वैशाख १७,२०८३ / ०१ : २७ अपरान्ह / 2026-04-30 01:27 pm
      • param ad
      • furniture
      • veera Incorporation

      नारायणमान बिजुक्छेको नजरमा पाका नेता को कस्ता ?

      - ८ वर्ष अगाडि
      चैत २४,२०७४

      कृष्ण आचार्य काठमाडाैँ,

      नेपाली राजनीति लामो समय अस्थिरताबाट गुज्रियो । त्यसको दोष नेतामाथि थोपारिने गरिन्छ । नयाँ संविधान जारी भएपछि प्रतिनिधि, प्रदेश सभा र स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । जनताले विकास र समृद्धिको सपना देखेका छन् । त्यसका लागि नेताहरूले दलीय र व्यक्तिगत स्वार्थभन्दा माथि उठ्न सक्नुपर्छ । यस्तो वातावरण बनाउन राष्ट्रिय राजनीतिमा महत्वपूर्ण स्थान ओगटेका नेताहरूको आ–आफ्नै जिम्मेवारी र भूमिका छन् ।

      नेपाली राजनीतिमा नेतृत्व तहमा रहेका र सधैँ चर्चामा आइरहने केही सदाबहार नेता छन् । पहिलो पुस्ताका केही नेताहरू जसले प्रजातन्त्र र गणतन्त्र स्थापनाका लागि आफ्नो सिंगो जीवन नै राजनीतिमा बिताए । अर्को युवा पुस्ताका नेताहरू जो गणतन्त्र स्थापनाका लागि लड्नुका साथै अब देशलाई विकास र समृद्ध बनाउने अभियानमा छन् । सर्वसाधारणले उनीहरूबाट तुलनात्मक रूपमा बढी अपेक्षा पनि गरेका छन् । यी दुई पुस्ताका नेताहरूको बानी, स्वभाव र व्यक्तिगत जीवनका अन्य विषयबारे उनीहरूकै समकक्षी नेताहरूबाट जान्ने कोसिस यो अंकमा गरिएको छ ।

      पहिलो पुस्ताका नेताहरूको विषयमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले चिरफार गरेका छन् भने युवा नेताहरूको विषयमा कांग्रेस नेता रामहरि खतिवडाले समीक्षा गरेका छन् । बिजुक्छे पुराना कम्युनिस्ट नेता हुन् । उनले पहिलो पुस्ताका अधिकांश नेताहरूको संगत गरेका छन् ।

      त्यस्तै, कांग्रेस युवा नेता खतिवडा युवाहरूबीच चर्चित छन् । समकक्षी युवा नेताहरूको क्षमता, काम, भूमिका र व्यक्तित्वलगायतका विषयमा उनले टिप्पणी गरेका छन् ।

      नारायणमान बिजुक्छेको नजरमा पाका नेता
      केपी ओली, प्रधानमन्त्री एवं एमाले अध्यक्ष

      स्वस्थ वक्ता तर लजिक नभएका 
      केपी ओलीजीसँगको मेरो चिनजान धेरै पहिलादेखिकै हो । प्रजातन्त्र पुनस्र्थापनाका लागि आन्दोलन गर्ने कुरा थियो । उहाँले मान्नुभएन । पछि माधव नेपालले सम्झाउनुभयो । म र नारायणकाजी श्रेष्ठजी गएर पनि कुरा ग¥यौँ । त्यसपछि उहाँ आन्दोलनमा सहभागी हुनुभयो । वास्तवमा उहाँलाई कांग्रेससँगको निकटता मन पर्दैनथ्यो ।

      उहाँ सिद्धान्तभन्दा संख्यामा बढी विश्वास गर्ने नेता हुनुहुन्छ । नाकाबन्दीको समयमा हामीले तपाईंले अडान लिएसम्म सहयोग गर्छौँ भनेका थियौँ । तर, ओलीजीले ‘के गर्नु तपाईंहरूको कम सिटसंख्या छ, अरू धेरै संख्या भएका साथीहरू हुनुहुन्छ’ भन्नुभयो । त्यसैले सैद्धान्तिक मुद्दामा उहाँ निकै कम विश्वास गर्नुहुन्छ ।

