काठमाण्डौ, संघीय संसदले शान्ति विश्वविद्यालय स्थापना सम्बन्धी अन्तराष्ट्रिय सम्झौतालाई अनुमोदन गरेको छ । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकले शान्ति विश्वविद्यालय स्थापना गर्ने सम्बन्धी अन्तराष्ट्रिय सम्झौताको सम्मिलन गर्ने सम्बन्धी प्रस्तावसर्वसम्मतिले पास गरेको हो ।
शान्ति विश्वविद्यालय स्थापना गर्ने सम्बन्धी अन्तराष्ट्रिय सम्झौता माथिको छलफलमा सहभागी हुदै सांसद खगराज अधिकारीले कोस्टारिकामा शान्ति विश्वविद्यालय स्थापना गर्ने प्रस्ताव प्र्रसंसनिय रहेकाले यसलाई अनुमोदन गरेर अघि बढ्नुपर्ने बताए ।
सासंद प्रेम सुवालले शान्ति विश्वविद्यालय बनाउने कुरा राम्रो भएपनि पाठ्यक्रम राम्रो बन्न सकेन भने अपेक्षाकृत उपलब्धि नहुने भन्दै पाठ्क्रम निर्माणमा उचित ध्यान दिनुपर्नेमा जोड दिए । सुवालले सामराज्यवाद र पूँजीवादको समाप्त नभएसम्म शान्ति सम्झौता अनुमोदन गर्देमा शान्ति नआउने तर्क गरेका छन् ।
सांसद पुष्पा भुसालले शान्ति विश्वविद्यालय स्थापना गर्ने सम्बन्धी अन्तराष्ट्रिय सम्झौता अनुमोदन गर्नु अगाडि विश्वविद्यालयको पाठ्क्रमलाई छलफलको विषय बनाईनुपर्ने धारणा राखेकी थिइन् । कुनै पनि नेपाली नागरिक अन्तराष्ट्रिय शान्ति विश्वविद्यालयमा पढेर आईसकेपछि शिक्षा मन्त्रालय वा नेपालको विश्वविद्यालयको राय के हुने भन्ने बारे पहिले नै स्पष्ट हुनु जरुरी रहेको भुसालको तर्क छ ।
सांसद नवराज सिलवाल नया पुस्तालाई द्धन्द्ध अन्त्य गर्दै शान्ति स्थापनामा लिनुपर्ने नेतृत्व र सक्रियता अघि बढाउने सन्र्दभमा कोस्टारिकाको शान्ति विश्वविद्यालयले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताए । उनले नेपालले लामो समय देखि अन्तराष्ट्रियस्तरमा शान्ति स्थापनामा संयुक्त राष्टसंघलाई सहयोग पुर्याउदै आएको परिवेशमा सम्झौता पास गर्दा अन्तराष्ट्रियस्तरमा नेपालको प्रतिष्ठा बढ्ने दावीसमेत गरे ।
सासद देव गुरुङ्गले महासन्धि पास गर्ने प्रस्ताव सकारात्मक भएपनि अंग्रेजी अनुवादमा कतिपय भाषाहरु अस्पष्ट भएकाले स्पष्ट पारेर अघि बढ्नुपर्ने सुझाव दिए ।
परराष्ट्रमन्त्रीको तर्फबाट गृहमन्त्री रामबहादुर थापाले शान्ति विश्वविद्यालय स्थापना गर्ने सम्बन्धी अन्तराष्ट्रिय सम्झौताको सम्मिलन गर्ने सम्बन्धी प्रस्ताव पेश गरेका थिए । सांसदहरुले प्रस्तावमाथि उठाएको प्रश्नको जवाफ दिदै मन्त्री थापाले अन्तराष्ट्रिय सम्झौताको नेपाली अनुवादमा देखिएका भाषागत भएका त्रुटीलाई सच्याईने र प्राप्त सुझावलाई समेटेर अघि बढ्ने बताए ।
संयुक्त राष्ट्रसंघको सहयोगमा जापान र कोस्टारिकामा शान्ति विश्वविद्यालय स्थापना भएको छ । अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अशोज १२ गते कोस्टारिका पुगि त्यहाँस्थित शान्ति विश्वविद्यालयमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रतिनिधिसभाको अर्को बैठक बुधबार अपरान्ह २ बजे बोलाईएको छ ।








