इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी (आइफा) अवार्डको २० औं संस्करण नेपालमा गर्ने सरकारको निर्णयको आलोचना शुरु भएको छ । नेपाली चलचित्र उद्योगलाई बेवास्ता गर्ने सरकार विदेशी अवार्ड गर्न साढे ४४ करोड रुपैयाँ खर्चिन तयार भएको भन्दै सरकारको आलोचना शुरु भएको हो ।
राजनीतिक दलका नेता तथा कलाकारलगायतले यसको खुलेरै विरोध गर्न थालेका छन ।
नेकपाका नेता भिम रावलले सरकारले आइफा अवार्डका लागि सहयोग दिन लागेको देखेर आश्चर्य लागेको बताएका छन् । उनले यस्ता काम कसको उक्साहट र स्वार्थमा गर्न लागेको भन्दै जवाफ माग गरेका छन् ।
चलचित्र चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले नेपाली चलचित्र उद्योगमा सरकारले लगानी नगरिहरकाबेला यति ठूलो रकम विदेशी अवार्डका लागि खर्च गरिनु गलत भएको बताए । सरकारले सुरक्षा र आवासको प्रबन्ध गर्न सक्ने तर अवार्ड सञ्चालनका लागि रकम दिनु अनुचित भएको उनको तर्क छ ।
चलचित्र विकास वोर्डका पूर्वसदस्य केपी पाठक सरकारको उक्त निर्णयको आलोचना गर्र्दै विदेशी अवार्डमा मोटो रकम खर्चिनुभन्दा विदेशी भाषाका चलचित्र छायांकनमा सुविधा दिनु उपयुक्त हुने बताउँछन् ।








