काठमाडौं, विगत २५ वर्षदेखि नेपाली चलचित्रमा अभिनय गरिरहेकी नायिका रेखा थापाले रंगमञ्चमा डेब्यू गरेकी छन् ।
एक युवतीको प्रेम, वियोग, आत्मखोज र सामाजिक संरचनासँगको संघर्षको कथा हो ‘मीरा’ । गैरीधारास्थित कान्तिपुर थिएटरमा लेखक दीपक सिंजालीको उपन्यासमा आधारित नाटक ‘मीरा’मार्फत थापाले रंगमञ्चको यात्रा सुरु गरेकी हुन् ।
सोह्रौं शताब्दीकी कृष्णभक्त मीराबाईको मिथकलाई समकालीन परिवेशमा प्रस्तुत गरिएको यो नाटक, भावनात्मक रूपले सशक्त बनेको छ ।
सुन्दर धितालको परिकल्पना तथा निर्देशनमा बनेको नाटकमा विशाल पहारी, बिन्दा खतिवडा, विशाल देवकोटा, गीत विस्ट, डोरेश खतिवडा, उन्नत उप्रेती र सुनिल खड्काको अभिनय रहेको छ ।
जेठ १९ देखि सुरु भएको नाटक असार ७ गतेसम्म बुधबार बाहेक हरेक साँझ ५ः३० बजे मञ्चन हुनेछ ।








