इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको सरकारको विरुद्धमा व्यापक प्रदर्शन भइरहेको छ । हजारौँ मानिस सडकमा उतरी विरोध जनाइरहेका छन्, विशेष गरी गाजामा बन्धक बनाएका ६ जनाको शव भेटिएपछि प्रदर्शन चर्किएको हो । प्रदर्शनकारीहरूको मुख्य माग प्रधानमन्त्री नेतन्याहु र उनका काबिनेटले बन्धकहरूलाई रिहा गर्न हमाससँग सम्झौता गर्नुपर्ने हो ।
तेल अवीव, जेरुसेलम, र अन्य प्रमुख शहरहरूमा प्रदर्शनकारीहरूले इजरायली झण्डा बोकेर प्रदर्शन गरिरहेका छन् । हिजो शान्तिपूर्ण रूपमा शुरु भएको आन्दोलन आज तेल अवीवका प्रमुख राजमार्गहरू अवरुद्ध गरिरहेको छ । बीबीसीका अनुसार, प्रदर्शनकारीहरूले सडकहरूमा अवरोध सिर्जना गरेका छन् ।
प्रदर्शनकारीहरूले प्रधानमन्त्री नेतन्याहु र उनका सरकारले बन्धकहरूको रिहाइका लागि हमाससँग सम्झौता गर्न पहल नगरेको आरोप लगाएका छन् । इजरायलमा ७ अक्टोबर २०२३ मा हमासको आक्रमणपछि सयौँ मानिस बन्धक बनेका थिए । यसैबीच, इजरायलको ट्रेड युनियनले पनि सरकारलाई हमाससँग सम्झौताका लागि दबाब दिन देशव्यापी हडतालको आह्वान गरेको छ ।