काठमाडौँ, नेपालमा पहिलोपटक प्लाज्मा थेरापी प्रक्रियाबाट कोरोना सङ्क्रमितको स्वास्थ्य सुधार भएको छ । त्यस्तै, अर्का एक बिरामीमा उपचार शुरु गरिएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा स्वास्थ्य अवस्था जटिल भएर सघन उपचार कक्षमा भर्ना भएका एक जना विराटनगरका बिरामीमा प्लाज्मा थेरापीको परीक्षण सफल भएको हो ।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बिहिबार भर्ना भएका बिरामीमा प्लाज्मा थेरापी गरेर उपचार गर्दा ४८ घण्टाभित्र ७० प्रतिशत निको भएको अस्पतालमा कोभिड–१९ व्यवस्थापनका संयोजक डा. सनतकुमार दासले जानकारी दिएका छन् । शरीरमा अक्सिजनको मात्रा कम भई स्वास्थ्य अवस्था जटिल भएको, भेन्टिलेटरमा राख्नुपर्ने र अक्सिजनको उच्च बहावको आवश्यक पर्ने बिरामीमा प्लाज्मा थेरापी सहयोगी सिद्ध हुन्छ ।
शिक्षण अस्पताल महाराजगञ्जमा बिरगंजका अर्को एकजना बिरामीमा समेत प्लाज्मा थेरापीको परीक्षण गरिदैछ । डा. दासले प्लाज्मा थेरापीबाट बिरामी निको हुने दर बढ्नुका साथै मृत्युदर घट्ने विश्वास गरेको बताए । उनले पहिलो परीक्षणमा ४८ घण्टाभित्रै ७० प्रतिशत सुधार देखिएकोले अर्को बिरामी पनि छिट्टै सुधार हुने विश्वास गरेको बताए ।
प्लाज्मा थेरापीका लागि करिब चार देखि पाँच हजार रुपियाँ खर्च हुन आउँछ । यद्दपी हाल सरकारी खर्चमै प्लाज्मा थेरापी भएको हो ।








