काठमाडौं, थाइल्यान्डमा दाहसंस्कारका लागि ल्याइएकी एक महिला कफिनभित्रै जिउँदो भेटिएपछि मन्दिरका कर्मचारीहरू आश्चर्यचकित भएका छन् । यो घटना बैंककको बाहिरी भागमा रहेको नोन्थबुरी प्रान्तको वाट रात प्राखोङ थाम मन्दिरमा भएको हो ।
मन्दिरद्वारा सार्वजनिक गरिएको भिडियोमा पिकअप ट्रकमा राखिएको कफिनभित्रकी महिलाले अचानक आफ्नो हात र टाउको हल्लाएको देखिन्छ । महिलालाई हल्लिएको देखेर मन्दिरका कर्मचारीहरू आतंकित भएका थिए ।
मन्दिरका सामान्य र वित्तीय मामिला प्रबन्धक पाइराट सुधथुपका अनुसार, ६५ वर्षीया ती महिलालाई दाहसंस्कारका लागि त्यहाँ ल्याइएको थियो । उनले हल्का ठाकठुक सुनेपछि कफिन खोल्न लगाउदा महिलाको आँखा अलि खुलेको तथा कफिनको छेउ ठोकिरहेको अवस्था देखिएको बताए ।
पीडित महिलाका दाइका अनुसार, उनी दुई वर्षदेखि गम्भीर बिरामी थिइन् र ओछ्यानमा सीमित थिइन् । दुई दिनदेखि उनमा कुनै हलचल देखिएको थिएन ।
त्यसपछि उनीहरू निःशुल्क अन्त्येष्टि हुने भएकाले मन्दिर आएका थिए । मृत्यु भएको प्रमाणपत्र नभएको कारणले मन्दिरले अन्त्येष्टि गर्न मानेको थिएन । व्यवस्थापकले महिलाका दाइलाई प्रमाणपत्र कसरी प्राप्त गर्न सकिन्छ भनेर बुझाइरहेका बेला कफिनबाट ढक्ढकाएको आवाज सुनिएको हो ।
अहिले ती महिलालाई अस्पताल पठाइएको र मन्दिर प्रशासनले उनको उपचार खर्च व्यहोर्ने बताएको छ ।








