अमेरिका र बेलायतले शेख हसिनालाई शरण दिन अस्वीकार गरेका छन् । मिडिया रिपोर्टअनुसार, अमेरिकाले हसिनाको भिसा रद्द गरिदिएको छ, जसले उनको संभावित अमेरिका भ्रमण रोकिएको बताइएको छ ।
हसिना बेलायत जान लागेको समाचार सार्वजनिक भएपछि, बेलायतले उनलाई अहिलेसम्म शरण दिन स्वीकृति नदिएको जानकारी आएको छ । ढाका ट्रीबुनका अनुसार, ढाकास्थित अमेरिकी दूतावासले हसिनाको भिसाबारे प्रक्रिया दिन अस्वीकार गरेको छ । दूतावासले कुनै पनि व्यक्तिको भिसाबारेको सूचना निजी विषय भएकोले यसबारेमा जानकारी दिन नमिल्ने बताएको छ ।
तर, विभिन्न मिडियाका अनुसार, अमेरिकाले हसिनाको भिसा रद्द गरेको उल्लेख छ ।
बेलायतले शरणको लागि बेलायत बाहिरबाट प्रवेश गर्न नपाउने कुरा स्पष्ट गरेको छ । मिडिया रिपोर्टमा शेख हसिनाले बेलायतसँग शरणको लागि निवेदन दिएको र कानुनी प्रक्रिया चलिरहेको दाबी गरिएको छ ।
सोमबार प्रधानमन्त्रीबाट राजीनामा दिएपछि, हसिना हेलिकप्टरमार्फत भारतमा पुगेकी थिइन् र अहिले भारतको सुरक्षा घेरामा अज्ञात स्थानमा रहेकी छन् । उनलाई भारतले कडा सुरक्षा प्रदान गरिरहेको छ । उनी अब कहिलेसम्म भारतमा बस्छिन् भन्ने स्पष्ट छैन ।
यसैबीच, बङ्गलादेशबाट हसिनालाई भारतले फिर्ता गर्नुपर्ने आवाज उठ्न थालेको छ । बङ्गलादेशको बार एसोसियसनले भारतलाई तुरुन्त हसिनालाई फिर्ता गर्न माग गरेको छ ।