वैशाख १७,२०८३ / ०१ : २९ अपरान्ह / 2026-04-30 01:29 pm
      • param ad
      • furniture
      • veera Incorporation

      म महिलाप्रेमी होइन, महिलाचाहिँ मेरा प्रेमी हुन्

      - ७ वर्ष अगाडि
      जेष्ठ १३,२०७५

      हाम्रो घरमा, सायद बुबा कम्युनिस्ट पार्टीको सदस्य भएका कारण, ‘सोभियत साहित्य’ भन्ने पत्रिका आउँथ्यो । ८ वर्षको थिएँ । त्यहिताका रेडियो नेपालमा रचना सुनाउन जाने बेला भइसक्यो तर मसँग कुनै रचना थिएन । अचानक त्यो पत्रिकाको नयाँ अङ्क मेरो हातमा र्पयो । पल्टाउँदा त्यसभित्र छन्दमा लेखिएको एउटा कविता देखेँ । कविताभित्रको आठ लाइन कविता सारेँ र पत्रिका कसैले नभेट्ने गरी गायब पारेँ । यसरी सारेको रचना रेडियो नेपालमा गएर सगर्व आफ्नो नाममा वाचन गरेँ । मैले त काम मात्रै टारेको थिएँ तर सञ्चालकद्वय निरोधराज पाण्डे र धना लामाले मलाई अँगालो मारेर स्वाबासी दिए । यस्तो उत्कृष्ट रचना गरेकामा जुरुक्कै बोके । जब रेडियो नेपालबाट बाहिर आएँ, मलाई त्यो घटनाले भत्भती पोल्न थाल्यो । म लाजले घर जानै सकिन । भद्रकाली मन्दिर र सिंहदरवार फन्को मार्दामार्दै रात र्पयो । यो घटनाले यति पीडा दियो कि मैले कविता लेख्नै सकिन ।

      तर आज चर्चित कवि हुनुहुन्छ । कसरी ?

      म १६ वर्षको हुँदा केही पारिवारिक दुर्घटना भए । बुबाले पुस्तक छाप्न घर नै बन्धकी राख्नुभएको कुरा पनि थाहा भयो । एउटा सुन्दर फूलबारीजस्तो मेरो घर तहसनहस भयो । यी विभिन्न कारणले म द्रवित भएँ । यस्तो बेलामा कविताका फोहोरा नै छुट्न थाले । कस्तो भने लगातार ८ वर्ष मैले दैनिक दुई–चारवटा कविता–गीत लेख्न थालेछु । यो बेला हजारौं कविता लेखियो होला । आज सम्झँदा लाग्छ, ती आठ वर्ष मेरा कवि जीवनका प्रारम्भिक दिन थिए । तीमध्ये धेरै उत्कृष्ट थिएनन् तर आजको विप्लव बनाउन त्यसले राम्रै काम गरेका थिए ।

      तर जुन गतिमा तपाईंका कृति आउनु पथ्र्यो, ती आएका छैनन् । नेपालीमा जम्मा एउटा उपन्यास र एउटा कविता सङ्ग्रह मात्र प्रकाशनमा छन् ।

      अंग्रेजीमा अर्को एउटा सङ्ग्रह पनि छ । त्यो पुस्तक फ्रेन्च र स्पेनिसमा अनुवाद भएका छन् ।

      हो, तर यो उमेरसम्म पुग्दा यति थोरै किन ?

      लेखक भएपछि धेरै पुस्तक निकाल्नुपर्छ भन्नेमा मलाई विश्वास छैन । थप दुईवटा कविता सङ्ग्रह निकाल्छु होला । त्यो पनि निश्चित कालखण्डमा लेखिएका कविताहरू तयार भएर बसेका हुनाले त्यस्तो लागेको हो । मलाई कुनै पुस्तक निकाल्नभन्दा लेखिएको कुरालाई राम्रो बनाउन बढी समय लाग्छ । जस्तो ‘अविजित’कै कुरा गरौँ । त्यो उपन्यास सन् २००८ मा लेख्न सुरु गरेँ । पूरा गर्न ५ वर्ष लाग्यो । तर नौ पटक त्यस पुस्तकमा परिभ्रमण गरेँ । यसरी परिभ्रमण गर्न (पुनर्लेखन चाहिँ नभनौं क्यारे) थप ५ वर्ष लाग्यो । मलाई बिन्दास भएर हिँड्न नै फुर्सद छैन । कुन बेला लेख्नू ?

      बिन्दासको कुरा आइहाल्यो । यस्तो स्वभाव कसरी जन्मियो होला ?

