काठमाण्डौ, इजरायल र हमास लडाकु समूहबीच गाजामा भएको युद्धविरामको पहिलो चरण आजदेखि लागू हुँदैछ । इजरायल र प्यालेस्टिनी लडाकू समूह हमासबीच भएको पछिल्लो युद्धविरामको सहमति कार्यान्वयनको चरण शुरु भएको हो ।
पहिलो चरणमा छ हप्ताभित्र हमासले महिला, बालबालिका, वृद्धवृद्धा र घाइतेसहित ३३ जनालाई क्रमशः रिहा गर्ने र त्यसको सट्टामा इजरायलले प्यालेस्टिनी बन्दी मुक्त गर्ने सहमति भएको छ । मध्यस्थकर्ता इजिप्टका अनुसार युद्धविरामको पहिलो चरणमा ३३ इजरायली बन्धकको बदलामा एक हजार आठ सय ९० जना प्यालेस्टाइनी बन्दी रिहा गर्ने तयारी छ । तर युद्ध विराम लागु हुनु केही घण्टा अघि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सम्बोधन गर्दै आफ्नो देश अर्को आक्रमणमा जान सक्ने चेतावनी दिएका छन् ।
नेतान्याहुले युद्ध विरामलाई अस्थायी भन्दै दोस्रो चरणको युद्ध विराम भन्दा अघि सबै सम्भावना बाँकी रहेको बताए । उनले १५ महिनाको युद्धको समीक्षा गर्दै हमास नेता याया सिनवार मारिनु इजरायलको महत्त्वपूर्ण सफलताको रूपमा व्याख्या गरेका छन् । उनले मध्यपूर्वको नक्सा नै बदलिएको दाबी गर्दै हमास अहिले एक्लो भएको जिकिर गरेका छन् ।
हमास लडाकु समूहले सन् २०२३ को अक्टोवर ७ तारिखमा इजरायलमा आक्रमण गरेको थियो । त्यसबेला एक हजारभन्दा धेरैले ज्यान गुमाएका थिए, दुई सय ५१ जनालाई हमासले बन्धक बनाएको थियो । यो बीचमा भएको अस्थायी युद्धविरामका बेला एक सय नौ जनालाई हमासले मुक्त गरेको थियो । पछिल्लो सहमतिमा पनि युद्धविरामसहित हमास र इजरायल दुवैले बन्दी रिहा गर्ने सर्त छ । नेपालका विपिन जोशीसहित तान्जानिया, थाइल्यान्ड र इजरायलका नागरिक हमासको नियन्त्रणबाट मुक्त हुन बाँकी छन् ।