डेँगीको सङ्क्रमण बढेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै सरकारी कार्यालयलाई ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरेको छ ।
हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालय र अस्पताल परिसरमा सरसफाइ गर्नाका साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरिएको मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले जानकारी दिए ।
डेँगीको सङ्क्रमण बढेपछि स्वास्थ्य मन्त्रालयले गत वर्ष पनि अभियान सञ्चालन गर्न निर्देशन दिएको थियो । सरकारी अस्पतालमा डेँगीका बिरामीको उपचार खर्च सरकारले व्यहोर्ने प्रवक्ता बुढाथोकीले जानकारी दिएका छन् । मन्त्रालयले सरकारी अस्पताललाई डेँगी सङ्क्रमितको उपचार व्यवस्थापन मिलाउन आग्रह गर्दै अस्पताल परिसरमा ‘डेँगी डेस्क’ स्थापना गरी सम्पर्क व्यक्ति तोक्न निर्देशन दिएको छ ।
प्रवक्ता बुढाथोकीले स्वास्थ्य क्षेत्रको एकल प्रयासले मात्र डेँगी सङ्क्रमण नियन्त्रण गर्न नसकिने भएकाले आ–आफ्ना कार्यालयमा डेँगी सङ्क्रमणबारे सतर्कता र सचेतना कार्यक्रम सञ्चालन गर्न पनि निर्देशन दिएको छ । साथै प्रदेश र स्थानीय तहका सबै निकायको सहयोग आवश्यक रहेको बताए । यो वर्ष ७३ जिल्लाका दुई हजार तीन सय ६५ जनामा डेँगी सङ्क्रमण र एक जनाको मृत्यु भएको छ ।
जसमध्ये तनहुँमा एक ५० वर्षीया पुरुषको मृत्यु भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार बागमतीमा ७४७, कोशीमा ५३७, गण्डकीमा ५०८, लुम्बिनीमा २४७, सुदुरपश्चिममा २४२, मधेशमा ४७ र कर्णाली प्रदेशमा ३८ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।प्रवक्ता डा बुढाथोकीले ‘अघिल्लो वर्षको तुलनामा बिरामीको संख्यामा वृद्दि नभएको तर जोखिम भने कायम नै रहेको साथै मन्त्रालय तथा मन्त्रालयका मातहतका निकायले डेंगुकोे निरन्तर निरागनी र पूर्व तयारी तथा प्रतिकार्यको गतिविधि सञ्चालन गरिरहेको छ ।’