      सायद कवि भएर होला ।

      कवि त अरू पनि धेरै छन् नि ?

      तर विप्लव प्रतीक म मात्रै छु ।

      तपाईं अमेरिका पुग्नुभयो । तपाईंका भाइबहिनी र साथीहरू पनि उतै हुनुहुन्छ । तर तपाईं एक्लै फर्कनुभयो, एक्लै बस्नुहुन्छ, किन होला ?

      सालमन नामको या यस्तै माछाको एउटा जात हुन्छ । त्यो माछा कुनै खोलाबाट बग्दै बग्दै समुद्रसम्म पुग्छ । जब समुद्रको गहिराइ नापिसक्छ, ऊ पुनः खोलाको विपरीत धारसँग लड्दै लड्दै पुरानै ठाउँमा मर्न आइपुग्छ । सायद म पनि त्यस्तै माछा हुँ, जो नेपालमा मर्न चाहन्छु । यसको अर्थ म मर्न मात्र नेपाल आएको होइन, ४–५ वर्ष अमेरिकारूपी समुद्रमा डुबुल्की मारेर हेरेँ, अमेरिकालाई चिनेँ, त्यसपछि फर्किहालेँ । त्यो देशमा मैले जे जे गर्नसक्थेँ, गरिसकेँ । जे जे लिनसक्थेँ, लिएँ । त्योभन्दा बढ्ता मैले पाउनुपर्ने कुरा केही थिएन ।

      मैले सुनेअनुसार अमेरिकामा तपाईंले एक दिन पनि काम नगरी घुम्नु भयो रे । एउटा नेपालीलाई यसो गर्न सम्भव छ ?

      सम्भव रहेछ र त घुमेँ । नत्र एउटा सहरबाट अर्को सहरसम्म नपुगी मर्ने धेरै अमेरिकी भेटिन्छन् त्यहाँ । नेपालीको त कुरै छाडिदिऊँ । मेरो विचारमा मानिसमा इच्छाशक्ति हुनुपर्छ । उसले जेसुकै पनि गर्न सक्छ । मैले पनि दुई चार महिना काम नगरेको होइन । त्यो पनि लेखन र अनुवादको । बाँकी समय यसरी घुमेँ, सायद कुनै पनि नेपाली म जसरी घुम्दैन । वा घुम्ने इच्छा राख्दैन । लरीमा, रेलमा, हवाइजहाजमा र आफैं ड्राइभिङ गरेर सबै तरिकाले अमेरिकालाई चाखेँ ।

      लरीमा कसरी घुम्नुभयो ? यसरी घुम्नुको कारण के थियो ?

      अमेरिकामा १८ चक्के मालवाहक लरी असाध्यै अग्लो हुन्छ । त्यसमा चढेर रोडमा हेर्दा गाडीहरू, मान्छेहरू स–साना देखिन्छन् । चिलजस्तै माथिबाट तलका गतिविधि नियाल्न सकिन्छ । म अमेरिकाका हरेक सहर, गाउँलाई चिलजस्तै माथिबाट हेर्न चाहन्थेँ, त्यसका लागि मैले एउटा लरी ड्राइभरसमक्ष आफ्नो इच्छा जाहेर गरेँ । उसले म कवि भएको थाहा पाएपछि सँगै हिँड्ने अनुमति दियो । त्यो लरीमा २ महिनासम्म लगातार हामीले २० हजार किलोमिटर भन्दा बढी यात्रा र्गयौं । उक्त लरी करिब करिब अमेरिकाका सबै राज्य र सहरहरूमा पुग्यो । यसबाट अमेरिकाको जनजीवन राम्रैसँग अनुभव गर्न पाएँ ।

      गाडीमा आफैँ ड्राइभिङ गरेर घुम्नुको कारण के थियो ?

      लरीले सम्पूर्ण अमेरिकाका सहरहरू त घुमायो तर मैले मेक्सिकोको बोर्डरदेखि क्यानडाको बोर्डरसम्म अमेरिकालाई वारपार गर्ने चाहना पूरा गर्न भने सकिन । खासमा लरीजस्तो अग्लोबाट होइन, भुइँको नजिकबाट पनि म अमेरिकालाई हेर्न चाहन्थेँ । त्यति मात्र होइन, मेक्सिकोदेखि क्यानडासम्मको यात्रालाई अरूको इसारामा होइन, आफ्नै मनमौजीमा पार गर्न चाहन्थेँ । त्यसका लागि आफंैले ड्राइभिङ गर्नुबाहेक अर्को विकल्प थिएन ।

      रेलको यात्रा कति गर्नुभयो । अरू यात्राभन्दा रेलको कति फरक हुँदो रहेछ ?

