बंगलादेशमा १५ वर्षदेखि निरन्तर सत्तामा रहेकी प्रधानमन्त्री शेख हसिना विरोध प्रदर्शनको चपेटामा परेर राजीनामा दिएर देश छाड्न बाध्य भएकी छन् । हसिनाको पलायनको समाचार सार्वजनिक भएपछि लाखौं प्रदर्शनकारीले ढाकाका सडक र चोकमा खुसी मनाएका छन् । यस प्रकारको उग्र आन्दोलनले गत वर्ष श्रीलंकाका राष्ट्रपति गोताबाय राजापाक्षेले पनि सत्ताच्यूत भएको घटनालाई पुनः सम्झाएको छ ।
बंगलादेशमा आरक्षणको विरोधबाट सुरु भएको आन्दोलनले अत्यधिक राजनीतिक उथलपुथल निम्त्याएको छ । प्रदर्शनकारीहरूले सन् २०२२ मा श्रीलंकामा भएको घटनाको पुनरावृत्ति गर्दै प्रधानमन्त्री हसिनाको आधिकारिक निवास कब्जा गरेका थिए । आन्दोलनकारीहरूले राजापाक्षेको स्विमिङ पुल तथा जिममा ट्रेडमिल लगायत अन्य सुविधा प्रयोग गरेको साथै निवासबाट माछा, तरकारी र अन्य सामान लुटपाट गरेका थिए, जसको भिडियो सामाजिक मिडियामा भाइरल भएको छ ।
सङ्कटको बेला, हसिनाकी बहिनी सेख रेहाना पनि उनलाई साथमा लिएर भारतीय हिन्डन एयरबेसमा अवतरण गरेकी छन् । व्यक्तिगत रूपमा भारतसँग अत्यन्त सुमधुर सम्बन्ध राख्दै आएकी पूर्वप्रधानमन्त्री हसिना नयाँ दिल्लीको हिन्डन एयरबेसमा अवतरण गरेकी थिइन् । उनी दिल्ली हुँदै तेस्रो मुलुक (सम्भवतः बेलायत) जाने बताइएको छ । हसिनाको निरन्तर सत्तामा रहने प्रवृत्ति र राजनीतिक दमनले गर्दा जनतामा गहिरो आक्रोश फैलिएको छ ।
समयमै आन्दोलनकारीको मागलाई सम्बोधन गर्न आनाकानी गरेकी ७६ वर्षीया हसिना सन् २००९ देखि निरन्तर सत्तामा थिइन् । जनस्तरमा भएको उग्र विरोध प्रदर्शनपछि हसिना सत्ताच्यूत मात्र भएकी छैनन्, देशै छाड्न बाध्य भएकी छन् ।
हालैको घटनामा, बंगलादेशका विद्यार्थीहरूले आन्दोलनको नेतृत्व गर्दै सत्तापक्षको विरुद्धमा आवाज उठाएका छन् । यसै क्रममा, २९ जुलाइको आन्दोलनमा कम्तीमा ९० जनाको मृत्यु भएको थियो । सर्वोच्च अदालतको आदेश पछी कोटा प्रणालीको आदेश सकारात्मक भएपनि ज्यान गुमाएका विद्यार्थीहरुको न्यायबिना आन्दोलन नरोकिने नेतृत्वकर्ताले बताएका थिए । आन्दोलनकारीहरूले सबै कलकारखाना र सार्वजनिक यातायात बन्द गर्न आह्वान गर्दै प्रधानमन्त्रीको राजीनामा माग गरेका थिए । विद्यार्थीहरूको अगुवाइमा भएको यो आन्दोलन तिब्र रूपमा चर्केको थियो ।
हसिनाले राजीनामा दिनु अगाडि, सरकारले आन्दोलनमा संलग्न व्यक्तिहरूलाई आतंकवादीको रूपमा व्याख्या गर्ने प्रयास गरेको थियो । तर, अबको स्थितिमा अन्तरिम सरकार गठनको कुरा पनि उठाइएको छ । सेना प्रमुख जनरल बाकेर–उजमनले टेलिभिजन सम्बोधनमा सबै पक्षलाई शान्ति र सुरक्षाको लागि सहकार्य गर्न अनुरोध गरेका छन् ।
हसिनाका छोरा सजिब वाजेद जोयले पूर्वप्रधानमन्त्री हसिना अब राजनीतिमा नफर्कने बताएका छन् । बिबिसीको कुराकानीमा जोयले पारिवारिक सल्लाह अनुसार नै हसिनाले देश छाडेको जानकारी दिँदै जोयले आन्दोलन थप चर्किएपछि सत्ता छाड्ने मनस्थितिमा पुगेको उल्लेख गरेका छन् ।