      भिजन छैन
      ओलीजीसँग आफ्नो कुनै भिजन छैन । अहिले पनि सरकारमा गएपछि म यी काम गर्छु भन्ने पूर्वतयारी गर्नुभएको छैन । ‘अरू देशमा पनि यस्तो भएको छ, हाम्रोमा पनि भइहाल्छ नि’ भनेर आश्वस्त पार्ने काम मात्र गर्नुहुन्छ । उहाँको जवाफमा कुनै लजिक छैनजस्तो लाग्छ । जे मनमा आयो, त्यही बोल्नुहुन्छ । समग्रमा भन्नुपर्दा म उहाँको आलोचक नै हुँ । हिजो पञ्चायती व्यवस्था रहेको, कांग्रेस हिँडेको बाटोमा उहाँले एमालेलाई डोहाेर्याउनु भएको छ ।

      स्वस्थ वक्ता
      उहाँ मनको कुरा लुकाउनुहुन्न । त्यसैले स्वस्थ वक्ताको रूपमा लिन्छु । साथै, छलछाम गर्ने स्वभाव पनि उहाँको छैन । तर, भित्री चालबाजी के छ भन्नेचाहिँ मैले अहिलेसम्म बुझ्न सकेको छैन ।

      शेरबहादुर देउवा, सभापति, कांग्रेस
      धेरै हलुका नेता

      देउवाजीलाई म निकै हलुका व्यक्तिको नेताका रूपमा लिन्छु । उहाँ कुनै पनि कुरामा गम्भीर हुनुहुन्न । ०४८ मा उहाँ गृहमन्त्री हुँदा मैले ‘प्रहरी आएर मेरो घरको सबै सामान उठाएर लग्यो । हामी ज्यानमारा भए पनि, जे भए पनि हाम्रो किताबचाहिँ दिनुस्’ भनेँ। तर, उहाँले ‘किताब दिन मिल्दैन बरु १०–१२ लाख कति चाहिन्छ लानुस्’ भन्नुभयो । यसरी उहाँ त्यतिवेला पनि गम्भीर हुनुहुन्नथ्यो र अहिले पनि त्यस्तै हुनुहुन्छ ।

      क्विक डिसिजन
      व्यावहारिक रूपमा चाहिँ उहाँ ठिकै हो जस्तो लाग्छ । कसैलाई कुनै सहयोग गर्नुप¥यो भने तत्काल एक्सन लिनुहुन्छ । ‘क्विक डिसिजन’ उहाँको राम्रो पक्ष हो ।

      पुष्पकमल दाहाल ‘प्रचण्ड’ 
      अध्यक्ष, माओवादी केन्द्र
      मै हुँ भन्ने भावना भएको नेता

      जनयुद्ध सुरु हुनुभन्दा अघि प्रचण्डजीले मलाई ‘ल दाइ हामीले यस्तो गर्न लाग्यौँ’ भन्नुभएको थियो । मैले ‘किन यस्तो गर्नुहुन्छ, नगर्नुस्’ भन्ने सुझाब दिएँ । उहाँले ‘तपाईंकै किताब पढेर हो’ भन्नुभयो । मैले किताबको नाम सोधँे । उहाँले भन्नु पनि भयो । तर, मेरो किताब युद्ध गर्न प्रेरित गर्ने खालको थिएन । उहाँले त्यसलाई गलत रूपमा बुझ्नुभएछ । मलाई अचम्म लाग्यो । उहाँको तरिका आफूले भनेको कुरा हुनैपर्छ भन्ने छ । मानौँ, कुनै कुरामा हस्ताक्षर गराउनु छ भने उहाँले भनेपछि सकियो । अरूको कुरा सुन्नुहुन्न । यो कुरा गलत छ । उहाँ आफूलाई नै सर्वश्रेष्ठ मान्नुहुन्छ ।

      व्यवहारमा ठीक
      मसँगको संगतका आधारमा उहाँलाई नियाल्नुपर्दा व्यवहारमा ठीक हुनुहुन्छ जस्तो लाग्छ । उहाँका कुराहरू पनि मलाई राम्रै लाग्छन् । त्यसैगरी, नमिलेका कुराहरू कसरी हुन्छ मिलाएर एउटा निष्कर्षमा पुर्याउन सक्ने खुवी उहाँको छ । जसरी हुन्छ असहमत पक्षलाई कन्भिन्स गराउनुहुन्छ ।

