विराटनगर, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरस्थित विभिन्न सामुदायिक विद्यालयहरुको अनुगमन गरेका छन् ।
मेयर कोइरालाले विराटनगर–८ स्थित महेन्द्र मावि र विराटनगर–९ स्थित सरस्वती माविको अनुगमन गरेका छन् । शैक्षिक महाशाखाका संयोजक कृष्ण भट्टराईसहितको टिमलाई लिएर विद्यालय पुगेका मेयर कोइरालाले विद्यार्थीहरुसँग अन्तरक्रियासमेत गरेका थिए ।
उनले विद्यालयको भौतिक संरचनाको अवस्था, शैक्षिक गुणस्तर, विद्यार्थीको नियमितता, शिक्षकहरुको लगनशीलता, गृहकार्यको अवस्थालगायतका विषयमा जानकारी लिएका थिए । विद्यालयस्तरदेखि नै शैक्षिक गुणस्तर सुधार गर्न सकिएमात्रै गुणस्तरीय जनशक्ति उत्पादन हुने उनले बताए ।
मेयर कोइरालाले सामुदायिक विद्यालयको गुणस्तर वृद्धिका लागि महानगरले योजनाबद्ध रुपमा काम गरिरहेको जानकारी दिए । अन्तरक्रियापछि मेयर कोइरालाले शिक्षकहरुसित विद्यार्थीहरुले उठाएका विषयमा छलफल गरेका थिए । विराटनगरका सबै सामुदायिक विद्यालयमा पंखा जडान गर्ने महानगरले नीति लिएको छ ।