वैशाख ३१,२०८३ / ०६ : ४८ अपरान्ह / 2026-05-14 06:48 pm
      • param ad
      • furniture
      • veera Incorporation

      निमय उल्लङ्घन गर्ने चालक, अधिकारको दुरुपयोग गर्ने ट्राफिक प्रहरी

      - ७ वर्ष अगाडि
      जेष्ठ ११,२०७५

      काठमाण्डौ । सर्वसाधारणसँग सहकार्य गर्दै सर्वसाधारण अर्थात जनताकै सेवामा परिचालन हुने राज्यको सबैभन्दा छरितो अङ्गको रुपमा प्रहरीलाई लिइन्छ । प्रहरी अन्तरगत नै ट्राफिक प्रहरी महाशाखा स्थापना गरेर सडक र सवारी व्यवस्थित गर्ने काम हुँदै आएको छ । 

      सबैभन्दा धेरै सवारी साधन गुड्ने उपत्यकामा सवारी साधनको तुलनामा करिब तीन हजार ट्राफिक प्रहरीको अवश्यकता पर्छ । तर अहिले मुस्किलले एक हजार मात्रै छन् ।

      उपत्यकामा दैनिक करिब १० लाख सवारी साधन गुड्छन् । ति सवारी साधनलाई व्यवस्थित गर्न ट्राफिक प्रहरीलाई निकै कठीन छ । 

      सवारीचालकहरुले लेन अनुशासनको वृहत रुपमा  पालना नगरेको कारण  महाशाखाले २०७१ असोज २६ गेतवाट लेन अनुशासन पालनामा कडाई अभियान सञ्चालनमा ल्याएको थियो । 

      सो अभियानको मितिवाट गत चैत्र मसान्तसम्मको अवधिमा २ लाख ४३ हजार ७ सय ४६ पुरुष तथा १२ हजार १ सय ७६  मलिा गरी जम्मा २ लाख ५५ हजार ९ सय २२ जना सवारी चालकहरु लेन अनुसाशन पालना नगरेका कारण कारबाहीमा परेका छन् ।

      यसबाट स्पष्ट हुन्छ कि सवारी साधन चलाउनेहरु लापरबाही गर्न माहिर छन् । 

      त्यसैगरी पुटपाथ तथा सडकमा पार्किङ गर्ने सवारी साधन विरुद्ध पनि महाशाखाले आर्थिक वर्ष २०७१÷०७२ सालवाट कारवाहीको अभियान नै सञ्चालन गरेको थियो । उक्त अभियानपश्चात चैत्र मसान्तसम्मको अवधिमा ९० हजार ३ सय ४७ व्यक्तिगत तथा सार्वजनिक सवारी चालकलाई कारवाही गरेको महाशाखाले जनाएको छ ।

      त्यसो त सवारी चालकका पनि बाध्यता छन् । अस्तव्यस्त सडक र सडकको क्षमताभन्दा बढि सवारी साधन हुँदा ट्राफिक नियम पालना गरेर सवारी साधन चलाउनै मुस्किल छ । तर कारबाहीमा पर्ने अधिकांश चालक भने ट्राफिक प्रहरीको आँखा छलेर नियम उल्लङ्घन गर्न खोज्ने छन् ।

      नियम पालना नगर्ने समस्या एकतातिर छ भने नियम पालना गराउने निहुँमा चालकलाई अनवाश्यक समस्या दिने ट्राफिक प्रहरी पनि छन् ।

      कतिपय अवस्थामा नियमको बहानामा मानवीय संवेदनासमेत विर्सेर कारबाही गर्नेहरुदेखि  चालक पनि वाक्क छन् । अर्कोतिर पहुँचवालालाई ठूलै गल्ती गरे पनि छुट दिने र निमुखालाई सानो गल्तीमा पनि ठूलौ सजायँ दिलाउन खोज्ने प्रहरी पनि छन् ।

      भद्र एवं परिपक्व तरिकाबाट कानुन पालना गराउँदै समाजमा अपराध नियन्त्रण र शान्ति–सुरक्षा कायम गर्नुपर्ने प्रहरीको पहिचान र स्वभाव जनतासँग निकट हुनुपर्छ । त्यसका लागि उसको छवि जनतामाथि शासन गर्ने शासकको होइन, जनताको सेवा गर्ने सेवकको बन्नुपर्छ । यस्तो छवि र पहिचान अरू कसैले बनाइदिन सक्तैन, प्रहरीले आफ्नै व्यवहारबाट बनाउने हो ।

      तर, ट्राफिक प्रहरी मात्रै होइन, सुरक्षा जाँचमा खटिने प्रहरीहरूबाट समेत त्यस विपरितको व्यवहार प्रदर्शन हुने गरेको छ । खासगरी, रात्रिकालीन सुरक्षा जाँच गर्ने कतिपय प्रहरीहरूमा सेवाको हैन, अधिकारको दम्भ भेटिन्छ । तिनबाट मोटरसाइकल चालकहरूलाई चाबी बन्द गरेर ओर्लन लगाउने, ओर्लेपछि फाल्तु कुरा सोध्ने, सुरक्षा जाँचभन्दा भिन्न हर्कत देखाउने, रात्रिकालीन व्यवसायीहरूमाथि तुच्छ शब्द प्रयोग गर्ने लगायतका कृत्य भइरहेका छन् । जुन प्रहरीको बर्दी सुहाउँदो कुरा होइन । कानुन उल्लङ्घन गर्ने कुसंस्कार बसिरहेको बेला सुरक्षा जाँचमा कडिकडाउ हुनु अस्वाभाविक होइन, तर त्यस क्रममा प्रहरीले आम जनतामाथि हुने व्यवहारको हेक्का राख्नैपर्छ ।