      झलनाथ खनाल, वरिष्ठ नेता, एमाले
      अडान लिन नसक्ने नेता

      झलनाथ खनाललाई निकै कम बोल्ने व्यक्तिका रूपमा मैले चिनेको छु । कसैसँग शत्रुता मोल्नुहुन्न । अरूको कुभलो चिताउनुहुन्न । ओछ्यान नबिगारी कोल्टे फेर्ने नेताको रूपमा म उहाँलाई लिन्छु । कतै बैठकमा भएको वेला उहाँ अडान लिन सक्नुहुन्न । अरूले ठीक भने ठीक, बेठीक भने बेठीक । बोल्नुपर्ने वेलामा नबोलेपछि मान्छेलाई चिन्न अलि गाह्रो हुन्छ । झलनाथजीलाई पनि त्यसैगरी चिन्न गाह्रो छ । मैले व्यक्तिगत रूपमा उहाँसँग त्यति संगत पनि गरेको छैन ।

      रामचन्द्र पौडेल, वरिष्ठ नेता, कांग्रेस
      विरोधी भनेपछि सहनै नसक्ने नेता

      म रामचन्द्रजीको आलोचक हुँ । एकपटक बिस्केट जात्राको समय थियो । उहाँ गृहमन्त्री हुनुहुन्थ्यो । प्रहरीद्वारा दिनभर भिड तितरबितर पार्ने काम भयो । त्यसपछि राति भक्तपुर नगरपालिकामा एक हुलले पुस्तकालयमा आगजनी गर्ने योजना बनाए । हामीले सूचना पाएपछि दुईवटा टोली बनाएर गयौँ । तर, त्यहाँ प्रहरी पहिल्यैदेखि लुकेर बसेको रहेछ । हामीमाथि रबरको गोली प्रहार भयो । थुप्रै साथी घाइते हुनुभयो । म बिरामी भएकाले त्यहाँ गएको थिइनँ र बचँे । भोलिपल्ट हामीले घटनाको नक्सांकन गर्यौँ। मिटिङ डाक्यौँ । त्यहाँ गृहमन्त्रीलाई पनि बोलायौँ । मैले नक्सा अघि राखेर उहाँलाई ‘तपाईंले योजनाबद्ध तरिकाले यस्तो गर्नुभयो’ भनँे । करिब दुई घन्टा मैले उहाँलाई गाली गरेँ । तर, उहाँले ‘होइन’ भन्नुभएन । त्यसैले उहाँ निकै सानो मन भएको व्यक्ति हो । विरोधी भनेपछि सहनै सक्नुहुन्न ।

      उहाँले काठमाडौंमा दुईवटा घर बनाउनुभयो । उहाँजस्तो व्यक्तिले जिल्लामा घर बनाउनुपर्ने हो नि । मैले उहाँलाई ‘तपाईंजस्तो मान्छे गाउँघरमा बसेर राजनीति गर्नुपर्ने किन काठमाडौंमा घर बनाउनुभयो’ भनेर सोधँे । उहाँले ‘यस्तो राम्रो ठाउँ, बाढी पनि नआउने, पहिरो पनि नखस्ने, न गर्मी, न जाडो, तपाईंहरूले कब्जा गरेर बस्ने हो’ भन्नुभयो । उहाँमा संकीर्णता छ कि जस्तो लाग्छ ।

