काठमाडौँ,अमेरिकी सेन्ट्रल कमान्डले शनिबारदेखि इरानमाथि करिब २ हजार आक्रमण गरिएको दाबी गरेको छ । एडमिरल ब्राड कुपरका अनुसार १७ पानीजहाज ध्वस्त पारिएका छन् । अपरेसनमा ५० हजारभन्दा बढी सैनिक, २०० लडाकु विमान र दुई विमानवाहक जहाज परिचालित छन् ।
अमेरिकाले इरानको वायु रक्षा प्रणाली, सयौँ मिसाइल र ड्रोन नष्ट गरेको दाबी गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आक्रमणको तयारी गरेपछि प्रतिकार गरिएको बताएका छन् । उता इरानले इजरायल र अमेरिकी अखडामा लगातार जवाफी हमला गर्दै आएको छ ।
पछिल्लो तथ्याङ्कअनुसार शनिबारयता इरानमा मृत्यु हुनेको सङ्ख्या कम्तीमा ७८७ पुगेको छ । इरानले ‘हर्मुज स्ट्रेट’ बन्द गर्ने चेतावनी दिएपछि तेल आपूर्तिमा संकट देखिएको छ । इरानले विश्वको महत्त्वपूर्ण तेल मार्ग ‘हर्मुज स्ट्रेट’ बन्द गर्ने घोषणा गरेपछि राष्ट्रपति ट्रम्पले ट्याङ्करलाई सुरक्षा दिन अमेरिकी नौसेना परिचालन गर्न तयार रहेको बताएका छन् ।
यो युद्धको बाछिटा छिमेकी मुलुकमा पनि देखिन थालेको छ । इजरायलले लेबनानको बेरुत र सिडोनमा बमबारी गर्दै दक्षिणी क्षेत्रमा आफ्ना सैनिकलाई थप सक्रिय बनाएको छ । तेल मार्गमा देखिएको अवरोधका कारण इराकले आफ्ना ठूला तेल क्षेत्रबाट उत्पादन ठप्प पारेको छ । यो युद्धको असर खाडी मुलुकमा परेको छ । धेरै नेपाली खाडी मुलुकमा रहेकाले यो तनावको सिधा असर नेपालका घरघरमा पुगेको छ । यूएईमा यही युद्धमा परेर केही नेपालीले ज्यानसमेत गुमाइसकेका छन् ।