      रेलमा यात्रा गर्दा म भुइँमै छु जस्तो अनुभव हुन्छ । किनभने यसको प्रत्यक्ष सम्बन्ध लिकसँग हुन्छ । जुन साह्रै होचो हुन्छ । रेलमा यात्रा गर्दा म लाउन्जमा यात्रा गर्छु । लाउन्जमा दुवैतिर सिसा मात्रै लगाइने भएकाले बढी खुल्ला र प्राकृतिक हुन्छ । रुस, जर्मनी र चीनका रेल यात्रा पनि मैले यसैगरी गरेको छु । अमेरिकाको मोन्टोनोबाहेक सबै राज्य र सहरसम्म मैले रेल यात्रा गरेको छु । र, तपाईंलाई थाहै होला, यसरी रेलमा यात्रा गर्नु हवाइजहाजमा यात्रा गर्नुभन्दा महँगो हुन्छ ।

      मेरो शरीरले बोतलका बोतल रक्सी खपत गर्न थालेपछि घटाउने जुक्तिका रूपमा महँगो रक्सी खान सुरु गरेको हुँ । आखिर ३ पेग खाँदा र ३ बोतल खाँदा मेरो शरीरमा खासै भिन्नता आउँदैन

      तपाईंजस्तो बेरोजगार मानिसले अमेरिकाको यस्तो महँगो यात्रा कसरी गर्नुभयो भन्ने प्रश्न मलाई मात्रै होइन, यो अन्तरर्वार्ता पढ्नेहरूको मनमा आउँदो हो । कतिपयले झुटो कुरा र्गयो भन्लान् ?

      मैले अरूलाई बखान गरौंला भनेर त्योे यात्रा गरेको थिइन । अरूले पत्याउनु पर्छ भन्ने आग्रह पनि छैन । तर एउटा कुराचाहिँ सत्य हो, मानिसले इच्छा गरेपछि असम्भव पनि सम्भव हुँदो रहेछ । लरीको यात्रा गर्दा त्यसका ड्राइभरको साथ लिएँ । उनी एक्ला थिए, मलाई साथ लैजान गाह्रो भएन । मेक्सिकोदेखि क्यानडासम्म अमेरिकाको वारपार यात्रा गर्दा साथीको गाडी लिएँ । उनले सहयोग गरे । ट्रेनको यात्रा गर्नुअघि मैले चिट्ठा किन्न सुरु गरेँ । भाग्यवश धेरैपटक मलाई साना ठूला चिट्ठा परिरहे । अमेरिकाभरि नेपाली छरिएका छन्, त्यसमध्ये धेरैले मेरो स्वभाव चिनेर सहायोग गरे । खाना बस्न पैसा लागेन । कतिपय अवस्थामा पैसा अभाव हुँदा नेपालको साथी उत्तम कार्कीलाई फोन गरेँ । मेरो मूर्खतामा हाँस्दै उसले पैसा हालिदिन्थ्यो । यसरी असम्भव कुरा सम्भव भयो । त्यति मात्रै होइन, अमेरिकाका केही पुग्नैपर्ने भनिएका ठाउँहरूमा टेन्ट गाडेर दुई–चार दिन पनि बिताएँ, जस्तो ग्रान्ड क्यानियन ।

      नेपाल पनि करिब करिब घुमिसक्नु भयो, अब यात्राको इच्छा र्मयो कि बाँकी छ ?

      बाँकी नै छ । पैसा जम्मा गर्न नसकेर मात्र रोकिएको हुँ । खासमा म यसै वर्ष अफ्रिकाको यात्रामा जाँदै छु । अफ्रिका सायद एक–दुई वर्षमा घुमिसक्छु होला । त्यसपछि युरोप घुम्ने इच्छा छ । मेरो यात्रा अरूजस्तै भुइँ टेक्ने मात्रै हुँदैन । जहाँ पुग्छु, म त्यहाँका सबै कुरा पूर्ण रूपमा पिउन चाहन्छु । पचाउन चाहन्छु, ताकि लेखनमा त्यसको सुगन्ध उतार्न सकियोस् । पूर्ण रूपमा त्यसको मात लागोस् ।

      यात्राबाहेक तपाईं रक्सीको सौखिनका रूपमा चिनिनुहुन्छ । रक्सीको लत कसरी बस्यो ?

