काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थीले घरमा गरेको कामको मूल्याङ्न गरेर नम्बर दिने निर्णय गरेको छ ।
शिक्षा मन्त्री विद्या भट्टराईका अनुसार मूल्याङनको विधि बनाउने जिम्मा पाठ्यक्रम विकास केन्द्रलाई दिइएको छ । मूल्याङ्नको विधि पाठ्यक्रम विकास केन्द्रले बनाउने छ । विज्ञसँग छलफल गरेर १५ दिनभित्र विधिको प्रस्ताव ल्याउन तयारी रहेको मन्त्री भट्टराईले बताइन् ।
परीक्षामा कति लेखेको छ भन्ने आधारमा मात्र मूल्याङ्न गर्न नहुने भन्दै मन्त्रालयले घरमा गरेको कामलाई पनि मूल्याङ्नमा जोड्न लागेको हो ।
पछि समस्या नआउनेगरी कुन विधिबाट जाने भनेर विज्ञको राय सुझावको आधारमा बनाउने उनले बताइन् ।
पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक इमनारायण श्रेष्ठले मूल्याङनको विधि छिट्टै बनाउने बताए । शैक्षिकसत्र २०८२ देखि लागू गर्ने गरी काम गरिरहेको उनले बताए । मन्त्रालयले श्रम र सिपलाई सम्मान गर्न राम्रा कुरालाई पाठ्यक्रममा समावेश गर्न लागेको हो ।
विद्यार्थीले खेतबारी जोते, घाँस काटे, भात–तरकारी पकाए, भाइ–बहिनी हेरे, बजारमा किनमेल गरे, लुगा सिलाए वा आरनमा काम गरे पनि नम्बर पाउनेछन् ।
कक्षा ४ देखि ८ सम्म ५० नम्बरको आन्तरिक र ५० नम्बरको बाह्य परीक्षा हुन्छ । कक्षा ९ देखि १२ सम्म २५ को आन्तरिक र ७५ को बाह्य परीक्षा हुन्छ । आन्तरिक मूल्याङ्कनमा केही अंक छुट्टाएर घरको कामलाई नम्बर दिन लागिएको हो ।