      तर पनि ट्राफिक प्रहरीको प्रयासले सडक दुर्घटनाका घटना न्यूनिकरण हुनु सर्वसाधारणकै लागि सुखद कुरा हो । 

      ट्राफिक नियमको पालना गराउनु भनेको सडक र सवारी व्यवस्थित बनाउँदै दुर्घटना हुन नदिनु हो । 

      ट्राफिक नियमको पालना गर्दा हुने सकारात्मक नतिजालाई नजरअन्दाज गर्दा कतिपय दुर्घटना हुने गरेका छन्  । चालकको लापरबाही कम हुने हो भने ट्राफिक प्रहरीलाई पनि सहज हुने थियो, दुर्घटनाको संख्यामा पनि कमी आउने थियो । 

      यसैका लागि ट्राफिक प्रहरीलले विभिन्न नियम ल्याएर त्यसको पालना गराउने प्रयास गरे पनि नियम उल्लङ्घनको घटना भइरहेको छ । 

      सवारी कानुन विपरीत सवारी साधन चलाउने चालकलाई कारवाहीको दायरामा ल्याईएता पनि चालकहरु भने चेतनशील बन्न सकेका छैनन् ।

      ट्राफिक प्रहरी महाशाखाले लापारवाही रुपमा सवारी साधन चलाउने चालकलाई कानुनी कारबाहीका रुपमा जरिवाना तिराउनुको साथै सचेतनामुलक कक्षा समेत दिने गर्दछ । 

      तर त्यस्तो कक्षामा सकेसम्म सहभागि नै नहुने भइहाले पनि पालना नगर्ने प्रवृत्ति देखिन्छ ।

      ट्राफिक प्रहरी महाशाखाको तथ्याङ्कमा धेरै जसो लापारवाही गर्नेमा माईक्रोबसका चालक रहेका छन् ।   

      सवारी साधनको चापलाई मध्यनजर गरेर उपत्यकामा प्रति घण्टा ३० देखी ४० किलोमिटर सवारी साधन गुडाउन सकिने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । तर चालकले यो संवेदनशीलतालाई पालना गरेको पाइदैन ।

      अन्यभन्दा केही व्यवस्थित सडक भएकाले कोटेश्वरदेखि भक्तपुरसम्मको सवारी साधनको गति भने  प्रतिघण्टा ६० किलोमिटर निर्धारण गरिएको छ । 

      कतिपय अवस्थामा भने चालकहरुले विभिन्न ब्राण्डका सवारी साधनहरु ठूलो आवाजसंगै अस्वभाविक गतिमा गुडाउने गरेको पाईन्छ । ति अस्वभाविक आवाज तथा स्पिडमा सवारी साधन चलाउने चालकलाई पनि कारबाही गर्ने गरिएको छ । 

      विगत २ महिनाको अन्तरालमामा त्यस्ता ३ सय धन्दा धेरै ठूला तथा अस्वभाविक आवाज निकाल्ने सवारी साधनहरुलाई कारवाहीको दायरामा ल्याईसकेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

      ट्राफिक प्रहरीका पिडा :

      विश्वको सातौं प्रदूषित सहरका रुपमा सूचीकृत काठमाडौं उपत्यकाको सडकलाई नियमित चलायमान बनाउन हरेक दिन ८ सय ट्राफिक प्रहरी धुलो, धुवाँ र हिलो खान सडकमा खटिन्छन् ।

      तर ट्राफिक प्रहरीहरुले नुहाउनका लागिसमेत ठाउँ पाउँदैनन् ।

      उपत्यकाको सवारी साधन व्यवस्थापन गर्न ३५ वटा ट्राफिक प्रहरी बिट स्थापना गरिएका छन् । तीमध्ये २९ वटा ट्राफिक बिटमा शौचालय छैन । १६ घन्टा धुलो, धुवाँ र हिलोमा उभिएर आराम गर्न बिटमा आउँदा तिनै ट्राफिकका लागि खानेपानीको व्यवस्था छैन ।

      सरकारले ट्राफिकहरुलाई वर्षमा दुई जोर कपडा दिन्छ । धुलो, धुवाँ र हिलोले दुई जोर कपडा ६ महिना टिक्दैन । सरकारले दुई वर्षमा दिने एकजोर बुट बढीमा तीन महिना खप्दैन । 

      देशकै राजधानी अवस्थित काठमाण्डौ उपत्यकालाई व्यवस्थित बनाउनका लागि सडक र सवारीसाधनको व्यवस्थापन गर्नु अति आवश्यक छ । यसका लागि ट्राफिक प्रहरी जिम्मेवार बन्नुपर्छ । सवारी चालकले पनि नियमको पालना गर्नुपर्छ । 

      प्रहरी र जनता मिल्ने हो भने ट्राफिक व्यवस्थापन मात्रै होइन, समाजमा हुने सबैखाले गैर कानुनी काम नियन्त्रण हुन सक्छ ।

        सम्बन्धित समाचारहरु