वैशाख ६,२०८१ / १० : ०७ पूर्वान्ह / 2024-04-18 10:07 am
      • param ad
      • furniture
      • veera Incorporation

      आमाको काखमा लडीबुडी गर्ने १२ बर्षकी गंगा आँफै आमा बनेपछि

      - ५ वर्ष अगाडि
      असोज २९,२०७५

      हेटौंडा, आमाबुबाको काखका लडीबुडी गर्नुपर्ने उमेर । हाँसखेल र रमाइलो गर्नुपर्ने उमेर । चञ्चल अनि साथीभाइसँग यताउती पुगेर रमाइलो गर्नुपर्ने र पढ्नुपर्ने उमेर ।

      तर, उनले भागेर बिहे गरेको ९ महिना भएको छ भने गर्भ रहेको ७ महिना । २०७४ पुस ८ गते मकवानपुरको कैलाश गाउँपालिका–७ का १८ वर्षका किशोरसँग उनको भागी बिहे भएको हो । कक्षा–४ मा पढ्दै गरेकी गंगा चेपाङ र ३ कक्षामा पढ्दै गरेका उनका पतिको बिहेपछि पढाइ छुट्यो । गंगा, राक्सिराङ–३ स्थित राष्ट्रिय प्राथमिक विद्यालयमा पढ्थिन् भने उनका पति कैलाश–७ मा पढ्थे ।

      मकवानपुरको अतिबिकट राक्सिराङ–३, औलेस्थित माइती आएको बेला गंगाले १२ वर्षमै गर्भवती भएको कुरा लुकाउन खोजिन् । उनले आफू १५ वर्ष पुगेको भन्दै ढाँट्न खोजे पनि उनी पक्रिइन् । उनकी आमा राममायाले भनिन्–२०६३ सालमा जन्मेकी हो यो । मामाघर जाँदा चिनजान भएका केटासँग ‘मन मिलेपछि’ तत्काल बिहे गर्ने सोच बनाए । चिनजान र मन परापर भएको २ महिना नबित्दै बिहे गरेकी गंगालाई आफूसँगैका साथी खेल्ने र रमाइलो गर्ने गरिरहँदा उनी भने ठूलो पेट लिएर लाज मानेर बस्नुपरेको छ । उनले ‘बिहेवारि बीस वर्षपारि’ भन्ने नारालाई चुनौती दिएकी छन् ।

      कलिलो उमेरमा बिहे गरेकोमा उनलाई पछुतो भने छ । तर, कलिलो उमेरमा बिहे गर्नुहुन्न भनेर सम्झाउने केही भएनन् भन्छिन् उनी । ‘बिहे गरे पनि कसैले यसरी बिहे गर्न हुँदैन भनेर सम्झाएनन्’ गंगाले भनिन् बिहे भइहाल्यो, पढाइ पनि गयो । गंगाकी जुम्ल्याहा बहिनी जमुना स्थानीय सूर्याेदय माविको ६ कक्षामा अध्ययनरत् छिन् । उनले दिदीले भागेर बिहे गरेकोमा अचम्मित भएको बताइन् । उनलाई दिदीको पढाइ बिग्रेकोमा चिन्ता छ । गाउँमा १२ वर्ष उमेरमै गर्भवती भएको घटना आफूले पहिलोपटक पाएको सरिखेत स्वास्थ्य चौकीकी अनमी सन्तोषी अधिकारीले बताए ।

      बालविवाह र प्रजनन् स्वास्थ्य समस्या बिकराल रहेको भन्दै गाउँपालिका अध्यक्ष राजकुमार मल्लले गाउँमा अभियानकै रुपमा बाल विवाहविरुद्ध कार्यक्रम सञ्चालन गरिने बताए । यो त एक प्रतिनिधिमूलक घटनामात्र हो । मकवानपुरमा २० वर्षभन्दा कम उमेरका किशोरी गर्भवती हुने क्रम बढ्दो देखिएको छ । हेटौंडा अस्पतालमा सुत्केरी गराएका महिलाको तथ्यांकले यस्तो देखाएको हो ।

      हेटौंडा अस्पतालको तथ्यांकअनुसार पुसमा २० वर्षमुनिका २६ किशोरी आमा बन्दा माघमा २० जना किशोरी आमा बने । किशोरी आमाहरु अधिकांश जनजाति समुदायको रहेको हेटौंडा अस्पतालले जनाएको छ ।

      सानै उमेरमा गरिएको बिहे अपरिपक्व अवस्थामा सुत्केरी हुँदा शिशु र आमा दुवैको स्वास्थ्यमा नकारात्मक असर देखिन्छ । किशोरीको शारीरिक अवस्था विकास हुने अवस्थामा बच्चाको विकास राम्रो हुँदैन । शारीरिक तथा मानसिकरुपमा अपरिपक्व भएका आमाले गर्भाधारण गर्नुले ठूलो समस्या ल्याउन सक्ने खतरा बढाएको स्वास्थ्यकर्मीले स्पष्ट पारेका छन् ।

