चैत १६,२०८० / १२ : १० अपरान्ह / 2024-03-29 12:10 pm
      • param ad
      • furniture
      • veera Incorporation

      समकालिन निबन्धबारे निबन्धकार कुमारी लामा (भिडियो सहित)

      - ५ वर्ष अगाडि
      असार २६,२०७५

      धादिङ्गको तत्कालीन छत्रे देउरालीमा जन्मनु भएकी कुमारी लामाले ६० को दशकदेखि आफ्नो लेखन यात्रा शुरु गर्नुभएको हो । उहाँको निबन्ध संग्रह “उज्यालो अन्धकार” २०७१ सालमा प्रकाशित भएको थियो । प्राध्यापन पेशामा रहेर पनि नेपाली साहित्यिक अभियानमा योगदान गर्दै आउनुभएकी कुमारीका फुटकर निबन्ध, समिक्षा तथा समालोचनाहरु पढ्न पाइन्छ । उनै लेखिका सगँ चिनारी पोष्टका लागि ओम प्रकाश निरौलाले लिनुभएको अन्तवार्तामा आधारित 

      नेपाली निबन्धको इतिहास कस्तो छ ?

      पुरानो इतिहासका कुरा नगरी नेपाली निबन्धको आधुनिक इतिहासलाई हेर्ने हो भने यो लक्ष्मी प्रसाद देवकोटाको अषाढ पन्ध्र भन्ने निबन्धबाट शुरु भएको मान्न सकिन्छ । यससगै नेपालमा आत्मपरक शैलीको निबन्धको शुरुवात भएको मान्न सकिन्छ । अषाढ पन्ध्र ले श्रम संस्कृतिको शुरुवात गर्नु भएको थियो । 

      देवकोटा पछाडिका निबन्धकारलाई सम्झनु पर्दा कसलाई सम्झिनु हुन्छ ?

      देवकोटा पछाडि नेपालको निबन्धमा उत्कृष्ट योगदान गर्ने निबन्धकार शङ्कर लामीछाने हुन् उनले निबन्धमा नयाँ प्रयोग गरे । उनले चेतन प्रवाहको शैलीलाई आफ्नो पुस्तक एब्स्ट्रयाक्ट चिन्तन प्याज मार्फत पाठकहरु माझ लिएर आए । चेतन प्रवाहलाई प्रचुर रुपमा प्रयोग गर्ने काम उहाँले गर्नुभयो । 

      http://www.chinaripost.com/pagegallery/2018071042.jpg

      उहाँ पछि कति समय चेतन प्रवाह शैलीको अनुकरण भयो त नेपालमा?

      यति नै बर्ष भयो भन्ने त हुदैन तर पनि केही  समय त्यसले नेपाली निबन्ध लेखनमा प्रभाव पार्यो । पछि आएर तारानाथ शर्माले नया प्रयोग भनौ यात्रा बर्णन लाई सुन्दर ढगंले नियात्राका रुपमा भित्रयाउनु भयो । त्यसपछि कृष्ण चन्द्रसिहं प्रधानले नया शैली ल्याउनु भयो अर्थात शुष्म विश्लेषण र दार्शनिक चिन्तनलाई निबन्धमा लिएर आउनुभयो । सामान्य लाग्ने बिषयलाई पनि मिहिन ढगंले प्रस्तुत गर्नुभयो । यसरी आ आफ्नै चिन्तनहरु प्रयोगहरु हामी पाउन सक्छौ । पछिल्लो समयमा बरु मलाई के लाग्छ भने मोमिलाले आफ्नो पुस्तक इश्वरको अदालतमा आउटसाइडरको बयान भन्ने पुस्तकमा कताकता चेतनप्रवाह शैली पाउन सकिन्छ । 

      बर्तमान अवस्थामा वा भनौ ६० को दशक पछाडि नेपाली निबन्धको अवस्था के छ ? यो कतातिर छ ?

