वैशाख १७,२०८३ / ०१ : २८ अपरान्ह / 2026-04-30 01:28 pm
      • param ad
      • furniture
      • veera Incorporation

      ओली र प्रचण्ड मात्रै नेकपाका चालक होइनन्, हामी पनि हौँ: खनाल

      - ७ वर्ष अगाडि
      जेष्ठ ८,२०७५

      नेपाल कम्युनिष्ट पार्टी गठन भयो । तपाईलाई कस्तो लागेको छ ?

      दुईवटा पार्टीको एकता भनेको देश र जनताका लागि आवश्यकता थियो । यो आवश्यकतालाई ऐतिहासिक रुपमा सफल बनाएका छौँ । एकताले सकारात्मक परिवर्तनको बाटो खुलेको छ ।

      पार्टी एकता हुँदा तपाई किन सहभागि हुनुभएन ?
      विशेष कारणले गर्दा म चिन गएको थिँए । औषधि उपचारका लागि गएको थिएँ । पार्टी एकता कुन दिन हुन्छ भन्ने थाहा थिएन । दुई,तीन दिन त हुँदैन होला भनेर म चिन गएँ । एकता हुँदैछ भनेर साथीहरुले सुचना पनि दिएनन् ।

      तपाईलाई किन सुचना दिइएन ?
      अचानक योजना बन्यो भनेर साथीहरुले भन्नुभयो । त्यसकारण महत्वपूर्ण कार्यक्रममा सहभागि हुन पाइन । तर पार्टी एकताको दिन व्यवस्थापन भएन ।

      तपाईले आफूमाथि अन्याय भएको भन्ने अभिव्यक्ति पनि दिनुभयो । खास असन्तुष्टी केमा हो ?
      म नभएको बेला मर्यादाक्रमलाई जुन ढंगले तलमाथि गरियो, यसले मलाई अन्याय भएको छ । यसबारे सचिवालय बैठकमा आफ्नो भिन्न मत राखेको छु । मेरो मर्यादाक्रम पुनस्थापित गर्नुपर्छ भनेर माग राखेको छु ।

      तर अब मर्यादाक्रम फेरबदल नहुने सम्भावना देखिएको छ । नेकपाको तपाई चौँथो बरियताको नेता बन्नुभयो । अब के गर्नुहुन्छ ?
      पार्टीभित्र मेरो आफ्नो अन्तरसंघर्ष चलिरहन्छ । पार्टीभित्र नै यि कुराहरु राखिरहनुपर्छ ।

      पार्टीभित्र तपाईलाई साथ दिने मान्छेहरु छन त ?
      न्याय अन्याय भन्ने कुरा त छुट्टिनुपर्छ नि । म आफू पनि त्यसबारेमा सोच्दै जान्छु । आवश्यकता पर्यो भने यो एजेण्डा लिएर देशभरी जान्छु । सिङ्गो देशले साथ दिन्छ नि । सबै नेपाली अन्यायका विरुद्ध हुन्छन् ।

      तर पार्टी एक हुनु नै ठूलो कुरा हो नि । किन पदमा विवाद गर्ने ?
      अहिले मलाई नेकपा गठन भएको कुराले नै खुशी बनाइरहेको छ । पार्टी एकतावद्ध भएको छ । पार्टीभित्र भएका हिजोका फोहर मैला सबै फ्याँकिन्छ । नयाँ पार्टी गठन भएपछि समग्र राजनीतिक परिस्थिती पनि बदलिएको छ । कतिपय सानामसिना कुरा तिर लानु पनि हुँदैन । तर अन्यायका विरुद्धमा निरन्तर लड्नुपर्छ ।

      नेतृत्वको विरुद्ध पनि जान सक्नुहुन्छ ?
      म कसैका विरुद्ध होइन, न्यायका निम्ती र गलत कुराहरुका विरुद्ध लड्छु । पार्टी एकतालाई कमजोर नबनाउने गरी अगाडि बढ्छु । गलत चिन्तका विरुद्धको लडाई गहिरिन्छ ।

      तपाईले अन्यायको विरुद्धमा लड्छु भन्दा पार्टी एकतापछि जनमत दुविधामा पर्दैन ?
      कम्युनिष्ट पार्टी भनेको समग्रमा न्यायको पक्षधर हुन्छ । तर पार्टीभित्रै अन्याय देखापर्न थाल्यो भने त्यसले राम्रो हुँदैन । कम्युनिष्ट पार्टीले सबैभन्दा पहिला आफूभित्र न्यायिक स्थिती सृजना गर्नुपर्छ ।

      ओली र प्रचण्डले पार्टीलाई राम्रोसँग संचालन गर्न सक्नुहुन्छ ?
      दुईजना होइन, जेट विमानमा त्योभन्दा बढि पाइलट पनि हुन्छन् । ओली र प्रचण्ड मात्रै चालक होइनन् । धेरै छन् । टिमले चलाउँछ । व्यक्तिले कम्युनिष्ट पार्टी चलाउँदैन । सामुहिक नेतृत्वमा चल्ने संस्था हो ।

      तर तपाईको भूमिका त गौण देखियो नि ?
      भूमिका धेरै प्रकारका हुन्छन् ।

      अबको महाधिवेशनमा नेतृत्वका लागि तपाई दाबी गर्नुहुन्छ ?
      एकताका महाधिवेशनमा कोको केका लागि उठ्छन भन्ने कुरा त्यही बेला थाहा हुन्छ । महाधिवेशनको प्रक्रिया सुरु भएपछि विभिन्न पात्रहरु पनि देखिन्छन् ।

      तपाई असन्तुष्ट नेताहरुलाई साथ लिएर अगाडि बढ्ने हो ?
      पार्टीभित्र न्याय र समानता स्थापना गर्नका लागि निरन्तर संघर्ष गरिरहन्छु । पार्टी सुदृढीकरणका लागि म लागिरहन्छु ।

      सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई कसरी लिनुहुन्छ ?
      नीति तथा कार्यक्रम राम्रो छ । यसले पाँच वर्षभित्र देशलाई रुपान्तरण गर्ने सम्भावना देखिएको छ ।

        सम्बन्धित समाचारहरु