      माधव नेपाल, नेता, एमाले
      प्रस्ट बोल्ने तर स्ट्यान्डमा नबस्ने नेता

      माधव नेपाल कुराकानी ठीकै गर्नुहुन्छ । तर, परिणामचाहिँ सोअनुसारको आउँदैन । हाम्रो पार्टी फुटाउने मामिलामा उहाँको पनि मुख्य हात छ । उहाँको व्यक्तित्वले मलाई अहिलेसम्म कुनै प्रभाव पारेको छैन । उहाँ कुनै पनि अतिरिक्त क्रियाकलापमा अगाडि हुनुहुन्न । साथै उहाँलाई अडान नभएको नेताको रूपमा मैले बुझेको छु । एकपटक नागरिकताको विषयमा छलफल गर्न बालुवाटारमा बैठक थियो । कुरा नमिलेपछि माधवजी र हामी बैठकबाट उठेर हिँड्यौँ । एकछिनपछि माधवजीको मोबाइलमा फोन आयो । उहाँ फेरि फर्किएर जानुभयो । शेरबहादुर देउवाजीसँग के–के कुरा भएछ, पछि सहमतिपत्रमा हस्ताक्षर गर्न सहमत हुनुभयो । मैले ‘यस्तो के गरेको’ भनेँ । उहाँले ‘अब कति कराउने’ भन्ने जवाफ फर्काउनुभयो ।

      प्रस्ट वक्ता
      माधवजी आफ्नो विचार, सिद्धान्तमा प्रस्ट हुनुहुन्छ । आफूलाई लागेका कुराहरू निर्धक्कसँग भन्न सक्नुहुन्छ । योचाहिँ उहाँको राम्रो पक्ष हो जस्तो लाग्छ ।

      बाबुराम भट्टराई, संयोजक, नयाँ शक्ति पार्टी नेपाल
      व्यावहारिक ज्ञान नभएको

      कम बोल्ने, तर निकै एक्टिभ व्यक्ति हो उहाँ । तर, उहाँले प्रधानमन्त्री भएर गरेको काम व्यावहारिक होइन भन्ने मलाई लागेको छ । उहाँ राजनीतिमा भन्दा अरू नै कुनै फिल्डमा भएको भए राम्रो हुन्थ्यो जस्तो लाग्छ । उहाँको योजनाअनुसार सातदोबाटोदेखि कोटेश्वरसम्मको साढे दुई किलोमिटर सडक निर्माण गर्न ५ वर्ष लाग्यो । यस्ता कुरामा ख्याल नगर्ने मान्छे व्यावहारिक हुनै सक्दैन । अरूले भनेको कुराको पछि लाग्नुहुन्छ उहाँ ।

      नारायणकाजी श्रेष्ठ, नेता, माओवादी
      जवाफदेहिता छैन, बेइमानी गर्नुहुन्न
      नारायणकाजीको स्वभाव टालटुल गरेर मान्छेलाई अल्झाइरहने खालको छ । शब्दको प्रयोग गर्न जान्नुहुन्न । उहाँ जवाफदेही हुनुहुन्न । आफूले कुनै गलत काम गर्नुभएको छ भने त्यसमा मरिगए बोल्नुहुन्न । उहाँ कुराकानी राम्रै गर्नुहुन्छ, तर व्यवहारमा त्यति राम्रो हुनुहुन्न । एकपटक गिरिजाबाबु, माधव नेपाल, मलगायतका नेताहरू छलफलमा थियौँ । त्यतिवेला उहाँको अध्यक्ष अमिक शेरचन हुनुहुन्थ्यो । उहाँले सरासर उठेर गएर ‘गिरिजाबाबु मलाई उपप्रधानमन्त्री बनाइदिनुपर्याे’ भन्नुभयो । हामी लाजले रातोपिरो भयौँ । बरु हामीसँग ‘मेरो इच्छा यस्तो छ भनेको भए, हामी नै प्रस्ताव राख्नेथियौँ नि ।’

      त्यस्तै, उहाँ अरूको कुरा सुनेर अघि बढ्नुहुन्छ । आफूले गर्ने काम ठीक हो की बेठीक भन्नेभन्दा पनि लहलहैमा लागेर डिसिजन लिने काम उहाँ गर्नुहुन्छ । जे, जस्तो भए तापनि बेइमानी गर्ने कामचाहिँ गर्नुहुन्न जस्तो लाग्छ ।

      अष्टलक्ष्मी शाक्य, उपाध्यक्ष, एमाले
      नेताजस्तै लाग्दैन

      अष्टलक्ष्मीजी राजनीतिक कार्यकर्ता नै होइन । उहाँ नेतृत्व लिन योग्य व्यक्ति पनि होइन । अनावश्यक रूपमा समानताको कुरा मात्र गर्नुहुन्छ ।

