला ले लिनुभएको अन्तवार्तामा आधारित ।
पूर्विय दर्शनमा ज्योतिष धेरै अघि देखि शुरु भएको भन्ने सामान्य बुझाइ छ के छ यसको इतिहासको बारेमा भन्नु पर्दा के भन्नु हुन्छ ?
वास्तवमा ज्योतिष शास्त्रको इतिहास धेरै लामो छ । सृष्टि शुरु भएदेखिनै यो शुरु भएको हो । सूर्यको शुरुवात सगै यो पनि शुरुवात भएको मानिन्छ सूर्य सिद्धान्त अनुसार नै अहिले पनि ज्योतिष हेर्ने काम हुन्छ । श्रीमदभागवत मा उल्लेख गरे अनुसार सृष्टि सगै नै यो शुरु भएको हो भन्न सकिन्छ ।
प्राय गरेर कस्ता मान्छेहरु तपाइकोमा आउछन् ?
धेरै खालका मान्छेहरु आउने गर्नुहुन्छ । समस्यामा परेका मान्छेहरु पनि आउनुहुन्छ किन यस्तो भयो यसको कारण के हो के गर्ने भन्ने जस्ता विषयहरु लिएर पनि आउनुहुन्छ । कोही भने यसो बुझौ के कुरा गर्छन भन्ने तवरले पनि आउने गर्नुहुन्छ । कोही भने यो कति चैं जान्दछ भन्ने नियतबाट पनि मेरोमा आइराख्नुहुन्छ ।
चिनाको आधारमा तपाइहरु भविष्य हेर्नुहुन्छ र चिना जन्मको आधारमा बनाइएको हुन्छ । मान्छेको जीवन त गर्भवाट शुरु हुन्छ तर किन ज्योतिषहरुले गर्भलाई नभएर जन्मलाई आधार मान्छन् ?
यो सही प्रश्न हो । हुन त कोही कोहीले गर्भकै आधारमा पनि चिना बनाउने गर्छन् । गर्भकै आधारमा चिना बनाउदा पनि उनीहरुले कहिले जन्मने भन्ने कुरा त्याहा तोक्ने गर्छन र जन्म मिति त्यतिबेला नै निक्र्यौल गर्न सकिन्छ त्यसकारण जन्म वा गर्भ जे बाट पनि एउटै हुन्छ ।
कति मानिसहरुले तपाइको कुरा पत्याउछन् जस्तो लाग्छ ?
म सगँ आउनु भएका धेरै मान्छेहरु दोहोरायर आउनु हुन्छ यसको अर्थ मलाई विश्वास गरेर नै आउनु भएको हो भन्ने मलाई लाग्छ । म सबै कुरा मिलाउछु त भन्दिन किनकी म श्रीमदभागवतको विद्यार्थी हुँ घमण्ड गर्न मिल्दैन । तर मैले गरेको कुरा सही नै हुन्छ भन्ने मलाई लाग्छ ।
पूर्व धनकुटामा होस वा पश्मि धनगढिमा बनाएपनि चिना एउटै हुन्छ कसरी मिल्छ होला ?
यो भनेको गणित हो । पूर्व पश्चिम मात्र नभएर संसारमा जहा गएपनि २ मा २ जोड्दा ४ हुन्छ । त्यो भएर जहा बनाए पनि ज्योतिष मिल्छ यो विज्ञान हो यो गणित हो त्यही भएर यो मिल्छ ।
चिनामा परिणामको बारेमा उल्लेख गरेको हुदैन त्यसकारण दुइवटा ज्योतिषले एउटा मान्छेको बारेमा गरेको कुरा कसरी मिल्छ ?
हुन त एउटै मान्छेले गरेको कुरा पनि समय अनुसार भिन्न हुन्छ त्यसैले दुइजना ज्योतिषले गरेको कुरा एउटै हुने भन्ने त हुदैन तरपनि चिनामा उल्लेख गरे अनुसार हेर्ने र भन्ने कुरामा समानता नै हुन्छ । शैली फरक भएपनि विषय भने मिल्न जान्छ ।
धर्ममा विश्वास नगर्नेहरुले ज्योतिष लाई मान्नु आवाश्यक छ की छैन ?
धर्म मान्नु नमान्नु एउटा हो । ज्योतिष गणित हो विज्ञान हो त्यसैले यसलाई मान्दिन भन्नु त्यो भन्ने मान्छेले नै बुझ्नु पर्ने हुन्छ । किनकी ज्योतिष विज्ञान सम्वत भएकोले यो सही नै हुन्छ भन्नेमा म विश्वस्त छु ।
ग्रहण, ग्रहको अवस्था आदिका विषयमा अहिलेको पाश्चात्य विज्ञानले गरेको अनुमान र ज्योतिष शास्त्रबाट गरेको अनुमान एउटै हुन्छ यसबाट के हामी पश्चिमाहरु भन्दा अगाडि हौ त ?
हो यो अवस्य हो । हामी अवस्य पनि अगाडि छौ । हामीले थाहा पाउदा हाम्रो यो अनुमान सृष्टिकालको शुरुवात देखि नै थियो तर पश्चिमाहरुको विज्ञान भनेको २० औ शताब्दीबाट अलि अगाडि आएको हो त्यसकारण हामी अगाडि थियौ भन्न मिल्छ ।
पृथ्वीले सूर्यलाई परिक्रमा गर्ने भन्ने कुरा हाम्रा शास्त्रहरुमा पहिले देखि नै थियो ?
अवस्य थियो विविध कारणले कुनै समय लुकाइएको थियो । हाम्रो श्रीमदभागवतको पञ्चमास्कन्दको २६ औ अध्यायमा पाइन्छ जहा ज्योतिषका बारेमा उल्लेख गरेको छ र त्यसमा पृथ्वीलाई मुख्य आधार नमानेर सूर्यलाई मुख्य आधार मानेको छ र त्यसमा पृथ्वीले सूर्यलाई परिक्रमा गर्ने कुराका बारेमा उल्लेख छ ।
नेपाली र भारतीय ज्योतिषहरु मध्ये कसले राम्रो फलादेश गर्छन जस्तो लाग्छ ?
विश्व ज्योतिष महासंघमा समावेश भएका भारत श्रीलङ्का पाकीस्तान लगाएतका देशहरु समावेश भएको संघमा त्याहा कुरा गरे अनुसार हाम्रो नेपालीको फलादेश चाही सटिक र राम्रो तथा जीवनमा मेल खाने हुन्छ भन्ने उहाहरुको भनाइले पनि हामी अलि उत्तम नै छौ भन्ने कुरा भन्न सकिन्छ ।








