मंसिर ४,२०७६ / ०६ : १८ पूर्वान्ह / 2019-11-20 06:18 am

        डेंगुको महामारी - ६७ जिल्लाका ७,३७० संक्रमित, ६ को मृत्‍यु

        - २१ घण्टा अगाडि
        असोज २,२०७६

        काठमाडौं, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले दिएको तथ्यान्क अनुसार डेंगुबाट ६ जनाको मृत्यु भएको छ भने ६७ जिल्लाका ७ हजार ३ सय ७० जना संक्रमित भएका छन । 

        गत साउन १ गतदेखि असोज १ गतेसम्मको तथ्यांक सार्वजनिक गर्दै महाशाखाले काठमाडौंमा दुई जना, सिन्धुपाल्चोक, सुनसरी, चितवन र डोटीमा १-१ जना गरी ६ जनाको ज्यान गएको जानकारी दिएको हो ।  

        पछिल्लो तथ्यांक अनुसार डेंगुबाट प्रदेश १ का १२ जिल्लामा डेंगुको संक्रमण फैलिएको छ । जहाँ ९५६ जना संक्रमित छन् । प्रदेश १ को सुनसरी र झापामा सवैभन्दा बढी प्रभावित भएका छन् । झापामा ३९७ र सुनसरीमा ३८२ जना डेंगुबाट संक्रमित भएको महाशाखाले जनाएको छ ।

        त्यसैगरी प्रदेश २ का ८ जिल्लामा डेंगुको संक्रमण फैलिएको र ६२ जना संक्रमित रहेको जनाएको छ । 

        प्रदेश ३ मा सबैभन्दा बढी डेंगुको संक्रमण फैलिएको छ । प्रदेश ३ का १३ जिल्लामा संक्रमण फैलिएको र ३ हजार ९ सय २९ जना डेंगुबाट सक्रिमित रहेको उल्लेख छ । प्रदेश ३ को काठमाडौंमा सवैभन्दा बढी १ हजार ३ सय ३१ जना संक्रमित छन् भने चितवनमा १ हजार २ सय ३७ जना डेंगुबाट संक्रमित रहेको महाशाखाले जनाएको छ ।

        त्यस्तै, गण्डकी प्रदेशका १० जिल्लामा डेंगुको संक्रमण फैलिएको र १ हजार ९ सय ६४ जना संक्रमित रहेको उल्लेख छ । प्रदेश ५ का ११ जिल्लाका ३ सय ९६ जना, कर्णाली प्रदेशमा ११ जना र सुदूर पश्चिम प्रदेशमा ५२ जना डेंगुबाट संक्रमित रहेको महाशाखाले जनाएको छ ।

          सम्बन्धित समाचारहरु