काठमाडौं, भारतको तमिलनाडुको शिवगंगा जिल्लामा दुईवटा सरकारी बस ठोक्किँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन् ।
विपरीत दिशामा रहेका दुईवटा बस घुमाउरो बाटोमा आइतबार ठोक्किएका थिए । दुर्घटनामा एक बसका चालक ३६ वर्षीय पी. सेन्द्रायनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धान अनुसार साँघुरो सडकमा दुवै बस तीव्र गतिमा भएकाले दुर्घटना भएको अनुमान गरिएको छ ।
तमिलनाडुका मुख्यमन्त्री एम.के. स्टालिनले दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले मृतकका परिवारलाई तीन लाख भारतीय रुपैयाँ, गम्भीर घाइतेलाई एक लाख रुपैयाँ र सामान्य घाइतेलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् ।