      हुन त अहिले निबन्ध सङकटमा छ भन्ने पनि केही विश्लेषकहरुले भन्ने गरेका छन् । चिन्तनको क्षेत्रलाई बिशेष केन्द्रमा राखेर लेख्ने निबन्ध कम भएपनि अहिले आएर निबन्धको क्षेत्र बिस्तार भएको पाइन्छ । अहिले पियोर निबन्ध भन्दा पनि निबन्धका अन्य उपविधाहरु जस्तो की यात्रा निबन्ध वा नियात्रा, वा संस्मरण वा अटोबायोग्राफी तथा ब्यक्तिचित्र हामी अति नै पाउछौ । यसका साथै रचनागर्भ पनि आएको छ । यसले गर्दा निबन्धको क्षेत्र  बिस्तारित भएको पाउन सकिन्छ । 

      अहिले महिलाको उपस्थिति कस्तो छ नेपाली निबन्धमा ? 

      महिलाहरुको कुरा गर्नुपर्दा हामीले सुधा त्रिपाठीलाई संम्झनु पर्छ । नारी संवेदनाका विषय र त्यसपछि राजनीति समसामयीक परिवेशलाई मिलायर उहाँले धेरै राम्रा निबन्ध लेख्नुभएको छ । अर्को लेखिका शारदा शर्मा हुनुहुन्छ । उहाको अग्निस्पर्श भन्ने पुस्तक एकदमै उत्कृष्ट छ । उहाँका नियात्राहरु पनि हामी पढ्न पाउछौ । त्यस्तै रजनी ढकाल पनि हुनुहुन्छ । त्यस्तै गैर आख्यान लेखाइलाई हेर्ने हो भने झमक कुमारी घिमिरे हुनुहुन्छ । उहाको जीवन काँडा की फूल भन्ने कृति अत्यन्तै राम्रो छ । ६० को दशकपछि महिलाहरुले पनि आफ्नो दर्बिलो उपस्थिति राख्न सफल छन् भन्ने मेरो विचार हो । 

      महिलाहरुको लेखनको केन्द्रविन्दु चाही के छ ? 

      खासगरी नारी संवेदना नै हो । त्यसमा पनि अहिले सिमान्तकृतका समस्याहरु आएका छन् । उनीहरुका विषयहरुले साहित्यमा समावेश भएका छन् यो एकदमै खुशीको कुरा हो । यसका साथै हामी सबैलाई छुने खालका महिलाका विषय पनि समावेश भएका छन् । 

      तपाइको आफ्नो लेखाइमा चाही कस्तो कस्तो मुद्धाहरु उठाउनु भएको छ ? 

      मेरो उज्यालो अन्धकार भन्ने पुस्तकमा मैले नयाँ प्रयोग जानी नजानी गरेको छु । मैले पात्र केन्द्रीत गरेर निबन्ध लेख्ने प्रयास गरेको छु । मुलतः अनुभूति प्रदान नै छ । 

      यो निबन्ध संग्रहमा तपाइलाई सबभन्दा मन परेको निबन्ध चाही कुन हो ? 

      आफ्नो लेखन सबै मन पर्ने भइनै हाल्यो (हासो) । त्यसमा पनि भन्नु पर्दा भुइकुहिरो र कान्छी तामाङ्ग भन्ने चाही बास्तविक पात्र भएर पनि होला मलाई उत्कृष्ट लाग्छ । कान्छी तामाङ्ग जो धादिङ्गको छत्रे देउरालीकी पात्र हुन । यसमा जीवन्तता छ । यसलाई पाठकले पनि अति नै मन पराउनुभयो । एउटी केटी जसले पढाइ लेखाइ सबै कुरा गुमाएर आफ्नो जीवनमा गरेको सघंर्षलाई उक्त निबन्धमा प्रस्तुत गरेको छु । उसले आफ्ना सबै खुशी, चाहाना हरुलाई दबाएर गरेको जिम्वेवारी बहनलाई यसमा लेखिएको छ । 

       

        सम्बन्धित समाचारहरु