काठमाडौं, टिकटकको अमेरिकास्थित सञ्चालनमा अमेरिकी नियन्त्रण हुने भएको छ । अमेरिका र चीनबीचको नयाँ सम्झौताअनुसार यस्तो हुन लागेको हो ।
सात सदस्यीय बोर्डमध्ये अमेरिकाका नागरिकले ६ सिट पाउने जानकारी ह्वाइट हाउसले शनिबार दिएको हो । अब अमेरिकामा सञ्चालन भईरहेको टिकटकको भिडियो फिड चलाउने अल्गोरिदममा अमेरिकी कम्पनीको नियन्त्रण रहनेछ ।
अमेरिकी कंग्रेसले जनवरीमा टिकटकमाथि प्रतिबन्ध लगाउने कानुन पारित गरेता पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले भने बाइटडान्स र अमेरिकी कम्पनीबीच सम्झौता गर्न सकोस् भनेर बारम्बार आदेश जारी गर्दै टिकटकलाई अस्थायी छुट दिएका थिए ।
ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले प्रविधि कम्पनी ओरेकलले टिकटकको डेटा र सुरक्षाको जिम्मेवारी सम्हाल्ने जानकारी दिएकि छिन् ।
शुक्रबार ट्रम्प र चीनका राष्ट्रपति सी चिनफिङबीच टिकटक सम्झौताबारे फोनमा लामो कुराकानी भएको थियो । ट्रम्पले अमेरिकी लगानीकर्ता तयार रहेको र सीले या मामिलामा सहयोगी अडान देखाएको बताएका थिए ।