      रामबहादुर थापा ‘बादल’, गृहमन्त्री एवं माओवादी नेता
      हेर्दा शालीन नेता
      बादलजी धेरै बोल्नुहुन्न । हेर्दा शालीन नै लाग्छ । भित्र के छ भन्नेचाहिँ त्यति धेरै थाहा भएन । किनकि उहाँसम्म मेरो संगत नै भएको छैन भन्दा हुन्छ । उहाँ विदेश (रुस) मा पढ्दा निकै अध्ययनशील हुनुहुन्थ्यो । पढाइमा पनि ट्यालेन्ट । तर, बिस्तारै उहाँको पढाइ खस्कँदै गयो ।

      कमल थापा, अध्यक्ष, राप्रपा
      दोहोरो चरित्रको अनौठो व्यक्ति

      उहाँ राम्रो कथा लेख्ने मान्छे हो । मैले उहाँको कथासंग्रह पढेको छु । तर, लेखन कलाअनुसार उहाँको स्वभाव, शैली मिल्दैन । हामीले नचिताउने खालको, अचम्मको लाग्छ मलाई उहाँ । एकपटक हाम्रो साथी धर्नामा शान्तिपूर्ण रूपमा बस्दा लाठी हान्ने, गोली चलाउने आदेश दिनुभयो । तर, पछि उहाँहरू धर्नामा बस्दा प्रहरीले लाठी चार्ज ग¥यो र उहाँले त्यसको विरोध गर्नुभयो । उहाँको यस्तो दोहोरो चरित्र देखियो ।

      विजयकुमार गच्छदार, नेता, कांग्रेस
      अवसरवादी नेता

      कांग्रेसबाट फुटेर गए पनि उहाँ मलाई सधैँ कांग्रेस नै लाग्थ्यो । साथै उहाँलाई अवसरवादी नेताको रूपमा लिइन्छ । आइडोलोजीका लागि नभएर पदका निम्ति काम गरेको राम्रो होइन ।

      चित्रबहादुर केसी, अध्यक्ष, राष्ट्रिय जनमोर्चा
      सरल व्यक्तित्व

      उहाँ खाटी भाषा प्रयोग गर्नुहुन्छ । आफ्ना विचारहरू स्पष्ट रूपमा राख्नुहुन्छ । सरल हुनुहुन्छ । मनमा लागेका कुरा भन्नुहुन्छ । त्यसैले म उहाँको आलोचना गर्दिनँ । सामान्य जीवन बिताउनुभएको छ । उहाँलाई म असल कम्युनिस्टको रूपमा लिन्छु ।

      मोहनविक्रम सिंह, महामन्त्री, मसाल
      बुझ्न गाह्रो नेता

      उहाँ अलि खुला हृदयको हुनुहुन्नजस्तो लाग्छ । उहाँ बुझ्न नसकिने खालको पनि हुनुहुन्छ । एकपटक माधव नेपाल प्रधानमन्त्री हुँदा हाम्रो भेट भएको थियो । फोटो खिचाउने वेला उहाँ तर्किनुभयो । ‘फोटो नै खिच्दिनँ म’ भन्नुहुन्थ्यो । तर, अहिले खिचाउनुहुन्छ । उहाँलाई बुझ्न गाह्रो छ । एकपटक पुष्पलालको विषयमा आलोचना गरेर आलेख लेख्नुभयो । व्यक्तिगत रिसइबीका कारण उहाँले आफ्ना शब्दहरू आरोपको रूपमा पुष्पलापको विरोधमा खर्चिनुभयो । त्यसरी तथ्यहीन सामग्री प्रस्तुत गरेको मलाई ठीक लागेन ।

      महन्थ ठाकुर, अध्यक्षमण्डल संयोजक, राजपा
      चिताएको पूरा गर्ने

      उहाँ मनले चिताएको कुरा पूरा गर्ने मान्छे हो । साथै, निकै कम बोल्नुहुुन्छ । उहाँसँग मेरो राम्रो संगत छ । समग्रमा उहाँ र उहाँको व्यक्तित्व मलाई राम्रै लाग्छ ।

