काठमाडौं, अक्सफोर्ड युनिभर्सिटी प्रेसले ‘रेज–बेट’ लाई सन् २०२५ को वर्ड अफ द इयर छानेको छ । रेज’ को अर्थ क्रोधको विस्फोट हो भने ‘बेट’ को अर्थ खानाको टुक्रा हो । यी दुई प्रचलित अंग्रेजी शब्दहरू मिलेर रेज बेट बनेको हो । मानिसलाई रिस उठोस् भनेर जानीजानी तयार पारिएको पोस्ट, भिडियो वा लेखलाई ‘रेज–बेट’ भनिन्छ ।
अक्सफोर्डका अनुसार, पछिल्लो १२ महिनामा यो शब्दको प्रयोग तीन गुणाले बढेको छ ।
रेज–बेटले ‘अरा फार्मिङ’ र ‘बायोह्याक’ लाई पछि पार्दै यो उपाधि जितेको हो । अरा फार्मिङ भनेको आफ्नो व्यक्तित्वलाई रहस्यमय देखाउने तरिका हो । यसैगरी, बायोह्याक भनेको डाइट, योगा, जीवनशैली वा टेक्नोलोजीको प्रयोग गरेर आफ्नो शरीर र दिमागको क्षमता सुधार्ने प्रयास हो । यी तीनै शब्दहरूमा सार्वजनिक मतदान पनि भएको थियो ।
यस वर्ष ‘रेज बेट’ को प्रयोगले हामी अनलाइनमा ध्यान खिच्ने तरिकाबारे कसरी कुरा गर्छौँ भन्ने संकेत दिएको छ ।








