भाद्र २३,२०८१ / ०८ : २९ पूर्वान्ह / 2024-09-08 08:29 am
      • param ad
      • furniture
      • veera Incorporation

      त्रिविले धमाधम नतिजा प्रकाशन गर्दै

      - ३ हप्ता अगाडि
      श्रावण २५,२०८१

      त्रिभुवन विश्वविद्यालय (त्रिवि) परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले धमाधम नतिजा प्रकाशन गर्न थालेको छ । कोरोना महामारीपछि रोकीएको परीक्षाका नतिजाहरू लामो समयदेखि प्रकाशन हुन सकेको थिएन, जसले गर्दा पनिकामा चाप बढेको थियो ।

      पुराना नतिजा प्रकाशित गर्नुपर्ने र नयाँ परीक्षा सञ्चालन गरी नतिजा प्रकाशन गर्ने चुनौतीसँग जुध्दै, अब पनिकाले धमाधम नतिजा सार्वजनिक गर्न थालेको छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार, गत जेठदेखि हालसम्म २५ विषयका परीक्षाका नतिजा सार्वजनिक गरिसकिएका छन्, जसमा तीन लाख ९२ हजार विद्यार्थीको नतिजा समावेश छ ।

      करीब तीन महिनामा पनिकाले २५ विषयका तीन लाख ९२ हजार विद्यार्थीको नतिजा सार्वजनिक गर्न सफल भएको छ । अब मात्र तीन पुराना विषयको नतिजा प्रकाशित गर्न बाँकी रहेको जोशीले जानकारी दिएका छन् । तीमध्ये दुई विषयको नतिजा यसै महिनाभित्र र एक विषयको नतिजा भदौमा सार्वजनिक हुनेछन् ।

      साउन २ गतेदेखि ९ गतेसम्म भएको स्नातकोत्तर तह प्रथम वर्षको ६ वटा विषयको नतिजा सार्वजनिक भइसकेको छ । ६ वटा विषयको नतिजा साउन १३ गतेभित्र नै सार्वजिनक भएको हो । त्यस्तै पोलिटिकल साइन्सको नतिजासमेत ११ दिनमै सार्वजनिक भएको थियो । एम.बी.एस प्रथम वर्षको नतिजा परीक्षा सकिएको १० दिनमै सार्वजनिक भएको छ । 

      त्यस्तै एम.ए प्रथम वर्ष (पार्सियल) को नतिजा समेत परीक्षा सकिएको ४ दिनमै सार्वजनिक भएको छ । जबकि यसअघि अघिल्ला वर्षहरूमा उक्त नतिजा सार्वजनिक गर्न कम्तीमा ६ महिना लाग्ने गरेको थियो । बढी विद्यार्थीले परीक्षा दिएका विषयहरूमा भने कोरोना महामारीपछि २ वर्षसम्ममा समेत नतिजा सार्वजनिक हुन सकेको थिएन ।

      कसरी सम्भव भयो?

      कोभिड–१९ का कारण रोकिएका परीक्षाका नतिजा सार्वजनिक गर्न पनिकाले गत असारसम्म योजना बनाएको थियो । नतिजा छिटो प्रकाशन गर्न कर्मचारीलाई केही अतिरिक्त सुविधाहरू प्रदान गरिएको थियो, जसले गर्दा दुई वर्षसम्म रोकिएका परीक्षाका नतिजा एकै वर्षमा प्रकाशित गर्न सकिएको हो ।

      त्रिविले २०८० को साउनदेखि पनिकाका कर्मचारीहरूको सुविधा कटौती गर्दै कार्यालय समय १० देखि ५ बजेसम्म सीमित गरेको थियो, जसले गर्दा कामको चाप बढेको र नतिजा प्रकाशनमा ढिलाइ भएको थियो ।

      जोशीका अनुसार, हालका कर्मचारीहरू बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म काम गरिरहेका छन् र यस बीचमा २५ वटा नतिजा प्रकाशित गरिसकेको छ । पनिकाले जेठमा भएको परीक्षाको नतिजा भदौमा सार्वजनिक गर्ने योजना बनाएको छ, तर भदौबाट कर्मचारीलाई दिइने अतिरिक्त सुविधाहरूको निरन्तरता निर्णय गर्नुपर्नेछ ।

      पनीकामा ११९ कर्मचारी कार्यरत छन्, जसमा ५२ जना दैनिक १२ घण्टा काम गरिरहेका छन् । परीक्षा र उत्तर पुस्तिका परीक्षणको काम क्षेत्रीय कार्यालयबाट भइरहेको छ ।

      परीक्षासमेत समयमै 

      पछिल्ला वर्षहरूमा त्रिविलाई समयमै परीक्षा सञ्चालन नगरेको आरोप लागेको थियो । तर, अहिले त्रिविले परीक्षा समयमै गर्न थालेको छ । पनिकाले त्रिविले जारी गरेको वार्षिक कार्यतालिका अनुसार परीक्षा सञ्चालन गर्न थालेको हो । शिक्षाध्यक्षको कार्यालयले विद्यार्थी भर्ना, परीक्षा र नतिजा प्रकाशनको समय स्पष्ट जानकारी गराउने गरेको छ, जसले गर्दा पनिकालाई परीक्षा सञ्चालन र नतिजा प्रकाशनमा सहजता मिलेको छ ।

      त्रिविका रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालले नतिजा प्रकाशनमा ढिलाइको कारणहरू अध्ययन गर्ने आश्वासन दिएका छन् । कर्मचारीको अभावले गर्दा नतिजा प्रकाशनमा ढिलाइ भएको भन्ने रिपोर्ट पनिकाले गरेको छ, र त्रिविले उपलब्ध जनशक्तिलाई नै परिचालन गरेर नतिजा प्रकाशन गर्ने भन्दै थप सुविधाको व्यवस्था गरेको हो ।  

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d