काठमाण्डौ : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक भएको नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन् भने ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड (एनजी÷अनुत्तीर्ण ) भएका छन् ।
वैशाख १४ गतेदेखि सुरु भएको कक्षा १२ को परीक्षामा नियमिततर्फ १,९६,९१४ छात्रा र १,९३,९३३ जना छात्र सहभागी भएका थिए, जसको कुल संख्या ३,९०,८४७ परीक्षार्थी हुन्छ ।
कुल ५,५४२ विद्यालयका विद्यार्थीले कक्षा १२ को परीक्षामा सहभागिता जनाएका छन्, र परिणामले २०७८ को लेटर ग्रेडिङ निर्देशिका अनुसार प्रकाशन हुनेछ ।
यस्तो छ हेर्ने तरीका
कक्षा १२ को परीक्षाफल बोर्डको आफ्नै वेबसाइट र नेपाल टेलिकमको विभिन्न प्लेटफर्मबाट थाहा पाउन सकिने व्यवस्था गरेको छ । बोर्डका अनुसार नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट www.neb.gov.np र नेपाल टेलिकमको वेबसाइट www.neb.ntc.net.np मा गएर पनि हेर्न सकिन्छ । त्यसैगरी एसएमएसबाट पनि नतिजा हेर्न सकिने छ । त्यसका लागि neb लेखेर एक स्पेस दिई आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० नं मा र नेपाल टेलिकमको १६०१ मा एसएमएस पठाएर पनि हेर्न सकिने छ ।