      सानो उमेरमा आफूखुसी बिहे गर्ने प्रचलनले पछ्रिल्लो समयमा २० वर्षमुनिका गर्भवतीको संख्या वृद्धि गरेको हो । सानै उमेरमा बिहे गर्दा महिलाको पाठेघर खस्ने, पाठेघरको क्यान्सर हुनेलगायत पाठेघर सम्बन्धि रोगहरु देखापर्छन् । यसले पछिसम्म आमा र बालबालिकालाई असर गर्छ । २० वर्षभन्दा कम उमेरका किशोरी सुत्केरी हुनुले ठूलो घटना घट्नसक्ने खतरासमेत बढाएको छ ।

      उमेर नपुगी गर्भवती हुँदा महिलामा पाठेघरबाट पानी बग्ने, पाठेघर दुख्ने, रक्तश्राव हुने, पाठेघर खस्नेलगायत समस्या देखिन्छ । सानो उमेरमा अर्थात् शारीरिक र मानसिक दुवैरुपमा आमा बन्न तयार नभएर गर्भवती हुँदा आमा र बच्चा दुवैको स्वास्थ्यमा नकारात्मक असर पुग्नसक्छ ।

      आधुनिक अवस्थामा जसरी समाज परिवर्तन भइरहेको छ, त्यसले २० वर्षभन्दा कम उमेरमा बिहे गर्नेको संख्या बढाएको छ । सानो उमेरमा नै आफूखुसी बिहे गर्ने र बिहे गरेको ६ महिना नबित्दै गर्भवती हुने क्रम मकवानपुरमा बढेको छ । अपरिपक्व आमालाई गर्भावस्था सम्बन्धि जटिलता, समय नपुगी शिशु जन्मने, धेरै समय सुत्केरी व्यथा, शिशुको तौल कम हुने, स्वस्थ्य शिशु नजन्मने, शल्यक्रिया गर्नुपर्ने अवस्थालगायत समस्या देखिनसक्छ ।

      अशिक्षा, गरिबी, अन्धविश्वास र कतिपय जातीय मान्यताले १३ वर्षदेखि नै बिहे गर्ने प्रचलन छ । सानै उमेरमा बिहे गर्ने चलन र परिवार नियोजनका साधन प्रयोग नगर्नाले गर्भवती किशोरीको संख्या बढेको हो ।

      कम उमेरमा बिहे गर्ने र चाँडै आमा बन्ने हुँदा किशोरीको ज्यान जोखिममा त पर्छ नै, त्यसका कारण यस्ता किशोरी घरेलु हिंसाको शिकार हुन बाध्य हुन्छन् । जिल्लामा बालविवाह गर्नेको संख्या ठूलो रहेको देखिन्छ । बालविवाह अन्त्यका लागि लामो समयदेखि जिल्लामा विभिन्न कार्यक्रम भइरहेका छन् । तर, पनि बालविवाहमा कमी आउन सकेको छैन ।

      सरकारी तथा गैरसरकारी निकायबाट बालविवाहविरुद्ध अभियान सञ्चालन भइरहेका छन् । बालविवाहविरुद्ध काम गर्ने संघसंस्थाले बालविवाह न्यूनीकरण भएको दाबी गरिरहे पनि अवस्था उस्तै रहेको अस्पतालको तथ्यांकबाट प्रष्ट हुन आउँछ । जिल्लामा बर्सेनी बालअधिकारका लागि राष्ट्रिय बाल दिवस, अन्तर्रा्ष्ट्रिय बाल दिवस र बालिका दिवसलगायत बालअधिकारका लागि दिवसहरु मनाइन्छ । थुप्रै कार्यक्रमहरु गरिन्छ । तर, जिल्लामा तथ्यांक हेर्दा बाल विवाह चुनौतीपूर्ण छ ।

      अन्तर्रा्ष्ट्रिय बाल दिवसको सन्दर्भ पारेर सेभ द चिल्ड्रेनले प्रतिवेदन तयार पार्दा बालिका आमाको संख्यालाई पनि आधार मानेको थियो । नेपाल बालविवाहको विषयमा निकै पछि परेको छ । नेपालमा १५–१९ वर्षका किशोरीको विवाहको दर २७.१ प्रतिशत रहेको प्रतिवेदनले देखाएको छ । यही उमेर समूहका हजार जना किशोरीमध्ये ७१.३ जनाले बच्चा जन्माइसक्ने गरेको पाइएको छ ।

      नेपाल समाचारपत्र बाट

        सम्बन्धित समाचारहरु