भाद्र १,२०७९ / ०४ : २७ पूर्वान्ह / 2022-08-17 04:27 am

        प्रियंका चोपडाले बेहुलीमा लगाएको ७५ फुट लामो पहिरनबारे विश्वमा चर्चा

        - ३ वर्ष अगाडि
        मंसिर २०,२०७५

        सेतो र ७५ फुट लामो यो के हो? यो हो प्रियंका चोपडाले आफ्नो विवाहमा लगाएको पहिरन ।

        काठमाडौं, बलिउड अभिनेत्री प्रियंका चोपडाले बुधवार आफ्नो इन्स्टाग्राममार्फत् आफू बेहुली बन्दा लगाएको यो ’वेडिङ गाउन’ सार्वजनिक गरिन् ।

        प्रियंका र अमेरिकी कलाकार निक जोनासले गत साता भारतको राजस्थानस्थित जोधपुरमा भव्य रूपमा विवाह गरेका थिए । बीस लाखवटा सिताराजडित सो पहिरन राल्फ लोरेनले डिजाइन गरेका थिए । सबैको ध्यान भने उनको घुम्टोले तान्यो ।

        चर्चा

        केही महिनाको गहिरो प्रेमपछि प्रियंका र जोनासले यसै वर्षको ग्रीष्मकालमा आफूले विवाह गर्न लागेको घोषणा गरेका थिए । अहिले इन्टर्नेटमा मानिसहरूले उनको पहिरनबारे चर्चा गर्न थालेका छन् । धेरै ठूलो भएकाले त्यो घुम्टो बोक्न अरूको सहयोग आवश्यकता परेको थियो । र केही व्यक्तिले त त्यसलाई अन्य कुरासँग तुलना पनि गरेका छन् ।

        /pagegallery/2018120631.jpg

        तुलना 

        केहीले प्रियंकाको घुम्टोले डचेस अफ ससेक्स मेगन मार्कलको १६ फुट लामो घुम्टोलाई जितेको भनेर टिप्पणी गरेका छन् । प्रियंका चोपडाको यो पहिरनमा हातले नै मोती भरिएको थियो । शनिवार जोधपुरको उम्मेद भवन राजमहलमा आयोजित समारोहमा यो पहिरन लगाएकी थिइन् ।

        ईसाई परम्परानुसार आयोजित विवाह जोनासका पिता पल केविनले सम्पन्न गराएका थिए । उनी आफैँ पादरी हुन् । तीन दिनसम्म चलेको उनीहरूको विवाहको कार्यक्रममा आइतवार हिन्दू परम्परानुरूप अनुष्ठानहरू गरिएको थियो ।

        मिलन

        पिपल म्यागजिनसँग कुराकानी गर्दै प्रियंकाले आफ्नो विवाह ’धार्मिक मिश्रण’ भएको बताएकी छन् । छत्तीस वर्षीया प्रियंका चोपडाले आफ्नो प्रेमसम्बन्ध सार्वजनिक भएको केही दिनमै त्यसको पुष्टि गरेकी थिइन् ।

        एउटा अन्तर्वार्तामा उनले दुई जनाबीच सबैभन्दा पहिले सेप्टेम्बर २०१६ मा कुराकानी सुरु भएको बताएकी थिइन् । मे २०१७ मा ’मेट गाला’ नामक एक कार्यक्रममा उनीहरू दुवै जनालाई सँगै देखिएको थियो र उनीहरूले राल्फ लोरेनले डिजाइन गरेको लुगा लगाएका थिए ।

        सम्बन्ध

        त्यसको एक वर्षपछि नै दुवैको सम्बन्धबारे समाचार आउन थालेको थियो । प्रियंका बलिउडमा सबैभन्दा धेरै कमाउने अभिनेत्रीमध्ये पर्छिन् ।

        सन् २००० मा मिस वर्ल्डको उपाधि जितेकी उनले ५० वटाभन्दा बढी चलचित्रमा अभिनय गरिसकेकी छन् । उनले अमेरिकी चलचित्र उद्योगमा पनि अभिनय गरेकी छन् । टेलिभिजन शृङ्खला ’क्वान्टिको’ बाहेक अन्य केही चलचित्रमा पनि उनी देखा परेकी छन् । बिबिसीबाट 

          सम्बन्धित समाचारहरु