काठमाडौं, हमासले बन्धक रिहाइ स्थगित गर्ने घोषणा गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासले बन्दी रिहाइ नगरे युद्ध विराम भङ्ग गर्ने चेतावनी दिएका छन् । राष्ट्रपति ट्रम्पले हमासका लागि बन्दी रिहाइको समयसमेत दिएका छन् ।
उनले हमासलाई बन्दी रिहाइका लागि शनिबार १२ बजेसम्मका लागि समय दिएका छन् । उनले तोकिएको समयसम्म रिहाइ नभएमा अर्को दुर्घटना हुनसक्ने चेतावनी दिएका हुन् । इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको भन्दै हमासले बन्धक रिहाइ बन्द गर्ने घोषणा गरेको बीबीसीले जनाएको छ । पूर्वसम्झौताअनुसार बन्धकहरुको रिहाइ आगामी शनिबार हुनेवाला थियो ।
शनिबार सयौं प्यालेस्टिनी कैदी र तीन इजरायली बन्धक रिहा गर्ने तयारी थियो । तर हमासले बन्धकको रिहाइ बन्द गर्ने घोषणा गरेपछि युद्धविराम सम्झौता कार्यान्वयनमा नयाँ समस्या खडा भएको छ । हमासले विज्ञप्ति जारी गर्दै इजरायलले गाजा क्षेत्रका केही स्थानमा गोलाबारी जारी राखेको र विस्थापित प्यालेस्टिनीहरू आफ्नो घर फर्किन ढिलो भइरहेको आरोप लगाएको छ ।
हमासले बन्धक रिहाइ रोक्ने घोषणा गरेको विषय इजरायलको तर्फबाट प्रतिक्रिया सार्वजनिक भइसकेको छैन । इजरायल र हमासबीच १९ जनवरी २०२५ देखि युद्धविराम कार्यान्वयनमा आएको थियो । लगत्तै दुवै पक्षबाट बन्धकहरू रिहा गर्ने क्रम चलिरहेको थियो । हमासका प्रवक्ता अबु देबाइले विज्ञप्ति जारी गर्दै गाजामा विस्थापित भएकालाई फर्कन अवरोध सिर्जना गरिएको, मानिसमाथि आतङ्क फैलाइएको र आक्रमण गरिएको भन्दै बन्दी रिहाइको प्रक्रिया रोक्ने चेतावनी दिएका थिए ।
हमासले यसलाई युद्ध विराम उलंघनको संज्ञा दिएको छ । युद्ध विराम उलंघनको नाममा हमासले बन्दी रिहाइको प्रक्रिया रोक्ने चेतावनी दिए लगत्तै ट्रम्पले पनि यस्तो प्रतिक्रिया दिएका हुन् ।