काठमाण्डौ,कोरिया स्थित नेपाली दुतवासले अध्ययनका लागी कोरिया आएका बिद्यार्थी चिन्ता र डिप्रेसनमा रहेको भन्दै समस्या समाधानका लागी परराष्ट्रलाई अनुरोध गरेको छ ।
बिद्यार्थीको बढ्दो कोरिया आगमन सँगै बिभिन्न खालका समस्या आएको भन्दै राजदुत अर्जुन जंग बहादुर सिंहले गत असार २७ गते समस्या समाधान तथा आवस्यक कारवाही गर्न परराष्ट मन्त्रालयलाई औपचारिक रुपमा पत्राचार गरेका हुन् ।
अधिकाँश नेपाली विद्यार्थी पहिलो सेमेष्टर शुल्क बुझाएर काम गर्दै पढ्ने आशा सहित आएका तर पर्याप्त मात्रामा छोटा अवधिका काम उपलब्ध नहुँदा उनीहरुमा चिन्ता र डिप्रेसन बढेको दूतावासको पत्रमा उल्लेख छ ।
उक्त पत्र पछि परारष्ट्रले गत साउन १० गते समस्या समाधान तर्फ आवश्यक पहल गर्न शिक्षा मन्त्रालयका सचिवलाई पत्राचार गरेको छ ।
शिक्षा मन्त्रालयका सचिव खगराज बराल यस विषयमा अभिभावक नै चनाखो हुनुको विकल्प नभएको बताउँछन् । विदेश गएपछि सजिलै पैसा कमाईन्छ भन्ने मान्यता समाजमा ब्याप्त हुँदा यस्ता समस्या बढेको उनको तर्क छ ।
पछिल्लो समय कोरियाका विभिन्न विश्वविद्यालयमा नेपाली विद्यार्थी जाने क्रम बढ्दो छ । विगत १ बर्षमा मात्रै ६ सय को हाराहारीमा नेपाली विद्यार्थी कोरिया पुगेका सियोलस्थित नेपाली दूतावासले जनाएको छ ।








