नेपाली राजनीतिमा एक उदाउँदो नाम हो– राजेन्द्र लिङदेन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य लिङदेनको नाम जति चर्चामा छ, उहाँले यस स्थानसम्म आइपुग्दा गर्नुपरेको संघर्षको कथा भने धेरै मानिसहरुलाई थाहा छैन ।
झापाबाट निर्वाचित सांसदसमेत रहनुभएका उहाँको जीवनका आरोह–अवरोहहरु अरुका लागि प्रेरणा बन्ने सामर्थ्य राख्दछन् ।
लिङदेनको पैत्रिक थलो पाँचथर जिल्लाको अमरपुर गाउँ हो । आमा धनकुमारी माबो र बुवा मानप्रसाद लिङदेनका पहिलो सन्तानका रुपमा २०२२ साल भदौ २२ गते ताप्लेजुङको ढुङगे साँघुमा राजेन्द्र लिङदेनको जन्म भयो । आर्थिक हिसाबले सामान्य जीवनस्तर भएको परिवारमा जन्मिनुभएका उहाँले बालापन पार नगर्दै आमाको ममताबाट बञ्चित हुनुप¥यो । सात वर्षको हुँदा २०२९ सालमा आमाको देहावसान भयो । त्यस समय उहाँका बुबा नेपाल प्रहरीको जागिरे हुनुहुन्थ्यो जागिरको सिलसिलामा ताप्लेजुङको ढुङगे साँघुमा रहँदा बुवासंगै उहाँको बाल्यकाल वित्यो । लिङदेनका ५ जना भाई र ४ जना बहिनी हनुहुुन्छ । आमाको देहावसान र पहाडमा सामान्य छाक टार्नसम्म धौधौ हुन थालेपछि २०३० सालमा तराईको झापा जिल्लामा बसाइँ सर्नुभयो ।
लिङदेनको परिवार झापाको तत्कालिन शिवगञ्ज गाउँ पञ्चायतको गैंडेमा बसाई सरेर करिब २ बर्ष बसोबास गरेपछि ऐलानी जंगल क्षेत्रको जमिनमा सरकारले बस्न दिएन । त्यसपछि हाल स्थायी बसाई झापाको तत्कालीन राजगढ गाउँपंचायतको गोलधाप अर्थात हालको हल्दिवारी १ मा रहेको छ । तराईमा पनि उहाँको परिवारका दिनहरु सुखद् रहेनन् । लिङदेन परिवारले जंगली च्याउ र निगुरो खाएर कयौं दिनहरु विताउनुपर्यो । पहिले टिपेको ठाउँमा निगुरो फेरि कहिले पलाउला ? च्याउ टिपेको रुखको ठुटामा फेरि कहिले च्याउ उम्रिएला भन्दै कैयौं दिनहरु बिते । यस्तै–यस्तै बसाईं सराई, गरिबी, अभाव र आमा गुमाउनु पर्दाको न्यास्रोमा बित्दै गयो राजेन्द्र लिङदेनको बाल्यकाल ।
हाल राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय अध्यक्ष रहनुभएका राजेन्द्र लिङदेनले पाँचथरको अमरपुर माध्यमिक विद्यालयबाट प्रारम्भिक शिक्षा सुरु गर्नुभएको थियो । तत्कालिन शिवगंज गाउँ पञ्चायतको नुनमाटी र आँपटारी भन्ने स्थानमा कक्षा २ सम्मको अध्ययन पश्चात बसाई सराईसंगै गोलधापको तत्कालिन जनजागृती प्राथमिक विद्यालयबाट उहाँले औपचारिक विद्यालय शिक्षाको क्रमलाई अघि बढाउनु भयो ।
उहाँले पढेको यो स्कुल अहिले उहाँकै अगुवाई र अध्यक्षतामा उच्च माध्यामिक विद्यालय बनेको छ । यो विद्यालयमा उहाँले कक्षा ६ सम्म अध्ययन गर्नुभयो । त्यसपछि राजगढकै पशुपति माध्यामिक विद्यालय, धरानको शिक्षा सदन र, २०३९ सालमा महेन्द्ररत्न माध्यामिक विद्यालय अनारमनी, विर्तामोडबाट एसएलसी पूरा गर्नुभयो । विद्यालय शिक्षा पुरा गर्न त्यो वेला विषेश परिस्थितिको कारण पाँचवटा विद्यालय परिवर्तन गर्नु परेको थियो ।
