काठमाडौं, बंगलादेशको राजधानी ढाकामा सोमबार दिउँसो एक दर्दनाक दुर्घटना घटेको छ । वायुसेना तालिम विमान विद्यालय र कलेजको क्याम्पसमा खस्दा कम्तीमा २७ जनाको ज्यान गयो ।
यो त्रासदीमा २५ जना निर्दोष बालबालिका सहित विमान चालक र एक जना शिक्षकले ज्यान घुमाएका छन् । हालसम्म २० जनाको शव परिवारको जिम्मा लगाइएको छ । एफ–७ बीजिआई विमान हिजो दिउँसो १ बजेतिर ढाकाको उत्तरा क्षेत्रमा रहेको कलेज र स्कुलको बिचैमा खसेको थियो ।
विद्यार्थीहरू भने परिक्षा दिइरहेका थिए र कसैले कल्पना पनि गरेका थिएनन् कि आकाशबाटै मृत्यु खसेर आउनेछ । यो भीषण दुर्घटनामा १७१ जना घाइते भएका छन् । घाइतेमध्ये धेरैजसो ८ देखि १४ वर्षका नाबालकहरू छन्, दुर्घटनामा परेकाहरुको शरीरको पुरा भाग जलेको छ । ढाका नेशनल बर्न एण्ड प्लास्टिक सर्जरी इन्स्टिच्युटमा घाइतेहरूको उपचार भइरहे पनि धेरैको अवस्था नाजुक रहेको बताइएको छ ।
एकाएक उजाड भएका कक्षाकोठा, रुँदै दौडिएका आमाबुबा र भुइँमा लाश बनेर सुतेका नाबालकहरूको लागि बंगलादेशको अन्तरिम सरकारले आज राष्ट्रिय शोक घोषणा गरेको छ । सरकारले आज सबै सरकारी, अर्धसरकारीे, स्वायत्त संस्था तथा शैक्षिक प्रतिष्ठानमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय समेत गरेको छ । यो कालो दिनले बंगलादेशमा शिक्षा पाउने बालबालिकाको सपना नै खरानी बनाइदिएको छ ।








