रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफूले केही समय अगाडी नै युक्रेनमा आक्रमण गरेको भए राम्रो हुने बताएका छन् । उनले युक्रेनमा आक्रमण गर्न ढिला भएको भन्दै सन् २०२२ को युद्धका लागि बनाएको विशेष योजना बल्ल अगाडि बढेको बताए ।
एक अन्तर्राष्ट्रिय टिभी च्यानलमार्फत प्रसशारण भएको पत्रकार सम्मेलनमा पुटिनले आणविक हतियार, सिरियाका निर्वासित नेता तथा अन्य घरेलु एजेन्डाबारे आफ्नो धारणा राखेका छन् ।
उनले रुसको राष्ट्रिय झन्डा र कब्जा गरिएको युक्रेनी भूभागसहितको रुसको नक्सालाई छेउमा राखेर मन्तव्य राखेका बीबीसीले जनाएको छ ।
कार्यक्रममा पुटिनले रुसको सार्वभौमिकता बलियो हुँदै गएको दाबी गरेका छन् । उनले सिरियाली पूर्व राष्ट्रपति बशर अल असद भाग्नुलाई रुसको हारको रूपमा बुझ्नु गलत भएको समेत बताए । असदलाई रुसले आश्रय दिएको भएपनि पुटिनले अझै उनीसँग कुराकानी गरेका छैनन् ।
पुटिनले चीनसँगको सम्बन्ध अहिलेसम्मकै माथिल्लो उचाइमा पुगेको र विश्वलाई नयाँ दिशा दिन सहकार्यको सम्भावना रहेको बताएको खबरमा उल्लेख छ ।