लिङदेनले यस्तै संघर्षपूर्ण जीवनकै क्रममा मेची क्याम्पस भद्रपुरबाट उच्च शिक्षा पूरा गर्नुभयो । त्रिभुवन विश्वविद्यालय किर्तिपुरबाट राजनीतिशास्त्र र इतिहासमा स्नातक गरीसकेपछि लिङदेनले विश्वविद्यालय अध्ययनछोडेर आफ्नै गाँउ फर्केर राजनितीलाई अघि बढाउने निर्णय गर्नुभयो ।
लिङदेनले विद्यालय जीवन बिताइरहँदा देशमा पञ्चायती शासन व्यवस्था थियो । गाउँघरमा सिमित जमिन्दारहरुको हालिमुहाली थियो । जमिनदारको थिचोमिचो विरुद्ध झोडाबासीका अगुवा राजेन्द्रका बुवा मानप्रसाद लिङदेन र अन्य गाउँलेहरुले प्रतिवाद सुरू गरे जसले गर्दा जमिन्दारहरुसँग राजेन्द्रका बुवा र गाउँलेहरुको प्रतिद्वन्दिता बढ्न थाल्यो । त्यसबेला गाउँलेहरुलाई स्थानीय सामन्तहरुका विरुद्ध आवाज उठाएका कारण अनेकप्रकारको मुद्धा लगाउने दुःख दिने कामहरू हुन थाल्यो यसक्रममा उहाँलाईसमेत झुठ्ठा मुद्दा लागाईयो । यतिसम्म कि विद्यालय शिक्षाबाटै बञ्चित गराउने कामसमेत हुन थाले । त्यसैकारण एकपछि अर्को विद्यालय चहार्दै हिंड्नु पर्यो ।
जीवनलाई दुखको अक्करे भीर जस्तै असजिलो परिस्थितिबाट अघि बढाउदै गरेका लिङदेनले आफु मात्र पढ्नुभएन भाईहरुलाई पनि पढ्नका लागि प्रेरणा र त्यहि अनुसारको वातावरण समेत बनाई दिनुभएको थियो ।
लिङदेनलाई एसएलसी पास गर्नुपूर्व नै २०३८ सालमा दुई महिनासम्म जेल तथा कैयौं पटक प्रहरी हिरासतमा थुन्ने काम भयो । लिङदेनले पछिल्लो पट्क स्नातक तहको अध्ययनकै क्रममा पनि पाँच महिना तीन दिन जेल जीवन बिताउनुभएको थियो । कारागारको कठिन दैनिकीमा समेत राजेन्द्र लिङदेन यत्तिकै बस्नुभएन । बरु कारागारलाई कसरी सुधार गृहमा परिवर्तन गर्न सकिन्छ भन्नेतिर उहाँको ध्यान गयो । उहाँले कारागार सुधारको अभियान चलाउँदै मानव अधिकारका आधारभुत पक्षको सुनिश्चितताका लागि उहाँको नेतृत्वमा कारागारभित्र आन्दोलन भयो । राजनीतिक पूर्वाग्रहले थुनामा राखिँदा समेत उहाँ मानसिकरुपमा विचलित हुनुभएन । समस्या पर्दा आत्तिने भन्दा पनि जे परिस्थिति छ, त्यसमा आफूलाई समाहित गरेर सकारात्मक भावले काम गर्दा मानसिक विचलन नहुने उहाँको धारणा छ ।
प्रजातन्त्रको उदयपछि २०४७ सालमा पनि उहाँ पाँच महिना तीन दिनको जेलमा पर्नुभयो । जेलबाट छुटेपछि सामाजिक र राजनीतिक जीवन अघि बढाउँदै बहुदलीय व्यवस्था अन्र्तरगत स्थानीय निकायको पहिलो निर्वाचन २०४९ सालमा गोलधाप गाविस वडा नं ३ को वडा अध्यक्षमा राप्रपाका तर्फबाट निर्वाचित हुनु भयो । त्यस लगत्तै काठामाडांैमा राष्ट्रिय प्रजातान्त्रिक विधार्थी संगठनको संस्थापक अध्यक्ष हुनुभयो ।
