काठमाडौ, अमेरिकाले आयात गर्ने सम्पूर्ण स्टिल र आल्मुनियममा २५ प्रतिशत कर लगाउने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बताएका छन् । एनएफएल सुपर बाउलमा सहभागी हुन जाने क्रममा विमानभित्रै पत्रकारहरुसंग कुरा गर्दै ट्रम्पले स्टिल र आल्मुनियममा २५ प्रतिशत कर लगाउने बताएका हुन् ।
धातुमाथि अहिलेसम्मकै ठूलो भन्सार शूल्कको घोषणाले अमेरिकी व्यापार नीतिमा सुधार आउने टिप्पणी भइरहेको छ । ट्रम्पले आफ्नो पहिलो कार्यकालमा समेत स्टिलमा २५ र आल्मुनियममा १० प्रतिशत कर लगाए । तर, पछि क्यानडा, मेक्सिको र ब्राजिललगायत थुप्रै व्यापारिक साझेदारलाई कर मुक्त कोटा प्रदान गरिएको थियो ।
सरकार र अमेरिकी आइरन एण्ड स्टिल इन्स्टिच्युटको तथ्यांकअनुसार अमेरिकामा स्टिल आयातको सबैभन्दा ठूलो स्रोत क्यानडा, ब्राजिल र मेक्सिको पछि दक्षिण कोरिया र भियतनाम हुन् । अमेरिकालाई सबैभन्दा बढी आल्युमिनियम क्यानडाले निकासी गर्छ । उक्त करले क्यानडालाई व्यापक असर पार्ने बताइएको छ । सन् २०२४ मा क्यानडाले ७९ प्रतिशत आल्युमिनियम अमेरिका पठाएको थियो ।
यसैबीच, राष्ट्रपति ट्रम्पले अमेरिकी वस्तुमाथि कर लगाउने जुनसुकै मुलकलाई सोही अनुपातमा पारस्पारिक कर लगाउने चेतावनी दिएका छन् । उक्त योजनाबारे ट्रम्पले मंगलबार वा बुधबार घोषणा गर्ने बताइएको छ । घोषणाले अमेरिकाबाट फाइदा लिने मुलुकलाई असर पर्ने तर निरन्तर कर बुझाइरहेका मुलुकलाई खासै असर नपर्ने ट्रम्पको भनाइ छ ।