काठमाडौ,परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा सार्वजनिक गरेको छ ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार यस वर्ष एसईईमा साधारणतर्फ ४ लाख ४९ हजार ६ सय ४२ र प्राविधिकतर्फ ९ हजार ६ सय ३३ परीक्षार्थी सहभागी भएका थिए । राष्ट्रिय परीक्षा बोर्डले पत्रकार सम्मेलन गरेर परीक्षाफल सार्वजनिक गरेको हो । जीपीए ३.६० देखि जीपीए ४.० ल्याउने परीक्षार्थीको संख्या १७ हजार ५ सय ८० रहेको छ ।
त्यस्तै जीपीए ३.२० देखि जीपीए ३.६० ल्याउने परीक्षार्थीको संख्या ५१ हजार १ सय ३७ रहेको छ । त्यस्तै जीपीए २.८० देखि जीपीए ३.२० ल्याउने परीक्षार्थीको संख्या ६३ हजार ७ सय ४१ रहेको छ । जीपीए २.४० देखि २.८० ल्याउने परीक्षार्थी ७६ हजार ५ सय ६४ रहेका छन् । त्यस्तै २.०देखि २.४० ल्याउने परीक्षार्थी ९८ हजार २ सय ७ रहेका छन् । त्यस्तै जीपीए १.६० देखि २.० जीपीए ल्याउने परीक्षार्थी ९५ हजार ३ सय ७ रहेका छन् ।
त्यस्तै जीपीए १.२० देखि १.६० जीपीए ल्याउने परीक्षार्थीको संख्या ४३ हजार ८ सय ४१ रहेको छ । संघीय संरचनाअनुसार पहिलो पटक भएको परीक्षामा देशभरबाट ४ लाख ७५ हजारभन्दा बढी परीक्षार्थी सहभागी भएका थिए । तीमध्ये दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा परीक्षार्थी छन् । परीक्षाफलमा चित्त नबुझी पुनर्याेग गर्नुपरेमा निवेदन दिन सकिने परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
त्यस्तै दुई विषयसम्म सी वा सी भन्दा तलको ग्रेड आएमा पूरक ग्रेडवृद्धि परीक्षामा सहभागी हुन सक्ने छन् । प्रदेश २ मा प्रश्नपत्र बाहिरिएपछि पुनः परीक्षा लिनु परेको र कर्मचारी समायोजन हुँदा पनि जनशक्ति अभाव भएकाले नतिजा ढिला आएको हो ।