दोस्रो पटक २०५४ सालमा भएको स्थानीय निर्वाचनबाट पुनः सोही ठाउँको वडा अध्यक्षमा निर्वाचित हुनुभयो । यसैबीचमा उहाँ पार्टी कमिटीमा समेत सक्रिय भएर लाग्नुभयो । जेलमा रहेकै बेला पार्टीको जिल्ला प्रवक्ता बनाईएका उहाँ पछि जिल्ला प्रवक्ता र सचिव समेत रहनुभयो ।
स्थानीय राजनीतिबाट देशको प्रशासनिक केन्द्रसम्म आइपुग्दा उहाँका सामु अवसर र चुनौति दुबै थिए । बलिया संगठनसँग प्रतिश्पर्धा गर्दै लिङदेनले आफ्नो भुमिका सशक्त ढंगबाट निर्वाह गर्नुभयो ।
यसै बीच २०६० साल मङसिरमा उहाँ झापा जिल्ला विकास समितिको सभापति हुनुभयो । सभापति बनेपछि झापामा उहाँको राजनीतिक छवि थप सुदृढ बन्यो । जिल्ला विकास सभापति हुँदा उहाँले गरेको कामको आज पनि स्थानिय जिल्लावासीहरुले चर्चा र प्रसंशा गर्छन् ।
जीवनमा जतिसुकै कठिनाई आएपनि उहाँ राजनीतिबाट विचलित हुनु भएन । २०५६ सालको संसदीय निर्वाचनमा उम्मेदवार बन्नुभयो जसमा तेश्रो स्थान हासिल गर्नुभयो । २०६४ सालमा तात्कालीन राप्रपा नेपालको केन्द्रीय सदस्य हुनुभयो । २०७० सालको संविधान सभाको निर्वाचनमा पुनः उम्मेदवार रहनु भएका उहाँले दोेश्रो स्थान प्राप्त गर्नुभयो ।
स्नातकोत्तर तहको पढाई र राजनितीक यात्रालाई निरन्तरता दिने योजना बनाएर २०४९ सालमा राजेन्द्र लिङदेन काठमाडौं प्रवेश गर्नुभयो । अध्ययनकै क्रममा उनको भेट सीता थापासँग भयो । बैचारीक रुपमा एक मत भएका दुवै जनालेसंगै जेल जीवन समेत विताउनुभयो । पछि वैबाहिक बन्धनमा बाँधिएका लिङदेनलाई आर्थिक समस्याका कारण काठमाडौंको बसाइ धान्न गाह्रो हुँदै गयो ।
खर्चको जोहो गर्न विहान बेलुका घरहरुमा रंगरोगन लगाउने र विभिन्न पत्रपत्रिकामा समेत काम गर्नुभएका उहाँ दिनभरी अध्ययन र राजनितीमा सक्रिय रहनुहुन्थ्यो ।
राजधानीको खर्चिलो बसाई भन्दा गाउँमा नै गएर केही गर्ने अनि राजनीतिलाई पनि संगै अघि बढाउने अठोट लिएर उहाँ पत्नी सहित २०५२ सालमा गोलधापनै फर्किनु भयो ।
झापा फर्किएपछि होटल तथा रेष्टुरेन्ट, चिया खेती, बंगुर पालन, राईस मिल, बोडिङ स्कुल संञ्चालन गरी विस्तारै राजनिती र व्यवसाय संगसँगै अगाडि बढाउनुभयो । लिङदेन झापा फर्किएकै वर्ष २०५२ सालमा माओवादी सशस्त्र बिद्रोह शुरु भयो । सुरुमा द्वन्दको प्रभाव नपरेपनि पछिल्ला बर्षमा प्रभाव निकै बढ्दै गयो । द्वन्द्वको प्रभाव लिङदेनको व्यापार व्यवसायमा पनि प¥यो । तत्कालिन माओवादी विद्रोहीहरूले २०६१ सालमा लिङदेनको घरमा बम बिष्फोट तथा आगजनी समेत गरे त्यसपछि सामान्यरुपमा चलिरहेको परिवारले फेरि दुःखको भूमरीको सामना गर्नुपर्यो ।
