नेपालमा शिक्षा अव्यवस्थित रहेकोले यसमा व्यापक सुधार गर्नु पर्ने शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले बताए । शुक्रवारमात्र शिक्षा मन्त्रीको पदभार ग्रहण गरेका पोखरेलले नेपालमा अधिकांश सामुदायिक विद्यालयको भौतिक पुर्वाधार र शिक्षा स्तर खस्कँदै गएकोले यसमा व्यापक सुधारको आवश्यकता रहेको र आफु यस प्रति गम्भिर रहेको उनले बताए ।
यता एसइई परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन आईतबार बैठक डाकेको र सो बैठकमै विशेष निर्देशन दिने समेत उनले नयाँपत्रिकालाई बताए । गत वर्षहरुमा चिटचोरी कै कारण सयौँ विद्यार्थीहरु र शिक्षकहरु समेत परीक्षाबाट निस्काशित भएकोले नयाँसत्र देखि विद्यालयहरुको अनुगमन बढाउने तथा र अभियानहरु चलाउने उनले बताए ।
आफुलाई महोत्तरीका जनताले जिताएर सरकारमा प्रतिनिधित्व गर्न पठाएको तर महोत्तरीकै शिक्षा स्थिति दयनिय भएकोले महोत्तरीको शिक्षा स्तर सुधार्न समेत आफ्नै जिम्मेवारी भएकोले विशेष प्राथमिकतामा राख्दै महोत्तरी लगायत सम्पुर्ण नेपालको शिक्षालाई नयाँ आयाम दिने उनले बताए । चाडै शिक्षा ऐन,नीति र कानुन बनाई शिक्षाको स्तर सुधार्न आफु प्रतिबद्ध रहेको मन्त्री पोखरेलले बताए ।
विद्यालय नजाने विद्यार्थीलाई समेत शिक्षाको पहुँचमा ल्याउन र शिक्षित देश बनाउन विभिन्न प्याकेज तथा अभियानहरु ल्याउने समेत उनले बताए ।
यता स्थानिय तहलाई शिक्षाको पनि थप जिम्मेवारी दिईएकोले स्थानिय तह तथा अन्य सरोकारवालाहरुसंग छलफल गरि नेपालको शिक्षालाई नमुना शिक्षा बनाईने उनको भनाई थियो ।