काठमाडौं, बिहीवारबाट सुरु हुने ’एसईई’मा विगत वर्षहरूजस्तै यस वर्ष पनि जापानबाट २९ जना विद्यार्थीहरू सहभागी हुन लागेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
यो वर्षको एसईईमा सहभागी हुन लागेका पाँच लाख १४ हजारभन्दा बढी विद्यार्थीमध्ये अधिकांशले नेपालबाटै परीक्षा दिँदै छन् भने नेपाल बाहिर जापान एसईईको परीक्षामा सहभागी हुदैछ । जापानको ओगिकुबोमा गैरआवासीय नेपाली सङ्घका पूर्वअध्यक्ष भवन भट्टसहितका ६५ जना नेपालीहरू मिलेर स्थापना गरेको एभरेस्ट इन्टन्र्याश्नल विद्यालयबाट हालसम्म एसईई दिएका ८५ जना सबै विद्यार्थीले पहिलो प्रयासमै उत्तीर्ण गरेका छन् ।
यो विद्यालयमा नेपालबाहेक जापान, अमेरिका, पाकिस्तान, बाङ्ग्लादेश तथा न्यूजील्यान्डका विद्यार्थीहरूले अध्ययन गरिरहेका छन् । नेपालमा बिहान ८ बजेबाट सञ्चालन हुने परीक्षा जापानमा भने स्थानीय समयअनुसार ११ बजेबाट सञ्चालन हुन्छ । हरेक दिनको परीक्षा सकिएपछि सिलबन्दी गरेर उत्तरपुस्तिका दूतावासमा जम्मा गरिने बिबिसीले जनाएको छ । यस्तै यो वर्ष विभिन्न बाल सुधारगृह र कारागारबाट ४८ जनाले एसईई परीक्षा दिन लागेको परीक्षा बोर्डले जनाएको छ ।
परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार भक्तपुरको सानो ठिमीमा रहेको बाल सुधार गृहबाट २७ जना, सुन्धारास्थित केन्द्रीय कारागारबाट १९ जना, दैलेखको बाल सुधारगृहबाट छ जना तथा धुलिखेल र दाङबाट एकएक जना गरी ४८ जनाले थुनाबाट परीक्षा दिँदै छन् । यस पटक मनाङमा जम्मा ४६ जनाले मात्रै एसईई परीक्षा दिँदै भने सबैभन्दा बढी काठमाण्डूबाट झन्डै ३९,००० परीक्षार्थी एसईईमा सहभागी हुँदै छन् ।
यस्तै लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका ३० जना विद्यार्थीहरू, एचआईभी सङ्क्रमित परिवारका चार जना बालबालिका पनि यो पटकको एसईईमा सहभागी हुँदै छन् । यस्तै करिब ७५ हजारले यो पटक पुनः एसईई दिन आवेदन दिएको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिएका छन् । एसईई परीक्षाका लागि देशैभरि २०८० परीक्षा केन्द्र तोकिएको परीक्षा बोर्डले जनाएको छ । आगामी असारसम्म एसईई परीक्षाको नतिजा सार्वजनिक गरिसक्ने परीक्षा बोर्डले कार्यतालिका तयार गरेको छ ।