      सिपी मैनाली
      आफूलाई ठूलो ठान्ने
      उहाँले आफूलाई ठूलो मान्छे सम्झनुहुन्छ जस्तो लाग्छ । कतै भाषण गर्दा पनि निकै लामो बोल्नुहुन्छ । भाषण गर्न थालेपछि तीन–चारपटक चिट दिँदा पनि रोकिनुहुन्न । एकपटक उहाँसँगै अमेरिका गएको थिएँ । नयाँ वर्षको अवसरमा शुभकामना दिन छोरीलाई फोन गर्नुभयो । हामीले नेपालमा राति भइसक्यो किन सुतेको मान्छेलाई उठाउनुहुन्छ भन्यौँ । तर, उहाँले मान्नुभएन । पछि फोन पनि उठेन ।

      कृष्णप्रसाद सिटौला, नेता, कांग्रेस
      लजिकल र धैर्यवान् व्यक्ति

      सिटौलाजी निकै धैर्यवान नेता हुनुहुन्छ । उहाँको धैर्य देखेर म छक्क पर्छु । उहाँले सोलुसन निकाल्ने काम गर्नुहुन्छ । उहाँमा नमिल्ने बिन्दुमा पनि मिलाउन सक्ने क्षमता छ । एकपटक उहाँको जिल्लामा एकजना मानिसलाई प्रहरीले मार्याे । त्यसपछि उहाँले संसद्बाटै आफ्नै सरकारको विरोध गर्नुभयो । निकै लजिकल्ली कुरा राख्नुभयो । जसको जवाफ सरकारसँग थिएन । त्यसपछि मैले उहाँलाई नियाल्न थालँे । र, कांग्रेसमा यो मान्छे ठीक रहेछ भन्ने लाग्यो ।

      उहाँ चलाख व्यक्ति पनि हो । उहाँको प्रस्तुतिको शैली आक्रामक नभएर नरम हुन्छ । सकेसम्म मिलेर, मिलाएर लैजाने भन्ने धारणा राख्नुहुन्छ ।

      प्रकाशमान सिंह, नेता, कांग्रेस
      आइडोलोजी नभएको नेता

      प्रकाशमानजी मलाई सोझो लाग्छ । हुन त भित्री कुरा त कसले बुझ्न सक्छ र ! तर, बाटो बनाउँदा उहाँका कार्यकर्ताले घरघरबाट पैसा उठाएका छन् । त्यो कुरा उहाँलाई नै थाहा छैन । पहिले शेरबहादुरको पक्षमा भएको मान्छे पछि उहाँकै विरोधमा उत्रनुभयो । त्यसैले उहाँको दृष्टिकोण पनि गलत छ भन्ने लाग्छ । उहाँसँग आइडोलोजी नै छैन भन्ने मेरो मान्यता हो ।

      उहाँ साइन्सको विद्यार्थी भए पनि कत्ति पनि बौद्धिक हुनुहुन्न । गणेशमानजीको विचारसँग उहाँको विचार मिल्दैन । कहिलेकाहीँ हामी छलफलमा बस्दा उहाँ कुरा गर्दागर्दै सुत्नुहुन्छ ।

      उपेन्द्र यादव, अध्यक्ष, संघीय समाजवादी फोरम
      गैरकम्युनिस्ट चरित्र

      उपेन्द्रजी कम्युनिस्ट चरित्रको व्यक्ति हो जस्तो मलाई लाग्दैन । कम्युनिस्ट हुँ भनेर जात, भाषाको कुरा गर्नु गलत हो ।

      राजेन्द्र महतो, अध्यक्षमण्डल, राजपा
      दृष्टिकोण नै गलत भएको नेता

      देश फुटाउने, जनतालाई लडाउने काम राजेन्द्रजीको राम्रो छैन । व्यक्तिगत रूपमा राम्रो, अरूसँग सरल व्यवहार गरे पनि दृष्टिकोण नै गलत भएपछि ऊ गलत हुन्छ । राजेन्द्रजीलाई पनि यसरी नै मूल्यांकन गर्दा ठीक होला ।   नयाँ पत्रिका  बाट

        सम्बन्धित समाचारहरु