चैत ६,२०८१ / ०१ : २१ पूर्वान्ह / 2025-03-20 01:21 am
      • param ad
      • furniture
      • veera Incorporation

      भयावह रुपमा फैलिएको लम्पी स्किन नियन्त्रण हुँदै, संक्रमित मध्ये १४ लाख पशु भए निको

      - १ वर्ष अगाडि
      भाद्र २५,२०८०

      काठमाण्डौ, पछिल्लो समय भयावह रुपमा फैलिएको लम्पी स्किन रोग नियन्त्रणका लागि तीनवटै तहका सरकारहरू समन्वय गरी काम गरेपछि नियन्त्रणउन्मुख रहेको सरकारले जनाएको छ । 

      पशु चौपायामा लाग्ने लम्पी स्किन रोग पशुसेवा विभागकाअनुसार ७७ वटै जिल्लामा सङ्क्रमण पुष्टि भएकोमा अहिले मनाङ र मुस्ताङ जिल्लामा यो रोग पूर्णरूपमा नियन्त्रणमा आइसकेको छ ।

      यो रोगबाट कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र कोशी प्रदेशका मध्य पहाडी तथा पहाडी क्षेत्रमा रहेका पशुहरू बढी प्रभावित भएका थिए । अहिले यी क्षेत्रमा पनि सङ्क्रमण घट्दो क्रममा रहेको छ । यो रोग लागेका १५  लाख १९ हजार ७ सय ७९ पशु चौपायामध्ये झण्डै १४ लाख निको भइसकेका विभागका वरिष्ठ पशु विकास अधिकृत डाक्टर चन्द्र ढकालले जानकारी दिएका छन्।

      डाक्टर ढकालका अनुसार १३ लाख ९३ हजार ५ सय ९५ पशु चौपाया निको भएका छन् । अहिले सङ्क्रमित पशुको सङ्ख्या ७३ हजार ६ सय ३६ रहेको छ ।   लम्पी स्किन विरुद्धको खोप अभियानलाई तीव्र पारिएकाले रोग रोकथाम हुन थालेको हो ।

      अहिलेसम्म १३ लाख ६९ हजार मात्रा खोप आयात भइ सातवटै प्रदेशका विभिन्न जिल्लाहरूमा वितरण गरिएको छ । अहिलेसम्म झण्डै १० लाख गाईभैँसीलाई यो रोग विरुद्धको खोप दिइएको छ । यसमध्ये धेरैजसो सङ्ख्या गाईको छ ।

      रोगको प्रकोप फैलिएका ठाउँमा प्रदेशसँग समन्वयमा पशु चिकित्सकसहितको टोली परिचालन गर्ने गरिएको छ । लम्पी स्किनका कारण अहिलेसम्म ५२ हजार ५ सय ४८ वटा पशु मरेका छन् । यो रोग नेपालमा पहिलो पटक २०७७ सालको असार महिनामा मोरङको सुन्दरहरैँचा नगरपालिकामा देखापरेको थियो ।

      कृषि मन्त्रालयले लम्पी स्किन रोगका कारण पीडित भएका किसानलाई राहत दिने बताए पनि निर्णय भइसकेको छैन । किसानले आफूहरुलाई राहत दिनु पर्ने माग गर्दै आएका छन् ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d