देशमा राजनीतिक संक्रमणकाल र २०६२÷६३ सालको १९ दिने आन्दोलनबाट प्रत्यक्ष प्रभावित हुनुभएका लिङदेनले भौतिक आक्रमणको समेत सामना गर्नुप¥यो । परिस्थिति यतिसम्म भइसकेको थियो कि उहाँ मृत्युको मुखसम्मै पुग्नुभयो । २०६२÷६३ सालको आन्दोलनलगत्तै तात्कालीन नेकपा माओवादी र सातदलीय गठबन्धनले उहाँलाई भौतिक आक्रमण गरि मरणासन्न बनाएर सडकमा छाडेका थिए । पञ्चायत, बहुदल, लोकतन्त्र तीनवटा ब्यावस्था फेरिदा पनि उहाँले चैन पाउनु भएन । कुनै न कुनै रुपमा प्रताडित हुनै प¥यो । व्यावस्था बद्लिएपनि मानिसको सोच नबद्लिएको कारण उहाँले सहज परिस्थितिमा पनि असहज जीवन बाच्नु प¥यो ।
आक्रमण पछि शारिरिक रुपमा तङ्ग्रीदै लिङदेनले ब्यावसायीक जीवन अघि बढाउने निधो गर्नुभयो । लिङदेनलाई सबै व्यवसाय बन्द भएपछि बनेको कमजोर आर्थिक स्थितिका कारण बालबच्चाको लालन पालन तथा यथोचित शिक्षादीक्षामा समेत निकै कठिनाइ भयो । त्यसपछि उनले माइक्रो बस किनेर यातायातको क्षेत्रमा आफुलाई ब्यावसायीक बनाउनु भयो । परिस्थिति यस्तो पनि आयो की उहाँ आफैं ड्राइभर समेत बन्नु प¥यो ।
यसैबिच माईक्रोबसको चालक रहेकै समय बैंकको किस्ता तिरेर बचाएको थोरै रकमले साना गाडीहरूको मर्मत गर्ने ग्यारेज खोल्नुभयो जब नयाँ व्यवसायका रुपमा ग्यारेज सञ्चालनमा आयो, त्यसपछि भने विस्तारै लिङदेनका दिनहरु केही सहज हुन थाले ।
राजनीति र व्यवसायीक जीवन एकै पटक अघि बढाउन नसक्दा सबैतिर घाटा हुदै गएपछि ग्यारेज व्यवसाय बन्द गर्नु भयो, गाडीहरू बेच्नु भयो । आफ्नो दैनिकी चलाउन साना साझेदारी व्यवसाय र गोलधापमा रहेको सानो चिया व्यवसायले सहयोग पुगिरहेको थियो । तर बैंकको ब्याज तिर्न भने कठिन हुन थाल्यो । विर्तामोडमा बनाएको घर बेचेर सबै ऋण तिर्नु भयो । बचेको केही पैसाले बम विस्फोटमा परेको घर १७ बर्षपछि पुनर्निर्माण गरि हाल सोही घरमा बसोबास गर्न थाल्नु भयो ।
राप्रपा अध्यक्ष लिङदेनको जीवनमा कहिले आर्थिक त कहिले राजनीतिक उतार–चढावले कठिन परिस्थिति सृजना गरेपनि उहाँले सधैं आफ्नी पत्नी र २ छोरा १ छोरीको साथ सहयोग पाइरहनुभयो । जस्तासुकै कठिन समयमा पनि उहाँलाई पत्नीले बलियो खम्बा बनेर साथ दिनुभयो ।
एउटा सफल पुरुषको जीवनमा महिलाको हात हुन्छ भने जस्तै लिङदेनको जीवनमा पनि सीता थापा सारथी बनेर आउनु भयो । उहाँले जस्तोसुकै कठिन परिवेशमा पनि पारिवारिक रथलाई डगमगाउन दिनुभएन ।
सानैदेखि साहित्यमा पनि रुचि राख्नुहुने लिङदेनले विदेश भ्रमणलाई प्राथमिकतामा नराखे पनि काम बिशेषले अमेरीका, सिंगापुर, इण्डोनेसिया, मलेसिया, दुवै दक्षिण कोरीया लगायत देशको भम्रण गर्नुभएको छ । देशपे्रमी, विकासप्रेमी, भ्रष्टचारविरोधी लिङदेन युवा पुस्तामा पनि सर्वाधिक प्रिय मानिनुहुन्छ ।