      काठमाडौंमा जन्मे–हुर्केकाले गरिब भए पनि नेवारी संगतमा परेर रक्सी चाखियो । मलाई याद छ, १६ वर्षमा प्रवेश गर्दै जाँदा साथीको विवाहमा मैले यसरी पिएछु, भोलिपल्ट पनि म उभिन नसक्ने भएछु । त्यो बुबाले थाहा पाउनुभयो ।

      बुबाले भन्नुभयो, ‘म रक्सी नखा भन्दिन तर आफ्नो कमाइले खा ।’ बुबाको यो वचन राख्न जुन दिनदेखि कमाउन थालेँ, त्यही दिनदेखि पिउन थालेँ । खासमा के भइदियो भने बुबाले यसो भनेको केही महिनामै मेरो जागीर भयो । र, मसँगै काम गर्ने साथी नामुद जँड्याहा निस्कियो । उसलाई साथ दिँदादिँदै पियक्कड भइयो ।

      सबैभन्दा बढी कतिसम्म पिउनुभयो ?

      ६ लिटरसम्म ह्वीस्की पिएको सम्झना छ । ३ बजे अपरान्हदेखि राति दश बजेसम्म लगातार पिएको पनि सम्झना छ । ४० को दशकपछि भने पिउने क्रम घटाउँदै लगेँ र हाफ बोतलमा आएर अड्किएँ । सन् १९९२ मा आएपछि त्यसलाई तीन पेगमा सीमित गरेँ ।

      तपाईं संसारका महँगोमध्ये मानिने रक्सी पिउने व्यक्तिमा मानिनुहुन्छ । एउटा बेरोजगार कविले यति महँगो रक्सी कसरी जुटाउनसक्छ ?

      खासमा मेरो शरीरले बोतलका बोतल रक्सी खपत गर्न थालेपछि त्यसलाई घटाउने जुक्तिका रूपमा महँगो रक्सी खान सुरु गरेको हुँ । आखिर ३ पेग खाँदा र ३ बोतल खाँदा मेरो शरीरमा खासै भिन्नता आउँदैन । यही कारण बरु पिउँदिन तर आफ्नो ब्राण्ड घटाउँदिन । सन् १९९४ यता मैले रेगुलर स्कच सुरु गरेको हुँ । यो पनि सस्तो भयो जस्तो लागेपछि सन् २००८ देखि मैले आफूलाई प्रिमियम ब्राण्डमा बढोत्तरी गरेँ । जहाँसम्म बेरोजगार कविलाई महँगो रक्सी कसरी जुट्छ भन्ने कुरा छ, त्यो अमेरिका घुमेजस्तै हो । मान्छेले चाहने हो भने भने जसरी पनि जुट्दो रहेछ ।

      तपाईं महिलाप्रेमी कविका रूपमा बदनाम हुनुहुन्छ । यस विषयमा केही भन्न मन लागेको छ ?

      म महिलाप्रेमी होइन, महिलाचाहिँ मेरा प्रेमी हुन् । महिलाले मलाई माया गर्छन् । स्नेह गर्छन् । आफ्नो बनाउँदा खुसी मान्छन् । मैले उहाँहरूको खुसीको सम्मान गरेको मात्रै हुँ । कसैलाई प्रेम गर्नु, प्रेम दिनु कसरी गलत हुन्छ ? बेकारमा मेरो बदनाम (यदि बदनामी भएको हो भने) गर्ने प्रयास भएको रहेछ ।

      धेरै महिलाको संगत गर्दा अनुभव गरेको कुरा के हो ? एक महिलाभन्दा अर्को महिला कति फरक हुँदा रहेछन् ?

      खासमा महिलाको जात एउटै हो । उनीहरू फरक छैनन् । फरक केमा मात्रै छ भने उनीहरूको बाल्यकाल कस्तो थियो, उनीहरूको लालनपालन कसरी भयो, उनीहरूले कस्तो संस्कार पाए, उनीहरूको शिक्षा र जीवनको दृष्टिकोण कसरी बन्यो ? यी सबै कुराले एक महिलाभन्दा अर्को महिला भिन्न हुँदा रहेछन् । मैले अनुभव गरेको कुरा के भने महिलाहरू गहिरा ज्ञान दिने पुस्तक हुन् । हरेक महिलाले मलाई एउटा नयाँ ज्ञान दिएर जाने गरेका छन् । केटीहरूको संगतमा मैले ज्ञान बाहेक अज्ञान केही पाइन ।

      वैवाहिक जीवनका बारेमा केही भन्न मन लागेको छ ?

      मैले आफ्नो वैवाहिक जीवन बचाउन सकिन । सायद कवि हुनुको मूल्य चुकाएँ ।

      तपाईंले नेपाली महिलाहरूको पनि धेरै संगत गर्नुभयो र विदेशी महिलाको पनि । यी दुईबीच के फरक हुुँदो रहेछ ?

