झापा, डेंगीबाट गत साउनदेखि हालसम्म कोशी प्रदेशमा मात्र एक हजार ६५ जना सङ्क्रमित भएका छन् । यस अवधिमा डेंगी संक्रमणका कारण झापामा दुई जनाको मृत्यु भएको छ ।
झापामा डेंगीबाट मृत्यु हुनेमा हल्दिबारी–३ की ४२ वर्षीया विमला दाहाल पौडेल र विर्तामोड–४ का आठ वर्षीय आलोकजंग बस्नेत रहेको स्वास्थ्य कार्यालयका डेंगी फोकल पर्सन वीरेन्द्र दासले बताएका छन् । झापामा साउन १ गते यता संक्रमितको संख्या १२८ पुगिसकेको छ । कोशी प्रदेशमा यस अवधिमा सबैभन्दा बढी मोरङमा संक्रमितको संख्या ५३२ पुगेको छ भने त्यसपछि झापा, धनकुटा र सुनसरीमा डेंगीका संक्रमित धेरै पाइएको छ ।
यसैगरी, उदयपुरमा ६९ जना, भोजपुरमा ६८, सङ्खुवासभामा ६७, ओखलढुंगामा २९, पाँचथरमा २१, सोलुखुम्बुमा ६, इलाममा पाँचजना, खोटाङमा चारजना र तेह्रथुममा दुईजनामा डेंगी संक्रमण भएको पाइएको छ ।
ताप्लेजुङमा भने डेंगीको एकजना पनि संक्रमित पाइएको छैन । स्वास्थ्य निर्देशनालय धनकुटाका फोकल पर्सन सुरक्षा खत्रीका अनुसार धनकुटामा ८० र सुनसरीमा ७० जनामा डेंगीको संक्रमण भएको छ ।
गत वैशाखदेखि नै कोशी प्रदेशका अधिकांश जिल्लामा डेंगीको संक्रमण फैलिन थालेको थियो । वैशाखदेखि असारसम्म कोशीमा तीन सय ८६ जनामा डेंगी संक्रमण भइसकेको थियो । झापामा साउन १ गतेयता सबैभन्दा धेरै विर्तामोडमा ८१ जनामा डेंगीको संक्रमण भेटिएको छ । त्यसपछि दमकमा २२ जनामा संक्रमण पुष्टि भयो भने हल्दिबारीमा सातजना र भद्रपुरमा पाँचजनामा डेंगीको संक्रमण भेटिएको छ ।