राजनीतिमा सधैं असफलमात्र भइदैन निरन्तरताले सफलताको शिखर तिर पनि डो¥याउछ भनेझैं २०७४ सालको आम निर्वाचनमा झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभयो । संसदमा राप्रपाबाट प्रतिनिधित्व गर्ने उहाँ एक्लो प्रतिनिधि हुनुभयो । उहाँले पहिलो पटक संसदमा उभिएर आफ्नो निर्वाचन क्षेत्रका जनताको तर्फबाट सदनलाई सम्बोधन गर्नु भयो ।
२०७८ मंसिर १८ गते सम्पन्न ऐतिहासिक एकता महाधिवेशनको उद्घाटन सत्रमा उहाँ प्रवेश गर्दा र उहाँले मन्तब्य दिदाँ देखिएको उहाँ प्रतिको कार्यकर्ताको उत्साहित माहौलले नै उहाँले महाधिवेशनमा चुनाव जित्दै हुनुहुन्छ भन्ने प्रतित हुन्थ्यो । सन्तुलित र सत्यतालाई मियो बनाएर बोल्ने उहाँको भाषण कला प्रति उपस्थित भेलाले तालि नबजाई बस्न सक्ने अवस्था नै थिएन । अन्तत एकता महाधिवेशनबाट लिङ्देन राप्रपाको केन्द्रीय अध्यक्षमा समेत निर्वाचित हुनुभयो । दलहरुमा पुरानै नेतृत्वले निरन्तरता पाइरहेका बेला लिङ्देनको यो विजयले नेपालको राजनीतिक वृत्तमा एकखालको तरंग आएको छ । त्यसको एउटै कारण हो– राप्रपामा पुस्तान्तरण ।
राजसंस्था र हिन्दूराष्ट्र स्थापनाको मुद्धा पहिलेदेखीनै उठाउने उहाँ एक मात्र नेता हुनुहुन्छ । मुलुकमा गणतन्त्रको वाहिवाहि भएको बेला उहाँले हिन्दूराष्ट्र र राजसंस्था स्थापनाको मुद्धा उठाएर जोखिम समेत उठाउने काम गर्नु भएको थियो ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा राप्रपा अध्यक्षको हैसियतले उहाँले राजनीतक दलका नेतालाई गाउँमा चोरको संज्ञा दिन थालेको भन्दै दिनु भएको अभिब्यक्ती निकै भाइरल बन्न पुग्यो ।
पछिल्लो समय राजनीतिक दलका नेताहरुलाई आम जनताले हेर्ने दृष्टिकोणमा आएको परिवर्तनका बारेमा उहाँले मिहिन ढंगले अध्ययन गर्नु भएको छ । जनताका बिचमा चुनावका बेला गरिएको प्रतिबद्धता पुरा नगर्ने तर राजनीतिलाई कमाउको पेशाका रुपमा लिने नेताहरु भन्दा उहाँको दृष्टिकोण फरक छ ।
सरकारले २०७९ मंसिर ४ गते आम निर्वाचनको घोषणा गरेपछि पनि प्रतिनिधि सभाको बैठक अन्त्य नगरेको भन्दै लिङदेनले सदनमा विषेश समय लिएर बोल्दै संविधानले ब्यावस्था गरेको विपरित संसद चलिरहेको कारण आफूले संसद पदबाट राजीनामा दिएको घोषणा गर्नु भयो ।
यसरी, एउटा गाउँले परिवेशमा हुर्केको, भीडको विरुद्धमा राजनीतिक यात्रामा हिँडेको र पारिवारिक समस्याहरुसँग जुध्दै राप्रपाको केन्द्रीय नेतृत्वमा पुग्न सफल राजेन्द्र लिङदेनको व्यक्तिगत जीवन सबैका लागि प्रेरणाको विषय बन्ने कुरामा कसैको पनि दुई मत नहोला ।
राजनीतिको मूलधारमा रहेर कठिनाइसँग जुध्दै यहाँसम्म आइपुग्नुभएका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन २०७९ मंसिर ४ मा हुने निर्वाचनमा झापा क्षेत्रनम्बर ३ बाट पूनं प्रत्यक्षतर्फ चुनावी मैदानमा हुनुहुन्छ उहाँलाई थप सफलताको शुभकामना !