      विदेशी महिलाहरूमा पुरुषलाई आफ्नो वशमा राख्ने बानी हुन्छ । उनीहरू पुरुषमाथि हावी हुन्छन् । नेपाली महिला भने पुरुषलाई पुरुष हुन दिन्छन् । उनीहरू विश्वास र प्रेम हुन्जेल पुरुषको सात खुन पनि माफ गर्न सक्छन् । जुन दिन विश्वास टुट्छ, चण्डीको रूप धारण गर्छन् ।

      तपाईंले जस्तो जीवन बाँच्नुभयो वा बाँचिरहनुभएको छ । त्यसप्रति कुनै गुनासो वा पश्चात्ताप छ ?

      पटक्कै छैन । जसरी गुलाबले काँडा बोक्नु परेकामा गुनासो गर्दैन, ठीक त्यसैगरी विप्लव प्रतीक केही कमजोरी बोकेरै पनि फूल नै हो । मलाई मेरो जीवनप्रति कुनै पश्चात्ताप छैन र ‘महान् हुँ’ भनेर गौरवबोध पनि छैन । जीवनमा जे अघि आउँछ, उत्कृष्ट गर्ने प्रयास गर्ने हो । बाँकी कुरा सोच्ने फुर्सद कसलाई छ र ?

      नेपाली साहित्य, संगीत र कला क्षेत्रमा उत्कृष्ट व्यक्तिहरूको संगत गर्न रुचाउनुहुन्छ । इतिहासले गौरव गर्ने कलाकार–साहित्यकार हामीसँग छन् भन्ने ठान्नुुहुन्छ ?

      अवश्य छन् । न्ह्यु बज्राचार्य नेपाली संगीतका धरोहर हुन् । सुगम संगीतमा दीप श्रेष्ठजस्तो प्रतिभा जन्मन गाह्रो छ । दीप श्रेष्ठले चाहने हो भने अहिलेसम्म नभएको तरंग ल्याउन सक्छन् । अभया सुब्बा उस्तै प्रतिभाशाली रक स्टार हुन् । तर यस्ता प्रतिभालाई पब्लिकले चिन्दैन किनभने राज्यले उनीहरूलाई चिनेको छैन । मिडियाले त झन् चिन्ने कुरा पनि आउँदैन । विदेशमा साहित्य, कला संगीतमा कलम चलाउनेलाई उत्कृष्ट मानिन्छ, नेपालमा राजनीतिक विषयमा लेख्ने लेखक–पत्रकारलाई ठूलो मानिन्छ । यी सबै कारणले हामीसँग प्रतिभा छन् तर फ्रस्टेसनमा छन् । हामीले उनीहरूको उपस्थिति महसुस गर्न नसकेको मात्रै हो । किनभने उनीहरूको प्रतिभा चिन्ने, उनीहरूको बारेमा लेखिदिने र उनीहरूलाई काम गर्ने वातावरण बनाइदिने मानिस छैनन् ।

      तपाईंलाई पनि एक्लै बस्दा दिक्क लाग्दो हो । घरमा एक्लै बस्दा भविष्यको चिन्ता अथवा डर लाग्दैन ?

      साधक एक्लै बस्नु राम्रो हो । डराउँछ भने ऊ साधक होइन । म खाना बनाउँछु र तरकारीसँग कुरा गर्छु । ‘ए तरकारी, तँलाई काटेर पकाउन विवश छु नरिसा है’ भनेर फकाउँछु । उसलाई भन्छु, ‘हेर प्यारी, बाहिर राम्रो खान पाइँदैन, रेष्टुराँको मूल्य बढ्यो तर गुणस्तर बढेन ।’ संगीत सुन्छु र एक्लै नाच्छु । जहाँसम्म भविष्यको कुरा छ, जुन बेला जे हुनु छ, त्यो भएरै छाड्छ । त्यसमा डराउनु पर्ने कुरा के छ ? जुन दिन जीवन र पैसाको अभाव होला, देखा जाला । अहिलेसम्म पैसा र जीवनका लागि कसैसँग भिख मागिएन, भोलि पनि मागिँदैन । सायद यही कुरा बुझेर होला, ‘युनिभर्स’ (ब्रम्हाण्ड)ले आजसम्म पनि मेरो इच्छा पूरा गरिरहेको छ र भोलि पनि पक्कै पूरा गर्छ ।

      अनलाईन खबरवाट

        सम्बन्धित समाचारहरु