भाद्र १,२०७९ / ०४ : ५८ पूर्वान्ह / 2022-08-17 04:58 am

        शिक्षामा १ खर्ब ६३ अर्ब ७६ करोड रकम विनियोजन, वृद्ध भत्ता ३ हजार पुग्यो

        - ३ वर्ष अगाडि
        जेष्ठ १५,२०७६

        सरकारले सामाजिक सुरक्षा भत्ता बढाएको छ । यसअन्तरगत वृद्ध भत्ता दूई हजार रुपैयाँ र एक महिलाको भत्ता एक हजार बढाएर क्रमशः मासिन ३ हजार र २ हजार पुर्याइएको छ । आर्थिक वर्ष २०७६–७७ को बजेटमा शिक्षाका लागि १ खर्ब ६३ अर्ब ७६ करोड रकम विनियोजन गरिएको छ ।

        आगामी आर्थिक वर्षका लागि बजेटले सामाजिक सुरक्षाको विस्तार, उत्पादन शक्तिको विकासमा प्राथमिकता दिएको छ । संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले बजेट प्रस्तुत गर्दै नागरिकका मौलिक हक र अधिकारका रुपमा रहेका आवश्यकता पूर्तिका लागि शीघ्र सेवा उपलब्ध गराउने प्रतिबद्धता बजेटका उद्देश्य र प्राथमिकता रहेको बताए । उनले सामाजिक न्यायसहित आर्थिक भौतिक विकास गरी सन् २०२२ सम्म मुलुकलाई मध्यमस्तरको मुलुक बनाउने आधारशिला खडा गर्ने बजेटको प्राथमिकता रहेको जानकारी दिए । 

        सार्वजनिक, निजी र सहकारीको सहकार्यका माध्यमबाट गुणस्तरीय शिक्षा, स्वास्थ्य, जनताका आधारभूत क्षेत्रमा महत्व दिई अधुरा आयोजनाको कार्यान्वयन, विधिको शासन कायम, स्रोत, साधन र अवसरको उच्चतम् प्रयोग गरी तिनै तहका सरकारबीचको सहकार्य गरिने बजेटमा उल्लेख छ । विकासमा पछि परेका वर्ग र पक्षको उत्थान गरी राष्ट्रिय पूँजी निर्माणको गर्ने बजेटको प्राथमिकता छ । सरकारले सामाजिक सुरक्षा भत्ता अन्तरगत वृद्ध भत्ता मासिक २ हजार बढाएर तीन हजार पुर्याइएको छ । यसबाट करिब १३ लाख वृद्धवृद्धा लाभान्वित हुनेछन् । 

        त्यस्तै एकल महिलाको भत्ता पनि १ हजार बढाइएको छ । एक महिलालाई १ हजार रुपैयाँ भत्ता दिइँदै आएको थियो । जेष्ठ नागरिक मिलन सेवा केन्द्र बनाइने। गरिवी र जेष्ठ नागरिकको उपचारको लागि सरकारले सहयोग गर्ने बजेटमा उल्लेख छ । त्यसैगरी ७० वर्ष माथिका जेष्ठ नागरिकको औषधिउपचारको लागि १ लाख सम्म राहत दिइने छ । अपांगता भएका व्यक्तिलाई रोजगारीका कार्यक्रम पनि ल्याइने छ । 

        आर्थिक वर्ष २०७६–७७ को बजेटमा शिक्षाका लागि १ खर्ब ६३ अर्ब ७६ करोड रकम विनियोजन गरिएको छ । यस्तै विश्वविद्यालयका लागि १७ अर्ब ८४ करोड अनुदान दिइने छ । मदनभण्डारी विज्ञान विश्वविद्यालयका लागि १ अर्ब १० करोड विनियोजन गरेको छ । यस्तै रंगिन पाठ्यपुस्तक उपलब्ध गराउन २ अर्ब २१ करोड विनियोजन गरिएको छ । यस्तै दिवा खाजा उपलब्ध गराउन ५ अर्ब ९५ करोड विनियोजन गरिएको छ ।

         बालबालिकाहरुलाई आमामार्फत खाजा रकम उपलब्ध गराइने छ । यस्तै विद्यालयमा सेनटरी प्याड निःशुल्क उपलब्ध गराउन पनि बजेट विनियोजन गरिएको छ । नेपालको संविधान, कानून, सरकारको नीति तथा कार्यक्रम, बजेटका प्राथमिकता र सिद्धान्त, विभिन्न अध्ययन कार्यदलका सुझावका आधारमा सामाजिक न्यायसहितको तीव्र विकास, सभ्य र सुसंस्कृत समाजवादोन्मुख बजेट तयार गरिएको अर्थमन्त्री डा खतिवडाले बैठकलाई जानकारी दिएका थिए ।

         बजेटमा प्रदेशका लागि ५५ अर्ब ३० करोड र स्थानीय तहका लागि ८९ अर्ब ९५ करोड समानिकरण अनुदान विनियोजन गरेको बताएका छन् । यस्तै प्रदेशलाई ४४ अर्ब ५५ करोड र स्थानीय तहलाई १ खर्ब २३ अर्ब ८७ करोडको सशर्त अनुदान विनियोजन गरिएको बताएका छन् । राजस्वतर्फ प्रदेश र स्थानीय तहलाई गरेर १ खर्ब ३० अर्ब ८९ करोड बाँडफाटमा हुने अनुमान गरेका छन् ।

          सम्बन्धित समाचारहरु