वैशाख १७,२०८३ / ०१ : २७ अपरान्ह / 2026-04-30 01:27 pm
      • param ad
      • furniture
      • veera Incorporation

      ममाथि झुटो आरोप लागेको छ, चुप लागेर बस्दिन दिपकराज जोशी

      - ७ वर्ष अगाडि
      श्रावण १९,२०७५

      प्रस्तावित प्रधानन्यायाधीश दिपकराज जोशी अन्ततः प्रधानन्यायाधीश बन्न असफल भए । संसदीय सुनुवाई विशेष समितिले जोशीलाई अस्विकृत गर्यो । सत्तारुढ दल नेकपाका सासंदहरुले उनलाई प्रधानन्यायधीश बनाउन नहुने पाँचवटा कारणसमेत प्रस्तुत गरेको छ । यसै विषयमा जोशीसँग ऋषि धमलाले विशेष कुराकानी गरेका छन् । उनीसँगको कुराकानी यहाँ प्रस्तुत गरिएको छ । 

      तपाईमाथि लागेको ५ वटा आरोपबारे के भन्नुहुन्छ ?
      ममाथि जे आरोप लगाइएको छ, त्यसबारे उहाँहरुले मलाई प्रश्न नै गर्नुभएन । त्यसैले यसबारेमा म धेरै बोल्दिन ।

      तर तपाईलाई प्रधानन्यायाधीशका लागि अयोग्य भनियो नि ?
      मलाई अयोग्य भनेर उहाँहरुले निर्णय गरिसक्नुभयो । अब म के भनम र ? मलाई दुःख लागेको छैन । संसदबाट भएको कामलाई मान्नैपर्यो । 

      संसदीय सुनुवाई विशेष समितिलको निर्णयलाई कसरी लिनुभएको छ ?
      संवैधानिक परिषदले योग्य भनेर सिफारिस गरिसकेको थियो । तर समितिका सदस्यहरुले कसरी हेर्नुभयो, मलाई थाहा भएन । भइसकेको निर्णयमाथि मेरो टिप्पणी छैन । 

      समितिमा जवाफ दिन जाँदा तपाईको प्रस्तुति राम्रो भएन भन्ने आरोप छ नि ?
      समितिमा जाँदा मैले अदालतले अब गर्ने कार्ययोजना १४ वटा बुँदामा पेश गरेको थिएँ । स्पष्टसँग देखाएर पढेस सुनाएको थिएँ । उहाँहरुले कसरी हेर्नुभयो र कसरी बुझ्नुभयो, थाहा भएन । उहाँहरुको प्रश्न त के थियो भन्दा बजारमा भएका हल्लाका के हुन्, तपाईले के गर्नुभयो भन्ने किसिमको थियो । मैले हल्लाकोबीचमा नउभ्याउनुहोला, मैले जाने बुझेको कुरा बताइसकेँ, भनेर भनेको हुँ । 

      तपाईको योजना प्रभावकारी थिएन रे ?
      मैले समितिमा प्रस्तुतगरेको १४ बुँदामा उहाँहरुले छलफल नै गर्नुभएन । उहाँहरुलाई सोध्नुस् न ति बुँदाहरु केके छन् ?

      तपाईको शैक्षिक प्रमाणपत्र नक्कली र केही फैसलाहरु गलत भए भन्ने आरोप छ नि ?
      मेरो शैक्षिक प्रमाणपत्र गलत छ भने त सम्बन्धित ठाउँमा बुझ्नुपर्यो । छानबीन गर्नुपर्यो । नेपाल सरकार शिक्षा मन्त्रालयले दिएको प्रमाणपत्र नक्कली हो कि सक्कली हो भन्ने कुरा त बुझ्नुपर्यो नि । पास भएको प्रमाणपत्रलाई नै उहाँहरुले गल्ती भन्नुहुन्छ भने म के गर्न सक्छु र ?

      तपाईले सही आचरण र इमानदारिता चाँही देखाउन सक्नुभएन भन्ने आरोप छ नि ?

      मैले दिनुपर्ने जवाफ दिएको हुँ । चलिरहेको मुद्धामा त बोल्न मिल्दैनथ्यो । संसदमा त फैसला नभएको मुद्धाको विषयमा बोल्न मिल्दैन, मिनि संसदमा कसरी बोल्ने ?

      तपाईले अहिलेसम्म गरेका निर्णय सही थिए त ?
      हामीले प्रमाणका आधारमा निर्णय गर्ने हो । गलत निर्णय गरेको छैन । 

      संवैधानिक परिषदले सिफारिस गरेको व्यक्तिलाई संसदीय सुनुवाई समितिले अस्विकृत गर्नुलाई कसरी लिनुहुन्छ ?
      न्यायको आफ्नै मर्यादा हो । यसलाई कायम गर्न सकिनएन भने प्रजातन्त्रका लागि हितकर हुँदैन । 

      तपाई क्षमताभन्दा पनि राजनीतिक आडमा न्यायाधीश नियुक्ति भएको भन्ने आरोप छ नि ?
      आरोप त जे पनि लाग्न सक्छ । त्यसको छानबीन गरेर पुष्टी गर्न सक्नुपर्छ । 

      अब तपाई के गर्नुहुन्छ ?
      तत्काल के गर्ने भन्ने विषयमा मैले निर्णय गरेको छैन । 

      तपाई राजिनामा दिनुहुन्छ कि ?
      म राजिनामा किन दिने ? प्रमाणित नभएको आरोपमा चुप लागेर बस्न मिल्छ कि मिल्दैन ? न्यायाधीशले नै झुटो आरोप लाग्दा चुप लागेर बस्ने कुरा त भएन नि । 


      राजिनामा दिनुभएन भने महाअभियोग लगाउने चर्चा छ नि ?
      त्यो त उहाँहरुले के गर्नुहुन्छ त्यसपछि भन्ने कुरा हो । 

      तपाईले प्रधानमन्त्री केपी ओलीलाई पनि भेट्नुभएको थियो । के कुरा भयो ?
      प्रधानमन्त्रीले मलाई भन्नुभएको थियो, “तपाईले चरित्रमा दाग लाग्ने काम गर्नुभएको होइन ।” मेरो विषयमा प्रधानमन्त्री सकारात्मक नै हुनुहुन्थ्यो ।


        सम्बन्धित समाचारहरु